ad ad

म्यागेजिन


जलनपछि रेनुकाको १२ वर्ष : आगोले ज्यान जलायो, समाजले मन

त्यसपछि रेनुका मुख देखाएर हिँड्न थालिन्
जलनपछि रेनुकाको १२ वर्ष : आगोले ज्यान जलायो, समाजले मन

आजभोलि रेनुका जलनप्रभावित महिलाहरूलाई अनुहार देखाएर हिँड्न उत्प्रेरित गर्छिन्। तस्बिर : सरोज नेपाल


गीता चिमोरिया
असार १५, २०८१ शनिबार १०:३६, काठमाडौँ

काभ्रेको फूलबारीकी रेनुका श्रेष्ठ श्रीमानसँग काठमाडौँको स्वयम्भूमा बस्थिन्। फागुनको महिना थियो। अरू दिनजस्तै रेनुका आफ्नो भान्सामा काम गर्दै थिइन्। पानी तताउने क्रममा अचानक ग्यास लिक भएर उनको शरीरमा आगो सल्कियो। उनी चिच्याउन थालिन्। ग्यास लिक भएर आगो बलेकोसम्म थाहा छ, त्यसपछि के भयो रेनुकालाई केही थाहा छैन। 

श्रीमान र परिवारका सदस्यले उनलाई तत्काल वीर अस्पताल लगे र भर्ना गराए। 

रेनुका भन्छिन्, ‘अस्पतालका कयौँ दिन मलाई यादै छैन। डाक्टरको टिम आएर शरीरको छालाहरू काटेको अलिअलि याद छ, त्यसपछि के भयो केही यादै छैन।’ 

झन्डै एक महिनाजति पछि मात्रै रेनुकाले आफूलाई के भयो भन्ने थाहा पाइन्। उनको शरीरको झन्डै ४५ प्रतिशत भाग जलेको थियो।  

भिडिओ

औषधिले विस्तारै छोड्दै गएपछि रेनुकालाई जलनको पीडा महसुस हुन थाल्यो। शरीरको सानो भाग पोल्दा त असह्य पीडा हुन्छ, रेनुकाको त झन्डै आधा शरीर जलेको थियो। पीडा सहन नसकेर पटकपटक उनले डाक्टरसँग मृत्यु मागिन्।

‘जलनको पीडा सहनै नसकिने हुन्छ,’ रेनुका भन्छिन्, ‘मैले त्यो दुखाइ सहन नसकेर कत्तिपटक डाक्टरलाई मृत्यु हुने सुई हुन्छ भने लगाइदिनु न भनेँ। मान्छेको मनमा हुन्छ नि, मृत्यु कस्तो हुन्छ होला भन्ने। जलन भनेको मृत्युभन्दा पनि पीडादायी हुन्छ।’ 

हरेक पटक ड्रेसिङ गर्दा रेनुकाको पीडा देखेर श्रीमान सराेज बाहिर बसेर रुन्थे। रेनुकाकी आमा हरेक रात ढुकढुकी छाम्थिन्, छोरी जिउँदै छन् कि छैनन् भनेर। रेनुकाले भोगेको जलनको पीडाले परिवार पनि गहिरो पीडामा पर्‍यो।

भोकभोकै बसरे श्रीमानले गराए उपचार
२०६९ सालको फागुन १४ गते भएको त्यो दुर्घटना रेनुका कहिल्यै बिर्सन सक्दिनन्। करिब चार महिना अस्पताल नै राखेर उनको उपचार भयो। अस्पताल बसाइका ती दिनहरूमा श्रीमानले कहिल्यै साथ छोडेनन्। परिवारका सदस्यहरू पनि भेट्न आइरहन्थे। 

जलनका घटनामा परेका कतिपय प्रभावित आफ्नै परिवारका सदस्यबाट हिंसामा परेका हुन्छन्। दुर्घटनामा परेकाले पनि परिवार र आफन्तबाट पर्याप्त साथ पाइरहेका हुँदैनन्। तर, यसमा रेनुका आफूलाई भाग्यमानी ठान्छिन्। 

‘अरूको म सुन्छु, श्रीमानले नै/परिवारका सदस्यले नै जलाइदिएको, दुर्घटनामा परेकोहरूको पनि परिवारले वास्ता नगरेको। त्यस्तो सुन्दा मलाई एकदमै नराम्रो लाग्छ,’ उनी भन्छिन्, ‘प्रभावितहरूमध्ये म आफूलाई लक्की ठान्छु। किनभने मेरो श्रीमानले दुर्घटना भएको सुरु दिनदेखि नै कहिल्यै मलाई एक्लै छोड्नु भएन। घरबाट ममी बुवाहरू पनि भेट्न आइरहनु हुन्थ्यो।’

चिकित्सकहरूका अनुसार जलन प्रभावितको उपचार निकै महङ्गो छ। ४५/५० प्रतिशत जलन भएको बिरामी झन्डै ४–५ महिना अस्पताल बसेर उपचार गर्नुपर्दा लगभग ८ देखि १० लाख खर्च लाग्छ। सामान्य आर्थिक अवस्थाको परिवार थियो। श्रीमानले उपचारका लागि रकम कहाँबाट जुटाए? रेनुकालाई धेरै कुरा त थाहा छैन तर, रेनुकालाई यो कुरा थाहा छ, उनको उपचारको लागि श्रीमान कैयौँ दिन भोकभोकै बसेका छन्। 

रेनुकाले भनिन्, ‘मेरो श्रीमानले उपचारमा यति खर्च भयो, अप्ठ्यारो भयो भनेर मलाई कहिल्यै सुनाउनु भएन। मलाई तनाव नहोस् भनेर होला। जे जति आर्थिक संकट भोग्नुपर्‍यो, त्यो तनाव आफैँले नै लिनुभयो।’ 

एउटा निजी कम्पनीमा काम गर्ने सामान्य मान्छेले लाखौँ रकम जुटाउन सम्भव थिएन। लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले पैसा नहुँदा कहिले अस्पताललाई अनुरोध गरे, कहिले परिवारसँग सहयोग मागे, कहिले चिनेजानेकासँग सरसापट मागे तर उपचार रोकिन दिएनन्। रेनुकाले आफ्नो उपचारमा केही सहुलियत अस्पतालबाट पाइन्, केही सहयोग विभिन्न संघसंस्थाले पनि गरे। 

थेरापी गर्न पैसा तिर्न नसक्ने भएपछि केही दिन थेरापिस्टले गरेको काम हेरेर श्रीमानले घरमा आफैँ थेरापी गरिदिन थाले। 

‘उपचारको बेलामा थेरापी नगरे हातका औँलाहरू जोडिन्छन्, थेरापी त गर्नैपर्‍यो तर एक पटकको चार सय तिर्नुपर्ने रहेछ, पैसा तिर्न नसक्ने भएपछि श्रीमानले एक–दुईदिन हेर्नुभयो र त्यसपछि आफैँले विस्तारै विस्तारै थेरापी गरिदिन थाल्नुभयो,’ उनी भन्छिन्।

रेनुकाले झन्डै दुई वर्ष घरमै थेरापी गरिन्।     

रेनुकामाथि परेको त्यो बज्रपातको १२ वर्ष बित्यो। अहिले पनि कतै जलनको घटना भएको समाचार सुन्दा रेनुकाको मनमा डर बढेर आउँछ। आफ्नै पीडा बल्झिन्छ।  

‘जलनको पीडाबाट गुज्रिनु भनेको पटकपटक मरेर बाँच्नु हो। कोही पनि मान्छे यो पीडामा नपरोस् भन्ने लाग्छ,’ रेनुका भन्छिन्, ‘अहिले पनि कसैलाई एसिड हान्यो रे, बच्चाहरूलाई आगोले पोल्यो रे भनेको सुन्यो भने एकदमै डर लाग्छ। रातभरि निन्द्रा लाग्दैन। मैले जुन पीडा भोगेँ, त्यो पीडा कसैले भोग्न नपरोस् जस्तो लाग्छ।’ 

मुख छोपेर हिँड्दा
झन्डै चार महिना अस्पताल बसेपछि रेनुका घर फर्किइन्। शारीरिक र मानसिक पीडा त छँदै थियो, अब थपियो सामाजिक पीडा। त्यसपछि सुरु भयो संघर्षका दिनहरू। जलनपछि अनुहार बदलिन्छ, शारीरिक अवस्था बदलिन्छ। आफ्नो पहिलाको रूप र अवस्था सम्झेर मानसिक रूपमा बेस्सरी पीडा हुन्छ। 

‘रूप भनेको केही होइन मन राम्रो हुनुपर्छ भन्ने कुरा त भनाइ मात्रै रहेछ,’ रेनुकाको अनुभूति छ, ‘हरेक मान्छेले पहिला रूप नै हेर्छ। हरेक ठाउँमा रूप नै खोजिने रहेछ।’

अस्पतालबाट फर्केको केही समय रेनुका घरमै बसिन्। कोठाबाट बाहिर निस्कन कठिन भयो। कोठामा बस्दाबस्दा मानसिक रूपमा झन् अप्ठ्यारोमा पर्छु भन्ने भएपछि साथीभाइ भेट्ने र आफ्ना मनका सुख दुःख साट्ने योजना बनाएर सुरुमा उनी आफ्नो सबैभन्दा मिल्ने साथीलाई भेट्न गइन्। 

रेनुकाले ढोका ढक्ढक्याएपछि साथीले ढोका त खोलिन्, तर उनलाई देखेर साथी तर्सिइन्। त्यसपछि रेनुका धेरै बेर त्यहाँ बस्न सकिनन्, कोठामा फर्किइन्। उनलाई लाग्यो ‘ओहो! म त बाहिर निस्कन नहुने रहेछ।’ 

त्यसपछि उनी धेरैजस्तो कोठामै बसिरहन थालिन्। अस्पताल जाँदा पनि पूरै अनुहार ढाकेर हिँड्थिन्। 

‘म पूरै मुख छोपेर हिँड्थे। म आफैँलाई पनि डर लाग्थ्यो, मेरो अनुहार, हातहरू देखेर,’ त्यो समय सम्झिँदै रेनुका भन्छिन्।

बदलिएको आफ्नो अनुहार हेरेपछि आफैँलाई पीडा हुन्थ्यो। तर श्रीमानले सधैँ सामान्य बेलामा जस्तै हिँड्न प्रोत्साहन गरे। अनुहार छोपेर, लुकेर नहिँड्न अनुरोध गरिरहे। त्यसपछि रेनुकालाई पनि विस्तारै बानी पर्‍यो। 

त्यसको केही महिनापछि रेनुका बीभीएस भन्ने एउटा संस्थामा पुगिन्। जसले उनीजस्तै जलन प्रभावितको लागि काम गर्ने गर्थ्यो। त्यहाँ उनले जलन प्रभावित आफूजस्तै अरू थुप्रै महिलाहरू भेटिन्। उनीहरूमध्ये कोही घरबाट निकालिएका थिए। कसैलाई श्रीमानले छोडेर हिँडेका। अन्य प्रभावितको त्यो पीडा सुनेपछि रेनुकाको मनमा पनि डर पस्यो, ‘कतै मेरो श्रीमानले पनि मेरो साथ छोड्ने त होइन?’ 

तर सराेजले कहिल्यै रेनुकाको साथ छोडेनन्। 

प्लास्टिक सर्जरीको भ्रम
जलनपछि रेनुकाको दैनिकी बदलियो। उनी आफूलाई विस्तारै पहिलाकै अवस्थामा फर्काउने कोसिस गर्दै थिइन्। पहिला गर्दै आएको काम छुट्यो। घरमा एक्लै बस्दा मानसिक रूपमा झन् पीडा हुने, श्रीमान् एक्लैको कमाइले दुईजनालाई जीवन धान्न पनि मुस्किल। उनले काम खोज्न थालिन्। धेरैतिर भौँतारिइन्। पहिला गर्दै आएकोजस्तै कफी सपमा काम पाइन्छ कि भनेर कोसिस गरिन्। सोचेजस्तो भएन। 

पार्लर सिकेकी थिइन्। पार्लरमा काम पाइन्छ कि भनेर खोज्न थालिन्। त्यहाँ झन नमिठो वचन सुन्न पर्‍यो। चलेकै पार्लरको दिदीले ‘तिमी अरूलाई राम्री बनाउने मान्छे आफू पनि राम्री हुनुपर्छ’ भन्ने जवाफ लगाइन्। 

ऐनामा आफूलाई हेर्थिन्। मानिसहरूले गरेको व्यवहार सम्झिएर थुप्रै पटक आत्महत्याको सोच आयो। 

गाउँ गएका बेला एकदिन खाजा खाने क्रममा बनेपामा एकजना महिलाले सुस्मा कोइराला हस्पिटलमा प्लास्टिक सर्जरी हुन्छ भन्ने कुरा सुनाइन्। रेनुका आमासँग त्यहाँ पुगिन् र अस्पतालका डाक्टरलाई आफ्नो पुरानो फोटो देखाउँदै भनिन्, ‘मलाई यस्तै बनाइदिनु हुन्छ भने म उपचार गर्छु नत्र म सुसाइड गर्छु।’ 

डाक्टरले हुन्छ भने। रेनुकाले अहिले बुझिन्, डाक्टरले उनको मन राख्न त्यसो भनेका रहेछन्। 

अमेरिकाबाट फर्केकी महिलाले भनिन्– तपाईंलाई देखेर मेरा बच्चा डराउँछन्    
जलनको पीडा अझै धेरै महसुस दोस्रो लकडाउनले गरायो। अफिस आउने क्रममा दुर्घटनामा परेर श्रीमानको खुट्टा भाँचियो। डाक्टरले अप्रेसनका लागि दुई लाख रूपैयाँ तत्काल डिपोजिट गर्न भने। 

जुन मोटरसाइकलले ठक्कर दिएको थियो, त्यो व्यक्ति उपचार गरिदिन राजी भएनन्। मैले ठक्कर दिएकै होइन भन्न थाले। ट्राफिक प्रहरीलाई सीसीटीभी फुटेज हेर्न दिन भनिन्। आफ्नो सबै समस्या सुनाइन्। तर प्रहरीले कुरा सुनेनन्। हातमा दुई हजार पनि नभएको बेला तत्काल दुई लाख कहाँबाट ल्याउने? रेनुकालाई संकट पर्‍यो। 

पूरै उपचारका लागि ८ देखि १२ लाखसम्म लाग्न सक्छ भन्दै डाक्टरले दुई पक्षमध्ये जसले भए पनि तत्काल दुई लाख डिपोजिट गरिदिन भनेका थिए। जुन मान्छे कमाउने, त्यही मान्छे अस्पताल भर्ना भएको छ। हातमा सानो बच्चा। रेनुकाले कठिन समय गुजारिन्। धेरै अनुरोधपछि ठक्कर दिने व्यक्ति तत्कालीन उपचार गरिदिन सहमत भए। 

उपचारपछि पटकपटक फलोअपका लागि जानुपर्थ्यो। दुवैजना घर बसेर परिवार चल्न सक्दैन थियो। श्रीमानलाई पूरै निको नहुन्जेल जसरी पनि काम गर्छु भनेर रेनुकाले फेरि काम खोज्न थालिन्। कीर्तिपुरमा एउटा घरमा काम पाइन्। पहिलो महिना काम गरेर भर्खरै पारिश्रमिक बुझेकी थिइन्। दोश्रो महिना लाग्दै गर्दा उनले काम गर्ने घरकी बुहारी अमेरिकाबाट फर्किइन्। 

बुहारीले रेनुकालाई भनिन्, ‘मेरो बच्चाहरू तपाईं देखेर डराउँछन्, भोलिदेखि काममा नआउनु ल।’

बल्लबल्ल पाएको काम पनि छुट्यो। 

‘त्यो दिन कीर्तिपुरबाट हिँड्दै टेकु कसरी आइपुगेँ, यादै छैन। त्यो पीडाले गर्दा। अमेरिकाजस्तो देशमा बसेको मान्छे, त्यस्तो सोच राख्नुहोला, त्यसो भन्नुहोला भन्ने सोचेकै थिइनँ,’ रेनुकाले सुनाइन्। 

धेरैलाई आफ्नो कथा सुनाइन्। कामको लागि अनुरोध गरिन्। सर्टिफिकेट पठाइन्। टेलिफोनमा कुरा गर्दा ‘तपाईं कस्तो स्मार्ट, आउनुस् न’ भनेर बोलाउने कार्यालयहरूले पनि त्यहाँ पुगेपछि तपाईंलाई हामी पछि खबर गर्छौं ल भनेर फर्काए। त्यो खबर कहिल्यै आएन। कामको लागि भौतारिंदा भौतारिंदै थाकिन् रेनुका। 

‘म फ्रस्टेड भइसकेको थिएँ। मेरो त्यो पीडा र फ्रस्टेसन देखेर मेरो श्रीमानले कहिलेकाँही के भन्नुहुन्थ्यो भने बरू मलाई त्यो बाइकले हानेकै बेला मृत्यु भएको भए पनि हुन्थ्यो,’ उनले सुनाइन्। 

आत्मनिर्भरता
कोरोनाकै समय थियो। काम खोज्दाखोज्दा थाकेकी रेनुकाले युट्युबमा हेरेर मास्क बनाउन थालेकी थिइन्। आफूले बनाएको सामान सामाजिक सञ्जालमा राखेर उनले प्रचार गरिन्।  पहिलो ग्राहकले नै चार हजारको मास्क अर्डर गरे। उनले ६ सय रूपैयाँ लगानी गरेकी थिइन्। मास्कसँगै उनले कपाल बाँध्ने रबरब्यान्डहरू पनि बनाउन थालिन्। अर्को पटक उनै ग्राहकले सामान लिएर कार्यालयमा आउन अनुरोध गरे, त्यो दिन रेनुकाले १६ हजारको सामान बेचिन्। 

‘त्यो दिन मेरो १६ हजारको बिक्री भयो। आफैँप्रति कस्तो प्राउड फिल भएर आयो। त्यसपछि मैले अब यही काम गर्छु भन्ने निर्णय गरेँ,’ उनले सुनाइन्। 

जलन प्रभावितलाई सहयोग गर्ने संस्थाहरूसँग थोरै आर्थिक सहयोग मागेर रेनुकाले आफ्नो काम सुरु गरिन्। केही व्यक्तिले पनि सहयोग गरे। विस्तारै ग्राहकहरू बढ्दै गए। उनले आफूसँगै अन्य जलन प्रभावितले उत्पादन गरेको सामान पनि संकलन गरेर बेच्न थालिन्। बैंक, विद्यालय, होटल, विभिन्न संघसंस्थाहरूले अर्डर गर्छन्। कतिपय व्यक्तिले किनेर उपहार दिनका लागि पनि अर्डर गर्छन्। 

माला, पोते, कानमा लगाउने विभिन्न खालका इयररिङहरू, कपाल बाँध्ने रबरब्यान्ड लगायतका सामान बनाएर बेच्ने गर्छिन् उनी। अहिले उनले आफूसँगै अरु ४/५ जनाले बनाउने सामान बेच्छिन्। 

रेनुकाले यो बीचमा थुप्रै विद्यालय र क्याम्पसहरूमा गएर विद्यार्थीहरूमाझ जलनसम्बन्धी सचेतना फैलाउने काम गरिन्। सानो लापर्वाहीले हुनसक्ने ठूलो दुर्घटना र त्यसले पूरै जिन्दगीलाई कसरी क्षतविक्षत पार्छ भनेर उनले बालबालिकालाई बताइन्। 

उनलाई लाग्छ, सरकारले पाठ्यक्रममा नै समेटेर यो विषयमा विद्यालयमा तहमा पढाउनु पर्छ। सरकारसँग उनको अर्को पनि अनुरोध छ, जलन प्रभावितलाई आर्थिक आम्दानी र जीवनयापनका लागि सरकारले विशेष खालका कार्यक्रम ल्याउनुपर्छ। जलनपछि प्रभावितलाई काम पाउन निकै मुस्किल छ। उनीहरूका लागि सरकारले आर्थिक उपार्जनका कार्यक्रम ल्याइदिए सीप सिक्न र भएको सीप अनुसार काम गरी जीवन चलाउन निकै सजिलो हुन्छ भन्ने उनलाई लाग्छ। 

ब्युटी पेजेन्ट 
गएको फागुनमा रेनुकाले मिसेस राइज एन्ड साइन डिभा २०८० को सेकेन्ड रनर अप उपाधि जितिन्। 

‘म जित्छु भनेर त गएको थिइनँ, तर मलाई एउटा के कुरा थाहा पाउन मन थियो भने यस्ता प्रतियोगिताहरूमा फेस मात्रै हेरिन्छ कि मान्छेको क्षमता/ट्यालेन्टको पनि मूल्यांकन गरिन्छ भनेर जान्न मन थियो। त्यही भएर भाग लिएको थिएँ,’ उनले सुनाइन्, ‘यो प्रतियोगितापछि मेरो सोचमा थोरै परिवर्तन आएको छ। सबै मान्छेले फेस मात्रै हेर्दैन रहेछन्, क्षमताको पनि मूल्यांकन हुने रहेछ भन्ने कुरामा म अलि सकारात्मक हुन थालेको छु।’ 

उनी सबै जलन प्रभावितलाई अनुरोध गर्छिन्, ‘हामीले आफूलाई माया गर्नुपर्छ। आफूलाई आफू राम्री लाग्नुपर्छ। अरूको कुरा सुन्न थाल्यौँ भने त डिप्रेसनमा गइन्छ। बरू आफूमा के क्षमता छ, के सीप छ, त्यसलाई बढाउनतिर लाग्नुपर्छ।’ 

जलन प्रभावितको जीवनमा परिवार र जीवनसाथीको साथ निकै महत्वपूर्ण हुने उनको अनुभव छ। परिवार र जीवनसाथीको साथ मात्रै पाए पनि धेरै समस्यासँग जुध्न सकिन्छ भन्ने उनलाई लाग्छ। 

अनि अनुहार देखाएर हिँड्न थालिन्
दुर्घटनाको केही समयसम्म रेनुका पूरै अनुहार ढाकेर हिँड्थिन्। आफ्नो अनुहार कसैले नदेखोस् भन्ने लाग्थ्यो। बाहिर कतै निस्किनु पर्दा सलले अनुहार छोप्थिन् र हिँड्थिन्। श्रीमानले हरेक पटक सम्झाउँथे, सामान्य बेलामाजस्तै हिँड भनेर। विस्तारै रेनुका अनुहार नढाकी हिँड्न थालिन्। सहज हुन धेरै समय लाग्यो।

उनले आफूलाई सम्झाइन्, ‘मैले आफैँलाई माया नगरे कसले गर्छ? मेरो अनुहार हेरेर कसैले मलाई नराम्रो व्यवहार गर्छ भने त्यो मेरो दोष होइन, उनीहरूको सोचमा समस्या हो।’

आजकाल उनी अन्य जलन प्रभावित महिलालाई पनि लुकेर नबस्न, अनुहार नछोपी हिँड्न प्रोत्साहन गर्छिन्। 

‘म तपाईंलाई राखी दिदीको कुरा सुनाउँछु, दुई हप्ताअघिको प्रसङ्ग सुनाउँदै रेनुकाले भनिन्,– ‘एसिड हानेर जलाइदिएको भन्नुहुन्थ्यो। अस्ति हाम्रो भेट भयो। पहिलो दिन दिदीले मलाई तिमी यत्तिकै हिँड्ने गरेको छौ भनेर सोध्नुभयो। मैले त्यतिबेला केही यादै गरिनँ, उहाँले मलाई पहिलोपटक यसरी हिँडेको देखेको भन्नुभयो। मैले मलाई के भएको छ र भनेर सोधेँ। अनि दिदीले मलाई भन्नुभयो, मेरो जनकपुरमा त म यत्तिकै हिँडेँ भने मान्छेले मसँग तरकारी किन्दैनन्।’

‘हामी एउटा कार्यक्रममा थियौँ, दिदी पटकपटक सल सारिरहनुहुन्थ्यो। दिदीको ध्यान कार्यक्रममा भन्दा पनि झरेको सल मिलाउनमै थियो,’ उनले सुनाइन्, ‘मैले दिदीलाई तपाईं किन यस्तो अप्ठ्यारो हुँदा पनि सल ओढिराख्नुहुन्छ भनेर सोधेँ अनि धेरैबेर लगाएर सम्झाएँ। भोलिपल्ट त दिदी अनुहार सलले नछोपिकन आउनु भएछ।’

अग्निजन्य दुर्घटना र हिंसामा परेका अन्य महिलाहरूलाई सकारात्मक सोच्न र आफूमा भएको क्षमता विकास गर्न सम्झाइरहन्छिन्, रेनुका। 

‘समाजले सधैँ प्रभावितलाई नै प्रश्न गर्छ, पीडकलाई भन्दा पीडितलाई प्रश्न गर्ने सामाजिक चरित्र छ,’ उनी भन्छिन्, ‘कसैले एसिड हान्यो वा जलायो भने उल्टै महिलालाई नै उसले पनि केही गरेकी थिई कि भन्छन्। कसैलाई एकतर्फी मन पराएर पाएन भनेर, मागेजति सम्पत्ति पाएन भनेर त्यसरी अपराध गर्न त मिल्दैन नि।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .