म्यागेजिन


विश्वमा कुन काममा छैनन् नेपाली?

विश्वमा कुन काममा छैनन् नेपाली?

राजेन्द्र दाहाल
माघ ११, २०७६ शनिबार ८:०,

नेपालको अर्थतन्त्र र जनजीविकामा विप्रेषण (रेमिट्यान्स) ले उल्लेख्य स्थान ओगट्न थालेको २०५० को दशकको प्रारम्भ देखि नै हो। हिमाल खबरपत्रिकाले २०५६ भदौमा पहिलो पटक विप्रेषण आयको एकमुष्ट हिसाब सार्वजनिक गरेपछि विदेशको कमाइ अथवा ‘रेमिट्यान्स’ आम चर्चा र चासोको विषय बन्न पुग्यो। आज वैदेशिक रोजगार राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख आधार स्तम्भ बनेको छ। मुलुकको अधिकांश राजस्व आयात व्यापारमा निर्भर छ र त्यो व्यापारको भुक्तानी विभिन्न देशमा छरिएका नेपालीले कमाएको विदेशी मुद्राबाट हुने गर्छ। नेपालको अव्यवस्थित शहरीकरण, आन्तरिक बसाइँसराइ र उपभोगमुखी जीवनशैलीमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा वैदेशिक रोजगार÷विप्रेषणबाट प्रभावित छ।

गएका २० वर्षमा नेपालको रेमिट्यान्स आयसँगै विदेशिने नेपालीको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ। यो यथार्थ यस अवधिका हिमाल खबरपत्रिका पानाबाटै पनि झल्किन्छ। नेपाली जनजीवन र अर्थतन्त्रमा वैदेशिक रोजगार, विदेश प्रवासन तथा रेमिट्यान्सको प्रभाव व्यापक हुँदै जाँदा हिमाल लगायतका पत्रपत्रिका र अन्य सञ्चार माध्यमले यसलाई समाचारको एउटा मुख्य विषयवस्तुका रूपमा अंगीकार गरेका छन्।

वैदेशिक रोजगार ‘बिट’ मा काम गर्ने कतिपय पत्रकारहरू यसमै विशेष दक्षता हासिल गर्न सफल भएका छन्। यस संग्रहमा संकलित समाचार–रिपोर्ट तयार पार्ने पत्रकार डम्बरकृष्ण श्रेष्ठ त्यस्तै एक जना पत्रकार हुन्।

यो संग्रह मूलतः हिमाल खबरपत्रिका मा प्रकाशित विदेशिएका नेपालीका सपना र बाध्यता, तिनका कष्ट, उपलब्धि, आँट एवं औकात दर्शाउने सूचना र विवरणको पोको हो। यसमा आकाशमा उड्नेदेखि समुद्रमा डुब्ने, युद्धमा होमिने, ४५–५० डिग्रीको रापमा पिल्सिने, महँगा शहरमा विलासी जीवन बिताउने आदि हरेक वर्ग र श्रेणीका नेपालीका कथा समेटिएका छन्। यसमा पत्रकारका आँखाले देखेका र कानले सुनेका कुराहरू लगभग जस्ताको त्यस्तै समाचार–सूचनाका रूपमा प्रस्तुत छन्।

यहाँ एउटा कुरा स्पष्ट पार्नैैपर्छ, यो पुस्तक श्रम बेच्नका लागि खाडी, मलेसिया आदि देशमा जाने नेपाली श्रमिकहरूको कथा–व्याथा मात्रै पनि होइन। यसका खण्ड–खण्ड र पाना पल्टाउँदै जाँदा नेपालीले विश्व छिचोलिसकेको अनुभव त हुन्छ नै, सँगै कठोर शारीरिक श्रमका अतिरिक्त ज्ञान–विज्ञान र प्रविधिका क्षेत्रमा पनि विदेशिएका नेपालीहरूको पहुँच विस्तार भएको छ। यो किताब पढिसकेपछि; ‘कहाँ छैनन् नेपाली, कुन काममा छैनन् नेपाली’ भन्ने प्रश्न स्वाभाविक लाग्छ। एकपछि अर्को देशमा जमेर बसेका, राम्रो कमाइ गरेका नेपालीका कथा पढ्दा–पढ्दै मनमा थप प्रश्न जन्मिसक्छ — हामी नेपालीलाई देशमा कहिल्यै काम नहुने अनि विदेशमा कहिल्यै कामको खाँचो नपर्ने किन होला?

बेलायत र भारतको सेनामा नेपाली युवाहरूको आबद्धता दुई सय वर्षभन्दा पुरानो हो। तर आज ठूलो मात्रामा भइरहेको सर्वसाधारण नेपालीको विदेश प्रवासनले ब्रिटिस र भारतीय गोर्खा या ‘लाहुेर’ संस्कृतिलाई ओझेलमा पारिसकेको छ। पछिल्ला दिनमा जापानले समेत नेपाली श्रमिक र परिचारकहरूको निम्ति आफ्नो ढोका खोलेपछि विदेशिन लालायित नेपालीलाई अमेरिकाको डिभी भिसा समेत फिका लाग्न थालेको छ।

हुन पनि, नेपालीलाई कसले मन पराउँदैन र? मलेसियादेखि खाडीसम्मका कट्टर मुस्लिम देशमा होस् या यहुदीहरूको एक्लो देश इजराइल — नेपालीहरूको माग उत्तिकै छ। युरोप र अमेरिका मात्रै होइन, अफ्रिकाका देशहरूमा समेत नेपाली श्रम, सीप र संस्कृतिको आकर्षण विस्तारित हुँदैछ। नेपाली मूलका भुटानी शरणार्थी समेत सम्पन्न देशका समाजमा सम्मानजनक ढंगबाट पुनस्र्थापित भए। यसरी हेर्दै जाँदा सबै धर्म, भूगोल, संस्कृति र शासन व्यवस्थामा उत्तिकै स्वागत पाउने जाति नेपाली बाहेक अरू कुन होला? अध्ययन नगरिएकोले किटान गर्न मिलेन तर, यो पुस्तक पढिसकेपछि, नेपालीलाई संसारमै उच्च माग भएको अथवा सबैभन्दा बढी रुचाइने जाति भनेर दावा गर्न समेत सकिने देखिन्छ।

तर, यस्तो दावा गर्दा स्वाभाविक रूपमा प्रश्न उठ्छन् — ‘नेपाली’ भनेको को? नेपाली कस्तो जाति हो? ‘नेपाली पहिचान’ का विशेषता के–के हुन्? नेपालीलाई संसारले रुचाउँछ भने त्यसका सम्भाव्य कारण के हुन्? बाहिर जहाँ पुग्यो त्यहीं हाईहाई कमाउने नेपालीहरूको आफ्नै घर (नेपाल) चाहिँ किन सधैं उदांगो, खोक्रो? यस्ता प्रश्नको निम्ति सम्बद्ध विषय विज्ञहरूकै मुख ताक्नु जरुरी हुन्छ।

किताबमा समेटिएका नेपालीका विदेशका अनुभव र कथा पढ्दै जाँदा अरू पनि थुप्रै प्रश्न उब्जिन्छन्। त्यस्ता अधिकांश प्रश्नको सीधा जवाफ पाउन सजिलो छैन। तर पनि, लेखकले विदेशमा नेपालीहरू रुचाइनुको एउटा मुख्य कारण नेपालीहरूको ‘कामप्रतिको लगन र इमानदारी’ भएको निष्कर्ष पुस्तकमा कतै उल्लेख गरेका छन्। तर, सुगौली सन्धिसँगै ‘नेपाल’ नामको घर बनेपछि सुरु भएको निरन्तरको प्रवासन अथवा वैदेशिक निर्भरता नेपालीको नियति नै हो कि आकास्मिकता मात्र? यो र यस्ता प्रश्नहरूको निरूपण मानवशास्त्री÷समाजशास्त्रीहरूबाट नै होला।

(शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको यो समिक्षा १० माघ २०७६ मा सार्वजनिक गरिएको पत्रकार डम्बरकृष्ण श्रेष्ठको ‘नेपाली प्रवासन : नियति र रहर’ पुस्तकबाट लिइएको हो। शीर्षक हामीले परिवर्तन गरेका हौं)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad