ad ad

राजनीति


गाँजा खेतीका लागि एक महिनाभित्र नियमावली बन्छ : रवि लामिछाने

गाँजा खेतीका लागि एक महिनाभित्र नियमावली बन्छ : रवि लामिछाने

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १८:२, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिबद्धता जनाएका छन्। 

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषय सम्बन्धी छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिवद्धता जनाएका हुन्। 

सरकारले गृहमन्त्रालयमा गाँजा खेती अध्ययन गर्न बनेको समितिले एक महिनाभित्रै प्रतिवेदन दिने बताउँदै गृहमन्त्री लामिछानेले गाँजा खेती वैधानिक बनाउने विषयमा द्विविधा राख्नु नपर्ने उल्लेख गरे। 

गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्नेगरी एक महिनाभित्र नियमावली बनाउने समितिलाई उनले जानकारी दिए।

‘लागुऔषध नियन्त्रण ऐन,२०३३ को दफा (४) १ मा नेपाल राज्यको पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफै उर्मने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन गर्न र खरिद बिक्री गर्न सरकारले नियमन बनाई व्यवस्था गर्नसक्ने छ,’ उनले भने, ‘गाँजाको औषधीजन्य विषयमा अध्ययन गर्नको लागि गृहमन्त्रालयले नियम र नियमावली बनाएर अगाडि बढ्न कुनै बाधा गर्नेछैन। अध्ययन गर्ने उदेश्यले नियमावली बनाएर गृहमन्त्रालय अघि बढ्छ। गाँजा खेतीका विषयमा कानून बन्दै गर्दा अध्ययन र अनुसन्धान रोकिनु हुन्न।’
गाँजा खेती अध्ययनका विषयमा पदभार ग्रहण गरेदेखि नै चासो दिएर काम गरिरहेको बताउँदै गृहमन्त्री लामिछानेले गाँजा खेतीका लागि कानून बनाउने नेतृत्व गृह मन्त्रालयले नै गर्ने बताए। 

लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा (४) १ मा नेपाल राज्यको पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफैँ उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मका लागि चरेस उत्पादन गर्न र खरिद बिक्री गर्न सरकारले नियमन बनाई व्यवस्था गर्नसक्ने र सो अनुसार अनुमति पत्र प्राप्त गरी काम गर्दा अपराध गरेको नमानिने उल्लेख गरेको पनि बताए।

‘समितिको बैठक दुई हप्तापछि भएको भए अझ गृह मन्त्रालयले गाँजा खोल्ने विषयमा बनाएको प्रतिवेदन हातमा दिने थियौँ। म गृहमन्त्री भएर पदभार ग्रहण गरेपछि चासोका साथ काम गरिरहेको थिए। त्यसको अन्तिम चरणमा आइपुगेका छौँ। समितिलाई यति भन्नसक्छु छलफलपछि पनि छलफल गर्न त्यति मन पराउँदिन,’ उनले भने, ‘मेरो अलि छिटो गरौँ भन्ने खालको स्वभाव भएको हुनाले त्यसको कारणले फस्छु पनि त्यसैको कारण उठ्छु पनि। गाँजाको विषयमा पर्याप्त छलफल र अध्ययन अनुसन्धान भएको परिप्रेक्ष्यमा हामीले गाँजा खेती खोल्नको लागि दुविधा राख्नुपर्ने अवस्था देखेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .