ad ad

म्यागेजिन


परदेशमा बसेर देशको इतिहास लेखिरहेकी नीलमको अक्षरयात्रा

परदेशमा बसेर देशको इतिहास लेखिरहेकी नीलमको अक्षरयात्रा

नीलम कार्की निहारिका


मीना खड्का
जेठ २६, २०८१ शनिबार ११:३४, टेक्सस, अमेरिका

नेपालको इतिहासमा झण्डै डेढ सय वर्षअघि एउटी यस्ती केटीको जन्म भएको थियो, जसले जीवनभर त्यस्ता विद्रोह गरिरहिन्, जसको आँट त्यतिबेला कसैले गर्न सक्दैनथे। वैधव्य त्यागेर उनले प्रेम र विवाह गरिन्। अन्याय, अत्याचार, शोषणविरुद्ध बोलिन्। राणा सत्तालाई दबाब दिन सामूहिक आत्मदाह गर्न खोजिन्, रोकटोकपछि ६८ को नेतृत्व लिँदै अरुण नदीमा जलसमाधि लिइन्।

दुःख र आश्चर्यको कुरा, उनको इतिहास धेरै समय गुमनाम रह्यो। नेपालीहरूले उनलाई बिर्सिए। त्यस्तो पात्रबारे उपन्यास लेखिन् नीलम कार्की निहारिकाले। त्यो पनि अमेरिकामा बसेर। यो पुस्तकले प्रसिद्ध मदन पुरस्कार मात्र जितेन, योगमायालाई नयाँ पुस्तासँग परिचय पनि गराइदियो।

प्रवासमा बसेर निरन्तर लेखिरहेका सीमित नेपाली महिला लेखकमध्ये एक हुन् नीलम। मौन जीवन उपन्यासबाट साहित्यिक यात्रा प्रारम्भ गरेकी नीलमले ६ वटा उपन्यास, ३ वटा कथासंग्रह, एक कविता संग्रह र मस्तिष्क ज्वरो नामक लामो कविता प्रकाशित गरेकी छन्। चीरहरण उपन्यासका लागि २०७२ मा पद्मश्री साहित्य पुरस्कार, योगमाया उपन्यासका लागि २०७४ मा मदन पुरस्कार र २०७८ मा द्रौपदी अवशेष उपन्यासका लागि गंकी धुस्वाँ बसुन्धरा पुरस्कार प्राप्त गरेकी छन्।

पाल्पामा जन्मिएकी नीलमका आमा र बुवा दुवै शिक्षक थिए। गाउँको विद्यालयकी एकजना मात्र शिक्षिका आमासँगै हुर्केकी थिइन् उनी। त्यतिबेला उनको आमाको उमेरका कोही पनि पढेका महिला गाउँमा थिएनन्। पुरुषहरू पनि थोरै साक्षर, धेरै निरक्षर नै थिए। 

त्यही गाउँका पढेलेखेका केही व्यक्ति र उनको आमाजस्तै बाहिरबाट आएका शिक्षकबाट विद्यालयमा पढाउँथे। दुईचार जनाले उनको आमालाई मीना मेडम भने पनि बच्चादेखि वृद्धसम्मले मीना दिदी भन्ने गर्थे। 

गाउँका लोग्नेमान्छे लाहुरे बन्ने लहर थियो। धेरैजसो भारत जान्थे। कोही बेलायती सेनामा पनि गएका हुन्थे। लाहुरेका आमा या श्रीमती चिठी लेखाइमाग्न आमाकहाँ आउँथे। उनीहरूले मन खोलेर भन्ने र उनकी आमाले चिठी लेखिदिने हुन्थ्यो। 

नीलम भन्छिन्, ‘हृदयको कुरा भन्ने र लेख्ने भएर होला, हामीले कहिल्यै सुन्न पाउँदैन्थ्यौँ। तर के लेखाउँछन् होला भन्ने कुतूहल भने रहने गर्थ्यो।’

कहिलेकाहीँ त उनी ढोकापछाडि लुकेर सुन्ने पनि गर्थिन्। मनको बह चिठीमा पोखिरहँदा उनीहरूको दुःख भक्कान्निएको सुनिन्थ्यो। कहिलेकाहीँ आमा समेत उनीहरूसँगसँगै रोएको सुन्थिन्। चिठीको जवाफ आएपछि बन्द खाम लिएर आमाबाट वाचन गराउन महिलाहरू आउँथे। 

चिठीहरू पढ्नलेख्न, गाउँका महिलाहरू आइरहँदा, आमा आफैले चण्डीपाठ, स्वस्थानी कथा वाचन गर्दा उनलाई लाग्थ्यो, मेरी आमाजस्तो शिक्षित त संसारमा कोही पनि छैन। उनको बाल हृदय गर्वले चौडा हुन्थ्यो। आफू पनि आमाजस्तै बन्ने सपना देख्थिन्।

बच्चा हेर्ने मान्छे कोही पनि नभएका कारण आमाले उनलाई कोक्रोमै स्कुल लिएर जान थालिन्। नीलम बस्ने र पाटीमा कोर्न सक्ने भएपछि आमाले कक्षामै बसाइदिइन्। दुई वर्ष पूरा हुनासाथ स्कुल भर्ना भइन्।

निकै दुब्लीपातली र कक्षामा उमेरले पनि सबै‍भन्दा सानी। कक्षा ६ मा पढ्दा आमाका शिक्षक साथीहरूले एकदिन भने, ‘मीना दिदी! अनुगमन आयो भने सानो उमेरको बच्ची भनेर हामीलाई अप्ठ्यारो पर्छ। त्यसकारण नीलमलाई यो वर्ष क्लास रोक्दिनुपर्‍यो।’

पास भएर पनि उनले साथीहरूसँगै ७ कक्षा पढ्न पाइनन् र धेरै रोइन्। एउटै कक्षामा २ वर्षसम्म पढ्नुपर्‍यो, साथी पनि छुटे। 

त्यतिबेला पाठ्यपुस्तकहरू सजिलोसँग पाइँदैन थियो। आफूभन्दा अघिल्लो ब्याचका दाइदिदीहरूको किताब किन्ने चलन थियो। जसले धेरै पैसा दिन्छ, उसैलाई किताब दिन्थे। गाता लगाएका र पढाइमा उति ध्यान नदिनेहरूका किताब नयाँ र सफा हुन्थे। उनीहरूको किताब किन्न तीनचार महिना अघिदेखि बैना हाल्नु पर्थ्यो। 

‘स्कुल जाँदाआउँदा आफूले बैना दिएको किताब देखेपछि त्यो त मेरो किताब हो भन्ने अपनत्व हुने गर्थ्यो,’ नीलम सम्झिन्छिन्।

उसो त नेपाली, सामाजिक शिक्षा र इतिहासका किताब अघिल्लो कक्षाको मागेर उनी पहिल्यै पढिसक्थिन्।

गाउँमा आमाले पढाउने स्कुलनजिक डेरा थियो। पढाउनको लागि मात्रै बसेको हुनाले त्यहाँ खेतबारी थिएन। काममा अल्झिनु पर्दैनथ्यो। त्यसैले पहिलो प्राथमिकता पढाइ नै हुन्थ्यो। साथीहरूले आफ्नो घरको काममा पनि सघाउनु पर्ने हुँदा खेल्ने साथीहरू प्रशस्त थिएनन्। 

‘म खल्तीमा गुच्चा बोकी हिँड्थेँ। केटा, केटी, ठूलामान्छे, गोठाला जोसँग पनि बाटो, आगन जहाँ पनि खेल्न थाल्थेँ,’ उनी सुनाउँछिन्।

भर्खर धान उठाएको खेतमा डन्डीबियो खेल्दा झण्डै आँखा फुटेको घटनाले अहिले पनि तर्साउने गर्छ उनलाई। यति मात्र होइन, पौडी खेल्दा भाग्यले बाँचेको र त्यसपछि कहिले पनि नखेल्ने प्रण आमासँग गरेको क्षण पनि उनलाई याद आइरहन्छ।

दाजुदिदी विद्यालयको पढाइ सकेर सदरमुकाम तानसेनमा कलेज पढ्न गएपछि नीलम पनि आमा छाडेर दाजुदिदीसँगै गइन् र त्यहाँको विद्यालयमा पढ्न लागिन्। अरुले तिम्रो उमेर पुग्दैन एसएलसी दिन पाउँदिनौ भन्दा उनी निकै चिन्तित हुन्थिन्। तर गुरुहरूले सल्लाह गरी उमेर बढाइदिने भएपछि भने ढुक्क भइन्।

अहिले पनि आफनो उमेर कागजमा फरक देख्दा उनलाई नरमाइलो लाग्छ। ‘मेरो मात्र होइन अरुको पनि यसैगरी उमेर फरक भएको रहेछ भन्ने थाहा पाएपछि ढुक्क हुन्छु,’ उनी भन्छिन्।

यद्यपि, आफ्नो पुस्तक र थेसिसहरूमा यथार्थ मिति राख्ने गरेको उनको भनाइ छ।

बुवा नीलमलाई डाक्टर बनाउन चाहन्थे। दाजु एमबीबीएस पढ्दै थिए, दिदी माइक्रोबायोलोजी। उनले पनि नर्सिङ पढिन्। छोरी डाक्टर नभए पनि चिकित्सा क्षेत्रमै छे भनेर बुवाले चित्त बुझाए।

दाजु डाक्टर भइसकेका थिए। परिवार खुसी थियो। तर, एउटा दुर्घटनाले सबथोक भताभुंग पारिदियो। एकैसाथ दाजु र बुवाको ज्यान गयो।

नीलमले पहिलो उपन्यास १५-१६ वर्षकै उमेरमा लेखेकी थिइन्। जसलाई उनी २० वर्षकी छँदा आमाले प्रकाशन गरिदिइन्। 

दोस्रो पुस्तक आफैँले नर्सिङ क्याम्पसमा अध्यापन गरेको पैसाले छापिन्। त्यसपछि रेडियो नेपालमा साहित्य संसारमा आबद्ध भएर काम गर्दै पढाइ अघि बढाइन्। करिब १० वर्षको अवधि उनले कविता मात्र लेखिन्। 

पहिलो कथा संग्रह हवन २०६३ मा प्रकाशित गरी उनी पुनः आख्यानतिर फर्किइन्। २०६६ सालदेखि २/२ वर्षमा निरन्तर आख्यानका पुस्तक प्रकाशन गरिरहिन्। २०६६ मा कागजमा दस्तखत, २०६८ मा बेली, २०७० मा अर्की आइमाई, ०७२ मा चिरहरण र त्यसपछि योगमाया।

चिरहरण र योगमाया लेख्दाताका राति चारपाँच घण्टा काम गरेको सम्झँदै उनी भन्छिन्, ‘उपन्यासलाई टुक्राटुक्रा समय निकालेर हुँदैन। निरन्तर समय भएन भने लय छुट्छ। बाटो अल्मलिन्छ।’

अरु बेला अन्य काम गर्दै सामग्री जुटाउँदै कथा बुन्दै गए पनि उपन्यासलाई पूर्णता दिने बेला ६/७ महिना दिल र दिमाग एक ठाउँमा लगाई एकदमै कटिबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ।

विद्यावारिधि पूरा गर्न केही समय उनले लेखनलाई थाती राखिन्। विद्यावारिधि पूरा भएसँगै अहिले उनको लेखनको लय पनि फर्केको छ। अहिले उनी नयाँ उपन्यास लेखिरहेकी छन्।

अहिले म अमेरिकाको टेक्ससबाट नीलमबारे लेखिरहेको छु। नीलम अमेरिकामै भएपनि हामी यहाँ एकैठाउँमा छैनौँ। सो यो लेख्नुअघि उनीसँग मैले टेलिफोनमा लामो कुराकानी गरेँ। 

अमेरिकामा बसेर नेपालको विषयवस्तुमा अनुसन्धानमा आधारित उपन्यास लेख्न सजिलो छैन।

‘चाहेकै बेलामा त्यो विषयसँग सम्बन्धित स्रोत सामग्री अध्ययन गर्न तथा स्थलगत अनुभूति गर्न गाह्रो छ,’ नीलम भन्छिन्, ‘जुन विषयमाथि लेखिरहेको छ, त्यही समयसँग पुग्नु, त्यही पात्र भएर त्यही परिस्थितिमा बाँच्नुपर्ने हुन्छ। रमाइलो पनि हुन्छ। साथी नै उनीहरू हुने हुदाँ एकान्त राम्रो लाग्छ। पहिला पात्रमा प्रवेश गर्न गाह्रो, त्यसपछि निस्किन पनि उत्तिकै कठिन। बिट मारेको केही महिनासम्म पनि आफू त्यतै भएजस्तो। छुट्ने बेला आफनो प्रियजनसँग बिछोड भएजस्तो।’

तर, उनी अनुसन्धानमा आधारित भएरै लेख्न चाहन्छिन्। त्यसको कारण छ।

योगमाया प्रकाशनलगत्तै उनलाई माया ठकुरीले एकदिन भनेकी थिइन्, ‘उमेर नघर्कंदै पहाड कन्दरा हिँड्न सक्दै यस्तै पुस्तक लेख। भोलि त्यसो गर्न स्वास्थ्यले साथ नदिँदा कोठामा बसेर लेख्नु त छँदैछ।’

अग्रज लेखिकाको यो कुरा नीलमलाई सत्यजस्तो लाग्यो। प्रकाशित पुस्तकहरूमा पाठकले दिने माया तथा प्रतिक्रियाले नै उनलाई अझै केही राम्रो गरौँजस्तो लाग्ने गरेको छ। त्यसमाथि झन् आजकाल त आफ्नै छोराहरू समेत बेलाबेला झक्झक्याउन थालेका छन्।

आफनो एउटा छोराले दिएको सुझाव नीलमले मसँग कुराकानी हुँदा यसरी सम्झिइन्, ‘तपाईंले लेखेको आख्यानलाई पनि मान्छेले वास्तविक कथा ठान्दा रहेछन्। त्यसैले धेरै केयरफुल हुनु है।’

उनलाई लाग्छ, नेपालका धेरै विषयवस्तु लेखिन बाँकी छ। भन्छिन्, ‘सीमान्तकृत जीवन, वर्तमान यथार्थ भइ नै हाल्यो अनि इतिहास अध्ययन अनुसन्धान गर्न र धेरै लेखिन बाँकी छ।’

नेपाल हुँदा २ वटा विषयमा स्नातकोत्तर गरेकी नीलमले अमेरिका आएर नर्सिङ पढिन्। जागिर गरिन्। र, पछि नेपाली साहित्यमा विद्यावारिधि पनि गरिन्। बच्चा हुर्काउनु, पढाइलाई निरन्तरता दिनु, जागिर गर्नु र लेखन कार्य नछाड्नु, घरलाई पूर्णरुपमा सम्हाल्नु। यी सबै जिम्मेवारीलाई सँगसँगै लैजान सजिलो थिएन। 

‘यही नै त जीवन हो। सिधा रेखामा हिँड्दैन जीवन,’ नीलम भन्छिन्, ‘मनको दुःखको अघि तनको दुःख सामान्य लाग्ने गर्छ। जन्म दिएका आमाबाबु, माया गर्ने दाजु सबै गुमाइसकेको मान्छेको लागि अरु दुःख दुःख लाग्दैन रहेछ।’ 

नेपाल जानेबारे सोच्नुभएको छ भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘२०१९ मा नेपाल फर्कने तयारी थियो। जुन ५ को टिकट काटिसकेका थियौँ। त्यही अनुसार म नेपाल गएर विद्यावारिधिमा भर्ना भएकी थिएँ। तर कोरोनाकै कारणले त्यतिबेला नेपाल जाने योजना स्थगित भयो। टिकट फिर्ता गर्‍यौँ। सधैँ आफनो देशमै बस्ने गरी जाने नै हो। ठूलो छोराको १२ कक्षा सकिएपछि नेपाल फर्किने है भनेर श्रीमान् र मैले धेरै अघिदेखि बनाएको योजना पूरा नभएपछि अब योजना बनाएकी छैन। जे होस् मन बुझाउने बाटो– नेपालमा बसेर गर्ने काम, मेरो लेखन नै यहाँ बसेर पनि गरिरहन पाएको छु भन्ने लाग्छ।’

आमाको निधनपछि आफूलाई नेपाल बोलाइरहने कडी टुटेको महसुस उनले गरेकी छन्।

‘म यहाँ आउँदा आमा हुनुहुन्थ्यो। मेरो दुर्भाग्य, अब उहाँ पनि रहनुभएन। बाहिर गए पनि कति बेला फर्किन्छेस्, छिटो आइज भनी पटकपटक फोन गर्ने अब कोही छैन,’ नीलम भन्छिन्, ‘त्यसैले आमा हुँदाजस्तो आजै नेपाल जाऊँ अहिले नै जाऊँ हुन छाड्यो। तर जान चाहिँ सत प्रतिशत जाने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .