ad ad

म्यागेजिन


प्रोफेसर गीता त्रिपाठीको मातृत्व अनुभव : आमाको शरीर पनि एउटा प्रयोगशाला रहेछ

प्रोफेसर गीता त्रिपाठीको मातृत्व अनुभव : आमाको शरीर पनि एउटा प्रयोगशाला रहेछ

नयाँ तस्बिरहरू : सरोज बैजु/नेपालखबर


राधिका अधिकारी
फागुन ६, २०७९ शनिबार ७:१६, काठमाडौँ

आजभन्दा ६ दशकअघि गीताकी आमाले दुई/दुई वर्षको फरकमा ३ छोरी जन्माइन्। कसैले उनलाई सोधनन्, ‘तिम्रो शरीर कत्तिको बलियो छ?, तिमीलाई छोरा चाहिन्छ कि चाहिँदैन?’ बरु समाजले गीताका बुबालाई छोराका लागि दोस्रो बिहे गर्न दबाब दियो।

तर, अंग्रेजी पढाउने शिक्षक बुबाले दोस्रो विवाह गर्न मानेनन्। बरु उनले समाजको चित्त बुझाउन ज्योतिषलाई देखाए, भाकल गरिदिए। बुबाको स्कुलका नेपाली शिक्षक केशवसँग राम्रो मित्रता थियो। उनी चिना पनि हेर्थे। केशव सरले चिना हेरेर भनेका थिए, ‘तपाईंको भाग्यमा छोरा त लेखेको छ त!’

गीताकी आमाले चौथो सन्तानका रुपमा छोरो जन्माइन्। समाजका नजरमा उनकी आमा भाग्यमानी साबित भइन्। त्यसको दुई वर्षपछि गीताको जन्म भयो। गीता जन्मँदा दिदीहरु हुर्किसकेका थिए। उनीपछिकी बहिनी उनीभन्दा ५ वर्ष कान्छी। 

गीताका बा–आमाको जीवन गाउँ र बेँसीमा बाँडिएर बित्यो। जिम्मेवारी बाँडिएको बा–आमाको जिन्दगीको असर भने गीताले भोग्नुपर्‍यो।

दाजुदिदीले झैँ गीताले पनि ३ वर्षको उमेरमा आमाको काख छोडिन्। उनलाई आमाको काखको न्यास्रो सधैँ भैरह्यो। गाउँको घर स्कुलबाट नजिक, बेँसीको घर खेती किसानीका लागि खोलाकिनारको नजिक। बेँसीको खेतबारी सम्हालेर आमाको जिन्दगी बित्यो। शिक्षक बनेर गाउँ पसेका गीताका बुबाले छोराछोरीप्रतिको जिम्मेवारी पुरा गरे। बुबा शुक्रबार स्कुल छुट्टी भएपछि हुर्किएका छोराछोरी अघिपछि लगाएर बेँसी झर्थे। एकरात आमासँग बस्थे र गाउँ फर्किन्थे। आमा भेट्ने हर्क बोकेर झरेकी गीता आमाको चटारो देखेर निरास हुन्थिन्। उनकी आमालाई बल्ल भेटेका छोराछोरीलाई मायाले स्पर्श गरेर बस्ने फुर्सद हुँदैनथ्यो। आमाको वरिपरि थुप्रै कुरा छुटे। गीताका लागि उनका ३ दिदीहरुले आमाको भूमिका निर्वाह गरे।

स्कुल नटेकेकी उनकी आमाको घर सम्हाल्ने कला अलौकिक थियो। बुबाले कापीमा गर्ने ठूलाठूला हिसाब गीताकी आमा औँला गनेरै गरिदिन्थिन्। आमाको तेज दिमागको सधैं चर्चा हुन्थ्यो। गीताका आमाबुबाको प्रेम असाध्यै सुन्दर थियो। हुन त उनीहरुको उमेर अन्तर फराकिलो थियो। २१ वर्षको उमेरमा बुबाले ९ वर्षकी आमासँग विवाह गरेका थिए। बुबाले आमाको कान समातीसमाती साँवा अक्षर पढ्न सक्ने बनाएका थिए।

बुबाको मृत्युपछि उनकी आमा भन्थिन्, ‘मेरो जिन्दगीको सबैभन्दा ठूलो उपहार नै यही भयो। अक्षर चिनेकाले बुढेसकाल कटाउन सजिलो भयो।’ 

शिक्षाप्रेमी बुबाले आफ्ना छोरीहरुलाई पनि सँगसँगै स्कुल लिएर गए। उनकी जेठी दिदी उमेर बढ्दै जाँदा आमालाई छोडेर गाउँ जान सकिनन्। उनलाई बुबाको शिक्षित बनाउने सपनाले भन्दा आमाको दुःखले धेरै छोयो। उनी आमासँगै झिगुखोला किनारमा रमाइन्। माइली र साइँली दिदी पढाइमा ठिकठाकै थिए। गीता र उनका दाजु पढाइमा अब्बल। बुबासँग हुर्किएकाले पनि होला गीताको बाल्यकाल निकै अनुशासित ढंगले बित्यो। बुबाको एउटा खोकाइका भरमा ६ सन्तानको गति तय हुन्थ्यो। बुबाको अनुशासन, दाजुदिदीले आफ्नो हिसाबले पुरा गरेको जिम्मेवारीका कारण गीताले जसोतसो आमाको रिक्ततालाई झेलिन्। तर, त्यो खालीपन उनी आज पनि महसुस गर्छिन्।

गीतालाई हिजोआज लाग्छ, ‘आमासँग लडिबडी गर्दै हुर्कन नपाएका बच्चाहरु अन्तर्मुखी हुने रहेछन्। म पनि हुर्कदै जाँदा त्यस्तै स्वभावको थिएँ।’ 

गीता अहिले पनि सम्झिन्छिन्, ‘शुक्रबार गाउँबाट बेँसी झर्दा हामी फुस्रै भएका हुन्थ्यौँ। हामीलाई नुहाइदिन, हाम्रा लुगा धोइदिन आमालाई भ्याइनभ्याइ हुन्थ्यो। हामी तेल लगाउन मान्दैनथ्यौँ। आमा हाम्रो कपाल समातेर तान्नुहुन्थ्यो, हामीलाई रिस उठ्थ्यो। राति निदाएपछि बेग्लै आनन्द आइरहेको हुन्थ्यो। त्यो आनन्द आमाले गर्ने मालिसको थियो। आमा तोरीको तेल लगाइदिएर हामी सबै छोराछोरीको खुट्टा पालैपालो मालिस गरिदिनुहुन्थ्यो।’ 

आमाको त्यो मायाको अर्थ गहिरोसँग बुझ्न गीतालाई आफैँ आमा बन्नु पर्यो। 

उनकी आमा खेतीपातीमा आफ्नै भाकामा श्लोक गाउँथिन्। कवितात्मक शैलीमा बाँडेर खानु पर्छ भन्थिन् र घरको अन्नपात बाँड्थिन्। आमाको यही गुण गीतामा सर्यो, समयले उनलाई कवि भनेर चिनायो। 

इख र मेहनत मिसिएको समय
गीता पढाइमा तेज थिइन्। ९ कक्षासम्म गीता प्रथम हुन सकिनन्। उनका साथी बिनेश गणितमा तेज थिए, गीताको गणित कमजोर, त्यसैले उनले बिनेशलाई जित्न सकिनन्। त्यतिबेला ९ कक्षा पास गरेपछि हुनेखानेका छोराछोरी काठमाडौं ल्याउने प्रचलन थियो। बिनेश त्यतिबेलाका प्रधानपञ्चका छोरा। उनी सहर पसे। गीता १० कक्षाको टेस्ट परीक्षामा प्रथम भइन्। त्यो वर्ष उनका साथी जनक र उनको बराबर नम्बर आयो। दुवैलाई स्कुलले प्रथम भन्यो।

साथीले भने, ‘उसको बुबा त्यहाँ भएकोले पहिलो भएकी हो।’ गीतालाई त्यसपछि बुबाको नाम जोगाउने च्यालेन्ज थपियो। 

यतिबेसम्म उनका दिदीहरुको घरजम भैसकेको थियो। बुबा दमको रोगले थलिँदै गए। टेस्ट पास गरेपछि उनका साथी सबै ट्युसन पढ्न काठमाडौं पसे। गीता बुबाको अवस्थाका कारण पढ्न जान पाइनन्। गीतामा झन् धेरै जिम्मेवारी थपियो। दिनकै गाउँ–बेँसी गर्नुपर्‍यो। त्यही बेला गाउँको घरमा पालेको बाख्राले ४ वटा पाठा पाएको थियो। आमाको दूधले सबै पाठालाई पुग्दैनथ्यो। गीता बेँसी झर्थिन् र आमाले ठिक्क पारिदिएको गाईको दूध लिएर गाउँ जान्थिन्। पाठाहरुलाई चम्चाले दूध ख्वाउँथिन्। दिनको ३ घण्टाभन्दा धेरै समय गाउँबेँसी गर्दै जान्थ्यो। साथीसँग लिएको च्यालेन्ज छँदैथियो। साथीहरुसँग काठमाडौं पढ्न जान नपाएकोमा दुखिरहन्थ्यो उनको मन।

भन्छिन्, ‘त्यतिबेला संसारकै अभागी म नै रहेछु भन्ने भावना आउँथ्यो।’

गणितमा कमजोर गीतालाई डोटीका जोशी सरले गाउँमै ट्युसन पढाए। उनले बुझेर हिसाब गर्न सिकाए। घरको व्यवस्थापन, रोगले थलिएका बुबाको हेरचाह गर्दै गीतालाई एसएलसीमा राम्रो अंक ल्याएर पास हुनु थियो। उनले रातभरि मेहनत गरिन्। एक दिन गीता दुःखी हुँदै बाटोमा हिँडिरहेकी थिइन। बाटोमा भेटिन् बैसाखी टेकेर स्कुल जाँदै गरेका युवक। उनी चन्दा उठाएर बैनी पढाउन चाहन्थे। त्यसपछि करेन्टको झड्काले झैँ गीताको सोचाइ परिवर्तन भयो। त्यसपछि गीताले दुई घण्टा बढी मेहनत गर्ने भइन्।

त्यो वर्ष गीताले प्रथम श्रेणीमा एसएलसी पास गरिन्। जनक दोस्रो श्रेणीमा पास भए। गीताका बुबा निकै खुसी भए। उनले आफूले पढाउँदै गरेको स्कुलमा छोरीलाई राखिदिन आग्रह गरे। स्कुल व्यवस्थापनले मानेन। त्यसपछि गीताका बुबा गाउँको घर बेचेर बेँसी झरे।

अनि बिहे 
एसएलसीपछि गीता काठमाडौं पढ्न आइन्। काठमाडौं आउने अघिल्लो दिन बुबाले भने, ‘तिमीहरु सबै हिँडिहाल्यौ। आमालाई असाध्यै दुःख हुन्छ। म त आज हो कि भोलि भैसकेँ। आमालाई भेट्न बेलाबेला आउँदै गर्नू। आमाको सन्चोबिसन्चो सोध्नू।’ 

गीता अमिलो मन बोकेर काठमाडौं आइन्। बाटोमा झिगु खोला कट्यो, डाँफे खोला छुट्यो, रोगी बा र आमाको काख छुट्यो। गीता आँखाभरि आँसु बोकेर काठमाडौं झरिन्। दाजुले उनलाई पद्मकन्या कलेज भर्ना गरिदिए।

काठमाडौं आएकै वर्ष वैशाखमा यादव त्रिपाठी उनको हात माग्न बुबासँग पुगे। गीताका बुबाले सर्त राखे, ‘मेरी छोरीले पढ्न पाउनुपर्छ।’

यादवले स्वीकार गरे। गीता आफ्नो जिन्दगीको निर्णय गर्न सक्ने अवस्थामा थिइनन्। बुबा पनि छोरीको विवाह गरिदिएर आफ्नो उत्तरार्धको जीवन हलुका बनाउन चाहन्थे। बुबाको अवस्था हेरेर म अहिले विवाह गर्दिनँ भन्न सकिनन्। गीताले १७ लाग्दै गर्दा यादवलाई जीवनसाथीका रुपमा स्वीकार गरिन्।

आमासँग छुट्टिएर बिताएको बाल्यकाल। दिदीहरुले उठाएको जिम्मेवारी। व्यवहार नजानेकी गीतालाई बुहारीको जिम्मेवारी पुरा गर्न सजिलो थिएन। तर यादव उनको जिन्दगीमा श्रीमान् कम साथी ज्यादा भैदिए। यादवको मित्रवत् व्यवहारले हरेक असजिला यात्रा पनि गीताका लागि सहज बनिदिए। 

गीताले आईए दोस्रो वर्ष पढ्दै गर्दा बुबालाई रोगले च्याप्यो। उनकी आमा श्रीमानलाई लिएर काठमाडौं आइन्। वीर अस्पतालमा भर्ना गरियो। अस्पतालको बसाइ लम्बियो। गीता सम्झिन्छिन्, ‘त्यो बेला आमाले एउटा मात्रै चोलो ल्याउनु भएको रहेछ। रातो चोलोको कपडा ल्याएर आमाको नापो लिन लाग्दा आमाले ‘रातो ल्याएछौ। कति पो होला र यो लगाउने। भो पर्दैन सिलाउन’ भन्नुभयो। आमाले बुबा बाँच्नु हुन्न भन्ने कुरा पहिले नै पत्तो पाउनु भएको थियो।’ त्यसको केही दिनमा बुबाको मृत्यु भयो। बुबाको लास पशुपति पठाएर गीता आमा लिएर गाउँ फर्किन्। 

सिन्दुर पखालेपछिको आमाको रुपले गीताको निद्रा कतिदिन बिथोल्यो उनले हिसाब गरिनन्। उनकी आमा ४५ वर्षको उमेरमा विधवा भइन्। बुबा बितेपछि आमाका जिम्मेवारीका दायरा झन् फराकिला भए। आमालाई कमजोर हुने छुट थिएन। हुन त आमाका आफ्नै आँसुका कथा थिए होलान्। उनले आफ्नो आँसु देखाएर छोराछोरीलाई कमजोर बनाइनन्। बुबाको मृत्युले गीताका दाजुलाई भने कमजोर बनायो। उनले पढ्दापढ्दैको विज्ञान संकाय छोडेर कमर्स पढे। काठमाडौं छोडेर गाउँ फर्किए। झिगुखोला पारिको आजत मावीमा शिक्षक भए। आमाका सारथी भएर बसे। 

खुलेर कुरा गर्ने समय थिएन। भर्खर १७ टेक्दै गरेकी गीतालाई बिहे गरेपछि बच्चा भैहाल्छ भन्ने लाग्थ्यो। उनी आफैंसँग डराउँथिन्। बच्चा भैहाल्यो भने मेरो पढ्ने सपना सकिन्छ भन्ने सोचाइले उनलाई भित्रभित्रै कमजोर बनाउँथ्यो।

भन्छिन्, ‘त्यो समय मलाई सबैभन्दा मन नपर्ने चिज भनेकै आमा बन्नु थियो।’ पीरैपीरमा आइए पास गरिन्। त्यो खुसी सुनाउन बुबा थिएनन्।

छोराको जन्म
सुख–दुःखको तुलो कहिले तल कहिले माथि गर्दै जीवनको गति चलिरह्यो। बुबा बितेको पछिल्लो वर्ष गीताका ससुरा पनि बिते। गीताले बीए पास गरेपछि मात्रै आमा बन्ने योजना बनाइन्। उनीहरुको विवाह गरेको तेस्रो वर्ष देवरको विवाह भयो। त्यसको पछिल्लो वर्ष देवरको छोरो जन्मियो। त्यसपछि गीताकी सासूलाई पीर पर्न थाल्यो। 

छोराबुहारीको योजना उनलाई के थाहा! उनलाई त जेठो छोराको सन्तान नहुने भयो भन्ने पीरले खायो। उनी कहिले चामल बोकेर धामीकोमा त कहिले चिना बोकेर ज्यातिषकोमा जान थालिन्। सबैले बच्चा किन नभएको भनेर प्रश्न गर्न थाले। बीए अन्तिम वर्षको पढाइ चल्दै गर्दा गीताले पनि आमा बन्ने निर्णय गरिन्। 

तर, योजना बनाएर पनि गीताको गर्भ बसेन। गीतालाई मानसिक पीडा हुन थाल्यो। बच्चा भएकी बुहारी र उनलाई गर्ने व्यवहार फरक हुन थाल्यो। आफन्तले ‘बाँझी’ भनेर गरेको सम्बोधनले गीताको छाती भित्रभित्रै चिथोर्न थाल्यो। 

एकदिन् श्रीमान अफिस गएको मौका पारेर धामी देखाउन गइन्। धामीले ‘तेरो कोख मारिदिएको छ बच्चा हुँदैन’ भन्यो। उनले त्यसको एक हप्तासम्म खान सकिनन्। त्यसपछि उनले आफैँसँग अठोट गरिन्, ‘बरु मेरो बच्चा नहोस्, म धामीकोमा जान्नँ।’ उनी बच्चा नपाएकी आमाको जीवनका उतारचढाव देखाइएको फिल्म हेर्थिन्। फिल्मको पात्रसँग आफैंलाई दाँज्थिन् र रुन्थिन्। गीताका लागि यो समय निकै कष्टकर थियो।

अहिले सम्झिँदा लाग्छ, ‘त्यो उमेर बितिहालेको अवस्था थिएन। मैले त्यो समय त्यति धेरै तनाव नलिएको भए हुने रहेछ।’

त्यहीबेला घरबेटीले नराम्रो व्यवहार गरिन्। यादवले त्यसको केही दिनमै गीतालाई नयाँ बानेश्वरको नेपाल कमर्स क्याम्पस नजिकैको डेराबाट बानेश्वर हाइटमा सारे। त्यहीँ गीताको भेट अनुराधा कोइरालासँग भयो। भेटघाटकै क्रममा एकदिन गीताले आफ्नो पीडा सुनाइन। अनुराधाले डा. शुभद्रा कोइरालालाई देखाउन भनिन्। गीताले चेकअप गराएर औषधि खाइन्। औषधि खाएको ३ महिनापछि गीता गर्भवती भइन्। 

गर्भ बसेपछि गीतालाई शारीरिक रुपमा निकै कष्ट भयो। तर भित्री रुपमा भने उनलाई आफू सम्पन्न हुँदै गएको महसुस हुन्थ्यो। समय बित्दै जाँदा बच्चा धेरै चले पनि पीडा हुन्थ्यो। बच्चा चलमलाएन भने हुने पीडाको त सीमा नै थिएन। मन लागेको कुरा खान हुन्थेन। पढाइमा महत्वकांक्षी विद्यार्थी गीता बच्चाका लागि पढाइ छाड्न तयार भइन्।

भन्छिन्, ‘आमा बन्नु भनेको जिन्दगीका धेरै सपनालाई पाइतालामुनि राखेर हिँड्न सक्नु पनि त रहेछ।’

पद्मकन्याबाट बीए पास गरेकी गीतालाई त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स गर्ने सपना थियो। उनले भर्ना पनि गरेकी थिइन्। अर्थशास्त्रमा मास्टर्स गर्दै गर्दा गीताले तासको पत्ती पहिलो पटक चिनेकी थिइन्। त्यतिबेलासम्म तासलाई नराम्रो रुपमा व्याख्या गरिन्थ्यो। उनी पढाइप्रति उत्साहित थिइन्। तर ३ महिनापछि गीताले पढाइ छोडिन्। मनको कुरुसले थुप्रै सपना बुनिन्। 

जेठको पूर्णिमाको दिन थियो। गाउँमा सबै कुलदेवताको पूजामा सरिक थिए। गीतालाई त्यहीबेला प्रसव व्यथाले च्याप्यो। उनी टिचिङ अस्पताल भर्ना भइन्। गीतालाई असाध्यै लामो व्यथा लाग्यो। लेबर रुममा उनले आफ्नो जीवन माया मारिन्। हरेक सेकेण्ड सोच्थिन्, ‘मलाई केही भए पनि मेरो बच्चालाई केही नहोस्।’ उनलाई आफ्नोपनको अभाव महसुस भैरहेको थियो। त्यहीबेला उनकी साथी विजया केसीकी आमा भेटिइन्। उनी त्यही अस्पतालको प्रशासनमा काम गर्थिन्। टाउको मुसार्दै उनले भनिन्, ‘म छु पीर नगर।’ त्यतिबेला गीतालाई लाग्यो, ‘आफूलाई जन्मदिने मात्रै आमा हुने रहेनछन्।’

असाध्यै गाह्रो भएपछि गीताले बेहोसीमै नर्सलाई भनिन्, ‘सिस्टर मलाई केही भएपनि मेरो बच्चा चाहिँ बचाइदिनु है।’ त्यसपछि डाक्टर सिरियस भए। गीताको अप्रेसनको तयारी हुँदै थियो। गीताले नर्मल रुपमा छोरो जन्माइन्। उनका छोरा जन्मदा झण्डै चार केजीका थिए। गीतालाई रिकभर हुन समय लाग्यो।

आफैँ बिरामी
छोरो जन्मिएको तेस्रो दिन गीता घर फर्किन्। त्यतिबेला यादवले बालुवाटारमा एकतले आफ्नै घर बनाएका थिए। परिवारका सबै खुसी थिए। गीता भने दुखाइसँग जुघिरहेकी थिइन्। छोराको न्वारनको दिन उनलाई उच्च ज्वरो आयो। सबै बच्चासँग भुलिरहेका थिए। गीता भने आँखा हेर्न नसक्ने अवस्थामा पुगेकी थिइन्। त्यही बेला गीताकी आमाले रिसाउँदै भनिन्, ‘सबैलाई रमाइलो छ, यहाँ मेरी छोरी मर्न लागिसकी।’ त्यसपछि गीतालाई अस्पताल लगियो। डाक्टरले भने, ‘अलिकति ढिला भएको भए उहाँलाई बचाउन सकिँदैनथ्यो।’ 

उपचार सुरु गरेपछि आफन्तले भने ‘आमाले औषधि खाएपछि बच्चालाई दूध खुवाउनु हुँदैन।’ अस्पतालका बाथरुममा गीताले आफ्नो स्तन निचोरेर दूध फालिन्। दूधभन्दा धेरै त आँसु खसालिन्। ३ दिनपछि डाक्टरले थाहा पाए। केही हुँदैन भनेपछि गीताले छोरालाई दूध ख्वाइन्। 

गीताको निप्पल निकै सानो थियो। उनका छोरा आमाको दूध चुस्न जान्दैनथे। बाहिरबाट प्लास्टिकको निप्पल लगाएर गीताले झण्डै एक महिना छोरालाई दूध खुवाइन्। एकदिन छोराले प्लास्टिकको निप्पलबिनै दूध खाए। गीताको शरीरले गरेको अनुभूति व्यक्त गर्ने शब्द उनीसँग छैन।

भन्छिन्, ‘आमाको शरीर त एउटा प्रयोगशाला जस्तो न रहेछ। दुःख कति हो कति, तर आमा त सबै कुरा भोग्न तयार हुने।’

छोरो बिरामी
गीताका छोरा ११ महिना लाग्दै थिए। एक्कासि उच्च ज्वरो आयो। त्यो समय नाम चलेका सबै डाक्टरलाई देखाइन्। छोरालाई निको भएन। घरभरि औषधि मात्रै देखिन्थे। छोरालाई २० को उन्नाइस भएन। १ महिनासम्म छोराको रोग पत्ता लागेन। यो एक महिनासम्म उनले निको पार्न हरेक उपाय गरिन्। त्यही समय डा. मणिकरत्नकहाँ लैजान आफन्तले सुझाए। गीता दम्पती छोरो बोकेर बानेश्वर हाइट पुग्यो। उनले सबै औषधि रोकेर सिटामोल मात्रै खान भने। 

उनले एउटा चिठी लेखिदिए। त्यो चिठी कान्ति बाल अस्पतालका डा. रणेन्द्रप्रकाश श्रेष्ठको नाममा थियो। भने, ‘बाबुलाई धेरै गाह्रो भयो भने जानु र यो चिठी दिनू।’ त्यही रात छोरालाई निकै गाह्रो भयो। छोरो लिएर अस्पताल गए। आकस्मिक कक्षामा भर्ना गरे। एनले खोजेका डाक्टर अस्पतालमा थिएनन्। गीता श्रीमानले लिएको पीर देखेर श्रीमानसँग कुरा गर्नै नसक्ने अवस्थामा थिइन्। उनले मानेका एकजना दाजु थिए, उनैलाई भनिन्, ‘सुरेन्द्र दाइ आज केही गर्न सकियो भने सकिएला, नत्र बाबुलाई बचाउन सकिँदैन जस्तो छ।’ गीताको पीडा देखेर सुरेन्द्रले डाक्टरको नम्बर खोजेर फोन गरे। त्यसपछि डा. रणेन्द्रको निर्देशनमा उपचार सुरु भयो। 

बच्चाको रोग पत्ता लाग्यो। उनलाई मेनेन्जाइटिस भएको रहेछ। कान्तिमा उनको एक महिना उपचार चल्यो। यो एक महिनाको बीचमा गीताले कति पटक माया मारिन त्यसको हिसाब छैन। उनी क्षणमै बचाउन सकिँदैन भन्ने अवस्थामा पुग्थिन्। क्षणमै सबै ठिक भैसक्यो भन्ने हुन्थ्यो। १ महिनापछि उनी छोरो निको पारेर घर फर्किन्।

दुई वर्षपछि पढाइमा
गीता सुत्केरी भएपछि दिदी कुर्न आएकी कान्छी बहिनी र उनका देवरको माया बस्यो। गीताले देवर र बहिनीको माया छुटाउन चाहिनन्। उनीहरुको विवाह गरिदिइन्। घरमा देउरानी भएर बहिनी आएपछि गीतालाई सहज भयो। त्यसपछि उनले पद्मकन्यामै नेपालीमा मास्टर्स सुरु गरिन्। छोराकै कारणले आफ्नो माया बसेकोले पनि होला सानीमा छोरालाई औधि माया गर्थिन्। काका पनि भतिज भनेपछि हुरुक्कै हुन्थे। गीतालाई छोरो छोडेर पढ्न जान सहज भयो। 

गीता पहिलो कक्षा आधा छुटेपछि कलेज पुग्थिन्। अन्तिम कक्षा छोडेर घर आउँथिन् र कान्छी बहिनीलाई पढ्न पठाउँथिन्। यो समय यादवले छोराको हेरचाह गरे। गीता भन्छिन्, ‘उहाँ दुई वर्षपछिको त मेरो छोराको आमा पनि हो।’ २०५७ सालको ब्याचमा गीताले पीके क्याम्पसमा गोल्ड मेडल पाइन्। नेपालीमा मास्टर्स गरेपछि गीताको कविता लेखन झन् बलियो बन्दै गयो। 

छोरा हुर्किँदै गए। पढाइ र अतिरिक्त क्रियाकलाप दुवैतिर सक्रिय छोराले राम्रो अंक सहित एसएलसी सके। गीताका छोरा समीपले पाटन कलेजमा नाम निकाले र डाक्टरी पढ्न थाले।

अनि दुःखद मोड
समीप कलेजका राम्रो विद्यार्थी थिए। उनका गुरुहरु सपना देख्थे, ‘समीप एकदिन स्वास्थ्य मन्त्रालयको डाइरेक्टर पदमा पुग्यो भने मेरो लागि अनौठो हुने छैन।’ यही क्रममा गीताका श्रीमानलाई क्यान्सर भएको थाहा भयो। बुबा बिरामी परेपछि समीपले पढाइ बिगारे। तेस्रो वर्षको अध्ययन हुँदै गर्दा उनले चिकित्साशास्त्र मेरो लागि होइन भन्ने महसुस गरे। घरमा बिरामी बुबा, प्राक्टिकलमा भेटिने बिरामी, उनको चिकित्साप्रति उनको मन मर्दै गएको थियो। चौथो वर्ष पढ्दै गर्दा उनले पढाइ छाडे।

हिजोआज उनको रुचि संगीतमा छ। साथीहरुसँग म्युजिक कन्सर्ट गरिरहेका छन्। गीताले संगीतमा पनि छोराको भविष्य उज्वल देखेकी छिन्। यादव भने पीर गरिरहन्छन्। उनलाई लाग्दो हो, ‘मेरो जीवनको भर छैन। छोराको भविष्य के होला?’ बुबा आमाको पीर देखेर छोरा भन्छन्, ‘टेन्सन नगर्नु।’ हरेक कुरामा तेज उनका छोरा बुबा–आमालाई आश्वस्त पार्न खोज्छन्। उनी कविता लेख्छन्, गीत गाउँछन्। सबैभन्दा ठूलो कुरा उनी खुसी छन्।

गीतालाई सम्झदै जाँदा लाग्छ, ‘जीवन भन्नु पनि त दुःखको पहाड रहेछ।’ देख्दा सब ठिकठाक जस्तै देखिने र पनि ठिकठाक नहुने रहेछ। जीवनका कयौं खुसीहरु देखाउनै नपाई बुबाको मृत्यु भयो। गीताको मनमा त्यो अभाव सधैं खड्किरहन्छ। आमाले ४५ वर्षको उमेरदेखि विधवा जिन्दगी बाँचिन्। उनकी आमा पेटको क्यान्सरले बितिन्। श्रीमानको जीवनको टुंगो छैन। 

गीताले नेपालीमा एमफिल गरिन्। आरआर कलेमा प्राध्यापकका रुपमा नाम निकालिन्। कवि, समालोचकका रुपमा आफूलाई स्थापित गरेकी गीताको यो पहिचानमा उनको मेहनतभन्दा ज्यादा यादवको माया र सहयोगको कथा मिसिएर बग्छ। एकान्तमा हिजोआज यादव आफ्नो जीवनभन्दा धेरै छोरा र श्रीमतीको भोलि सम्झिएर टोलाइरहेका हुन्छन्। श्रीमानको यो दुखाइले गीतालाई नदुखेको कुनै ठाउँ छैन। तर उनलाई जीवनको आखिरी पलसम्म श्रीमानको हिम्मत बनेर उभिनु छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .