ad ad

म्यागेजिन


बिनाचिरफार स्ट्रोकको उपचार पद्धति भित्र्याउने डाक्टर

बिनाचिरफार स्ट्रोकको उपचार पद्धति भित्र्याउने डाक्टर

डा. सुवास फुयाँल नेपालको पहिलो न्युरो इन्टरभेन्सनल रेडियोलोजिस्ट हुन्। तस्बिर : सरोज नेपाल


राधिका अधिकारी
असार २९, २०८१ शनिबार ७:४७, काठमाडौँ

हाम्रा डाक्टर–२

आफ्नै चाहेको गर्न पाएको भए सुवास फुयाँल न्युरो इन्टरभेन्सनका अब्बल डाक्टर बन्ने थिएनन्। एसएलसी पास गरेपछि साथीहरूको साथ लागेर परदेश जान चाहन्थे उनी। विदेश जाने लहर भर्खर सुरु भएको थियो। उनका थुप्रै साथी विश्वका विभिन्न मुलुक पुगेका थिए। तर, बुवाले उनलाई विदेश जान दिएनन्। 

बुवा तोयानथ फुयाँल आफ्ना ३ सन्तानमध्ये एकजना डाक्टर भएको हेर्न चाहान्थे। जेठो सन्तान भएकाले पनि बुवाको सपनाको भारी सुवासको भागमा पर्‍यो। जसका कारण आज उनी पराई भूमिमा होइन, न्युरो अस्पतालको क्याथ ल्याबमा भेटिन्छन्।

डा. सुवासको जन्म विराटनगरमा भएको हो। सरकारी जागिरे बुवाको सरुवा भइरहन्थ्यो। बुवा सरुवा भएर जता जान्थे, सुवास उतै पुग्थे। उनको स्कुल, साथी र रहर परिवर्तन भइरहन्थे। उनको बाल्यकाल कहिले काठमाडौँ, कहिले काँकडभिट्टामा बित्यो। सन् २००१ मा झापाको सुरुङ्गास्थित पशुपति माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका सुवासले बुवाकै सल्लाहअनुसार काठमाडौँ आएर आईएस्सी अध्ययन गरे।  

उनले काठमाडौँ मेडिकल कलेजमा एमबीबीएस अध्ययनका इन्ट्रान्स परीक्षा दिए। नाम निस्कँदा सुवासभन्दा ज्यादा खुसी बुवा थिए। एमबीबीएस अध्ययनको अन्तिमतिर बल्ल सुवासले मनैदेखि स्वीकारे, मेरो क्षेत्र चिकित्सा नै हो। 

एमबीबीएस अध्ययन सकेर इन्टर्नसिप सुरु गर्दा उनको पोस्टिङ रेडियोलोजी विभागमा भयो। जहाँ सिटी स्क्यान, एमआरआई र अल्ट्रासाउन्ड गरेर बिरामीको रोग पत्ता लगाउने काम हुन्छ। 

यहाँ उनले १५ दिन काम गरे। यो १५ दिनमा उनले थाहा पाए– नेपालमा रोग विशेषको उपचार गर्ने डाक्टर प्रशस्तै रहेछन्। तर, रोग पत्ता लगाउने डाक्टर र सिस्टमको अभाव रहेछ। त्यसपछि उनले निधो गरे– ‘म अब रेडियोलोजीमा जान्छु। रोग पत्ता लगाउने डाक्टर बन्छु।’

तर, रेडियोलोजी अध्ययन त्यसबेला नेपालको टिचिङ अस्पतालमा मात्रै अध्ययन हुन्थ्यो। भारतमा भने अल इन्डिया मेडिकल साइन्स र पीजीआई चण्डीगढमा अध्ययन हुन्थ्यो। उनले यी तिनै ठाउँमा प्रवेश परीक्षा दिए। सबै ठाउँमा नाम निस्कियो। अध्ययनका लागि पीजीआई चण्डीगढ छाने।

अनि बाटो मोडियो
उनी अध्ययनको अन्तिम वर्षमा थिए। राति ५० वर्षकी एक महिला इमर्जेन्सीमा भर्ना भइन्। उनको शरीरको बाँया भाग चल्दैनथ्यो। मुख बाङ्गो भएको थियो। बोली रोकिएको थियो। यो स्ट्रोकको संकेत थियो। उनले एमआरआई गरेर हेरे, उनको दिमागको मोटो नसा बन्द थियो। डा. सुवासले सिनियर डाक्टरलाई टाउकोको अप्रेसनका लागि बोलाए। तर, सिनियर डाक्टरले ती महिलाको क्याथेटर प्रविधिबाट उपचार गरे। खुट्टाको नसाबाट तार छिराएर दिमागको बन्द भएको नसा खोलिदिए। डा. सुवासलाई यो प्रविधिका बारेमा थाहा थिएन। उनलाई अनौठो लागिरहेको थियो। उपचार भएको १५ मिनेटपछि बिरामीका हात खुट्टा चले, मन्द बोली आयो। 

यो उपचार विधिका बारेमा सुवासले आफ्ना सिनियर डाक्टरसँग सोध्न सकेनन्। महिलाको उपचारपछि उनी होस्टल फर्किए। तर, त्यो रात उनी निदाउन सकेनन्। यो उपचार विधिका बारेमा गहिरो अध्ययन गरे। यो प्रविधि भारतमा भर्खर सुरु भएको थियो। 

‘यो प्रविधि नेपालमा पनि सुरु गर्न पाए कति मस्तिष्कका बिरामीले सहज उपचार पाउँथे भन्ने कुराले मेरो दिमागमा हान्यो,’ सुवास सम्झिन्छन्।

चिकित्सा विज्ञानमा नयाँनयाँ प्रविधि विकास भइरहेको थियो। नयाँनयाँ तथ्य र उपचार विधि सार्वजनिक भइरहेका थिए। सन् २०१५ तिर मस्तिष्काघात (स्ट्रोक)को उपचारसम्बन्धी अन्तर्राष्ट्रिय गाइडलाइन बन्यो। अमेरिकन स्ट्रोक एसोसियसन र हार्ट एसोसियसनले दिमागको नसा बन्द भएको अवस्थामा पनि तार छिराएर नसा खोल्ने उपचारसम्बन्धी गाइडलाइन बनाए। त्यो बेला सुवास पीजीआई चन्डीगढमा काम गर्दै थिए, एमडीको अन्तिम वर्षमा थिए। उनलाई टाउको नखोली मस्तिष्कको उपचार गर्ने इन्टरभेन्सन प्रविधिले आकर्षित गर्‍यो। 

रेडियोलोजीमा एमडी गरेर सुवास नेपाल फर्किए। सन् २०१५ मा ग्रान्डी इन्टरनेसनल अस्पताल कठमाडौँको रेडियोलोजी विभागमा काम सुरु गरे। ग्रान्डी अस्पतालमा नेपालका अन्य अस्पतालको तुलनामा राम्रा उपकरणहरू थिए। अस्पतालमा काम सुरु गरेपछि सुवासलाई थाहा भयो, त्यहाँ तारबाट मस्तिष्कको उपचार गर्ने उपकरण पनि रहेछ। तर, त्यो उपकरण प्रयोग गर्ने जनशक्ति अथवा विशेषज्ञ थिएनन्। उपकरण अस्पतालमा थन्किएर बसेको थियो। 

उपकरण छ, बिरामी उपचारका लागि आउँछन् तर विशेषज्ञ डाक्टर छैनन्। यो कुराले सुवासलाई नमज्जासँग सतायो। उनले जागिरमा ध्यान दिएनन्। फेरि अध्ययनको तयारी गरे। सार्क कोटाबाट नाम निकालेर पुनः २०१६ मा न्युरो इन्टरभेन्सन अध्ययनका लागि अल इन्डिया मेडिकल साइन्सेस (एम्स) कलेज नयाँ दिल्ली गए।

उनले ३ वर्ष त्यहाँ अध्ययन गरे। उनलाई अध्ययन सकेर नेपाल फर्किंदा इन्टरभेन्सन प्रविधि (स्ट्रोक भएको बिरामीको टाउको नखोली गरिने उपचार) गर्ने प्रविधिसँग पोख्त हुनु थियो। 

‘जसका लागि मैले रातभरि नसुती प्राक्टिस गरेको छु,’ सुवास सुनाउँछन्। 

यो अवधिमा उनले यो प्रविधिका बारेमा राम्रो ज्ञान हासिल गरे। 

सन् २०१९ मा उनले डिएम न्युरो इन्टरभेन्सनको अध्ययन सके। ५ वर्ष अघिसम्म भारतमा पनि न्युरो इन्टरभेन्सन डाक्टरको संख्या धेरै थिएन। उनलाई भारतमै बसेर काम गर्ने अफर गरिएको थियो। उनले बस्न मानेनन्। त्यसपछि उनलाई भारतबाटै क्यानडा जाने अफर आयो। यो अफर पनि उनले अस्वीकार गरिदिए। 

स्कुल पढ्दा देश छोड्ने सपना देख्दै हुर्किएका डा. सुवासलाई अध्ययन सकेसँगै देश टेक्ने सपना ठूलो भइदियो। सुरक्षित भविष्यका सबै अफर छोडेर उनी देश फर्किए।

‘त्यो बेला भारतका धेरै अस्पतालमा काम गर्ने अवसर मिलेको थियो। त्यहीँबाट अन्य मुलुकका लागि पनि अफर आएको थियो,’ डा. सुवास भन्छन्, ‘तर आफ्नै देशमा सेवा गर्ने उद्देश्यले पुनः नेपाल फर्किएँ। सुरुमा काम गर्न कठिन भयो।’

सुरुमा बिरामी पाउन मुस्किल
सुवास सन् २०१९ फेब्रुअरी महिनामा पुनः ग्रान्डी अस्पताल हाजिर भए। उनले सिंगल क्याथ ल्याबबाट न्युरो इन्टरभेन्सन सेवा सुरु गरे। नेपालमा यो प्रविधिबाट मस्तिष्काघातका बिरामीलाई बचाउन सकिन्छ भन्ने राम्रो ज्ञान नै थिएन। बिरामीहरू विश्वास गर्दैनथे। अन्य अस्पतालले बिरामी रिफर गर्दैनथे। सुरुवाती दिनमा उनी विभिन्न अस्पतालका डाक्टरलाई स्ट्रोकले नसा बन्द भएको अवस्थामा न्युरो इन्टरभेन्सन पद्धतिबाट नसा खोल्न मिल्छ, यो पद्धतिबाट म उपचार गर्न सक्छु भन्दै हिँडे। 

अप्रिल महिनाको अन्त्यतिर नर्भिक अस्पतालका डाक्टर पंकज जलानले एकजना बिरामी उनकोमा पठाइदिए। 

‘बिरामीको नसा पूरै बन्द थियो, प्यारालाइसिस भएर एउटा हातखुट्टा नचल्ने भइसकेको थियो,’ डा. सुवास अहिले पनि सम्झन्छन्, ‘हामीले तुरुन्तै क्याथ ल्याबमा लगेर नसा खोल्यौँ। दुईतीन दिनमा बिरामी हिँड्न र बोल्न सक्ने भए।’

नेपालका लागि यो नै उनको पहिलो केस थियो। पहिलो केस नै सफल भयो। निको भएपछि उनले बिरामीलाई डा. जलान भएकै ठाउँमा पठाइदिए। त्यसपछि बिस्तारै बिरामीको संख्या बढ्न थाल्यो। न्युरो इन्टरभेन्सनबारे आम मानिसले थाहा पाउँदै गए। उनले १ वर्षको अवधिमै २ सयभन्दा धेरै स्ट्रोकका बिरामीको सफल उपचार गरे। 

सुवास भन्छन्, ‘केही समयपछि सुत्ने समय पनि पाइएन।’ 

यसैबीच उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालले न्युरो इन्टरभेन्सन सम्बन्धी गोल्ड स्ट्यान्डर्ड बाइप्लेन क्याथल्याब भित्र्यायो। यो नेपालकै लागि नयाँ सुरुवात थियो। उनी ग्रान्डी अस्पतालबाट उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल सरे। 

‘सीप भएको मानिसलाई नयाँ प्रविधि सुनमा सुगन्ध झैँ हुने रहेछ,’ सुवास भन्छन्, ‘बाइप्लेन मेसिन आएपछि बिरामीको रिजल्ट झनै राम्रो भयो। समयको पनि बचत हुने।’

सम्झेर भेट्न आइरहने बिरामी
एकजना युवाको दाया आँखाको नानी तल झरेको थियो। उनले नेपालका थुप्रै अस्पतालमा चेकअप गराए। सबैले टाउको खोलेर नसा मार्फत आँखाको नानीलाई ठिक ठाउँमा राख्नु पर्ने बताएका थिए। उनी अप्रेसनको तयारीमा थिए। भोलिपल्ट अप्रेसन गर्ने तयारीका साथ उनले कपाल समेत खौरी सकेका थिए। तर, उनलाई टाउको नखोल्न पाए हुन्थ्यो भन्ने थियो। 

त्यही बेला उनले डा. सुवासको नाम र उपचार विधिका बारेमा थाहा पाए। ती युवकका बुवा बिरामी छोरो लिएर न्युरो अस्पताल पुगे। उनका बुवाले भने, ‘डाक्टर साब तपाईंले गर्ने उपचार पद्धतिका बारेमा मैले सुनेको छु। मेरो छोराको उपचार गराइदिनुहोस्। मलाई उसको टाउको खोल्नु छैन।’ 

बिरामी युवक भने आफ्नो रोग, अस्पताल चहार्दाको सास्ती र उपचार विधिको हैरानीका कारण मानसिक रूपमै विक्षिप्त भइसकेका थिए। डा. सुवासले सम्झाए। उनको क्याथल्याबमा उपचार भयो। ३ दिनमा डिस्चार्ज भएर घर गए। त्यसको १५ दिनमा उनको आँखाको नानी ठिक ठाउँमा फर्कियो। उनी मिठाई बोकेर अस्पताल पुगे। अस्पतालका सबै कर्मचारीलाई बाँडे। डा. सुवासलाई भेटेर धन्यवाद दिए। उनी अहिले पनि डा. सुवासलाई भेट्न आइरहन्छन्। 

उनले नेपालमा यो प्रविधिबाट उपचार गर्न थालेको चार वर्ष भयो। यो चार वर्षमा थुप्रैको उपचार गरे। केही केसमा बिरामी बचाउन सकेनन्। 

‘असफल केसहरू पनि छन्। डाक्टर पनि भगवान होइनन्। अन्तिम समयमा आइपुगेका बिरामीलाई बचाउन सकिँदैन,’ सुवास भन्छन्, ‘केही केस असफल भए भन्दैमा हरेस खान मिल्दैन। सफल केसलाई हरेर उर्जा लिनु पर्छ।’

सरकारी अस्पतालमा सहज सेवा सुरु गर्ने सपना
न्युरो इन्टरभेन्सन उपचार विधिका बारेमा आज पनि नेपालमा हुनु पर्ने जति जानकारी नभएको डा. सुवास बताउँछन्। थाहा पाएका सबैलाई सहज उपचार पाउन गाह्रो छ। 

‘यसको उपचार खर्च अलि महंगो छ,’ डा. सुवास भन्छन्, ‘यसमा जरुरी उपकरण एकदमै महंगो हुने भएकाले पनि उपचार खर्च बढेको हो। यद्यपि, सरकारी तवरबाट यस्तो मेसिन ल्याउन सके र सरकारी अस्पतालमा पनि यो सुविधा दिन सके धेरै सर्वसाधारणले विनाचिरफार मस्तिष्कघातको उपचार पाउने थिए।’

आर्थिक पहुँच र थ्रोम्बोक्टोमी उपचार पद्धतिका बारेमा जानकारी नै नभएका कारण मस्तिष्कका ३० प्रतिशत बिरामी मात्रै आफूकहाँ आइपुग्ने सुवास सुनाउँछन्। सन् २०१९ मा डा. सुवासले थ्रोम्बोक्टोमी उपचार सेवा सुरु गर्दा उनी एक्ला डाक्टर थिए। अहिले नेपालमै ६–७ जना डाक्टर हुनुका साथै देशका अन्य अस्पतालमा पनि यो प्रविधि बिस्तार भइरहेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा एकजनामा स्ट्रोक (मस्तिष्काघात) हुने गरेको छ। त्यस्तै प्रत्येक ४ व्यक्तिमा एक जना कुनै न कुनै समयमा स्ट्रोकबाट पीडित हुने देखिएको छ।

विश्वमा हृदय रोगपछि मृत्युको दोस्रो कारण हो, मस्तिष्काघात। दीर्घकालीन रूपमा अशक्त बनाउने पहिलो कारण मस्तिष्काघातलाई मानिन्छ। रोगका बारेमा मात्रै बुझ्दा डर लाग्ने भए पनि बेलैमा सचेत रहेको खण्डमा उपचार सम्भव रहेको डा. सुवास बताउँछन्। 

‘यदि लक्षण देखिनसाथ उपचार गर्ने हो भने मस्तिष्काघातबाट बच्न सकिन्छ,’ डा. सुवास भन्छन् ‘अनि, सामान्य जीवनमा फर्कन सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .