ad ad

राजनीति


गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत माग्दै देउवाले लेखे लिङ्देनलाई पत्र (व्यहोरासहित)

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत माग्दै देउवाले लेखे लिङ्देनलाई पत्र (व्यहोरासहित)

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १७:१४, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मतका लागि आग्रह गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का  अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन्। 

गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। जस अनुसार उनले आगामी २८ गते विश्वासको मत लिँदैछन्।

देउवाले लिङ्देनलाई पत्र लेख्दै विश्वासको मत दिएर सहयोग गर्न अनुरोध गरेका छन्। 

नेपालखबरलाई प्राप्त पत्रको विवरणमा भनिएको छ, ‘प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले मुख्यमन्त्रीले यही जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको विशेष परिस्थितिमा दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्नहुनका लागि अनुरोध सहित नेपाली कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु।’

सभापति देउवाले लिङ्देनलाई लेखिएको पत्रमा, यो विश्वासको मतले सरकार गठनमा देखिएको अस्थिरता अन्त्य गर्ने र दलहरूबीच देखिएको अविश्वासको वातावरणसमेत अन्त्य हुने उल्लेख गरिएको कांग्र्रेस निकट स्रोतले उपलब्ध गराएको सो पत्रमा भनिएको छ।

राप्रपाको यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सत्ता गठबन्धनलाई सहयोग पुग्नेगरी प्रदेशसभामा मतदान नगर्ने र विपक्षी गगठबन्धनलाई आवश्यक परेको खण्डमा मतदान गर्न सकिने निर्णय गरेको थियो। 

जसका लागि प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय गरी निर्णय लिने अधिकार अध्यक्ष लिङ्देनलाई नै दिने निर्णय सो बैठकले गरेको थियो। 

सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो। 

दोस्रो आमनिर्वाचनपछि गण्डकी प्रदेशमा बनेको यो चौथो सरकार हो।

गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दल हो। यहाँ सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। 

स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मत मात्र जुट्छ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ र एक स्वतन्त्र सांसद छन्। 

    यस्तो छ देउवाले पठाएको पत्रको व्यहोराः
    गण्डकी सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतले संविधानको धारा १७८ को ३ बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतले संसदीय दलको नेता माननीय सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको एउटा विशिष्ट परिस्थितिमा अहिले प्रदेशसभा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठन भएको यहाँलाई विदितै छ।

    प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले मुख्यमन्त्रीले यही जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको विशेष परिस्थितिमा दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्नहुनका लागि अनुरोध सहित नेपाली कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु। 

    यो विश्वासको मतले गण्डकी प्रदेश सरकार गठनमा देखिएको अस्थिरता अन्त्य गर्नेमात्रै होइन, दलहरूकाबीचमा नयाँ विश्वास र सहकार्यको वातावरण बन्नेछ भन्ने कुरामा नेपाली कांग्रेस विश्वस्त छ। 

    शेरबहादुर देउवा
    सभापति

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .