म्यागेजिन


यी १९ जिल्ला, जसले ०३६ साले जनमत संग्रहमा बहुदललाई भोट हाले

गण्डकीमा बहुदलको पक्षमा उभिएको एक मात्र जिल्ला कास्की
यी १९ जिल्ला, जसले ०३६ साले जनमत संग्रहमा बहुदललाई भोट हाले

२०३६ साल जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे


वाशुदेव मिश्र
मंसिर ३ , पोखरा

२०३६ साल जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे। घोषणामा राजाले भनेका थिए, ‘देशवासीहरूले के कस्तो परिवर्तनको चाहना गरेका छन्, सो कुरा स्पष्ट रूपमा बुझी उचित कदम चाल्नको लागि हामीले नेपाल अधिराज्यभर बालिग मताधिकारको आधारमा सम्पूर्ण नेपालीले गोप्य जनमत लिने व्यवस्था गरिने कुराको घोषणा गरिबक्सेका छौँ। यस्तो राष्ट्रिय जनमत लिइँदा दुई मुलभूत प्रश्नहरू गरिने छन्। पहिलो, के हालकै पञ्चायत व्यवस्था कायम राखी त्यसमा सामयिक सुधार गर्दै जाने? अथवा, त्यसको बदला बहुदलीय शासन व्यवस्था स्थापना गर्ने?’

विद्यार्थी आन्दोलनको बलमा जनमत संग्रह घोषणापछि बहुदलवादीहरु उत्साहित भए। तीमध्ये एक थिए, पूर्वसभामुख तारानाथ रानाभाट। नेपाली कांग्रेसको राजनीतिमा होमिएका तारानाथका अनुसार घोषणासँगै बहुदलको पक्षमा जोडतोडका साथ प्रचार थालियो। कास्कीमा कांग्रेसी नेता तथा पूर्वमन्त्री मीनबहादुर गुरुङ, धीरबहादुर गुरुङ, तारानाथका पिता नारायणदत्त रानाभाटलगायतका नेताहरुले बहुदल प्रचारको नेतृत्व लिए। तारानाथसहितका युवाहरु दोस्रो तहमा उभिए।

‘प्रजातन्त्रका सेनानीहरुले प्रचारको नेतृत्व गर्नुभएको थियो, हामी युवाहरु नारा लगाउने र गाउँगाउँ पुग्ने काममा खटिएका थियौं,’ तारानाथले सम्झँदै भने, ‘प्रचारमा जाँदा हामी निलो अर्थात् बहुदललाई भोट हाल्न भन्थ्यौँ, अहिलेको चुनावजस्तो भोजभतेर हुँदैनथ्यो। जुन गाउँमा जान्थ्यौँ, त्यही गाउँलेले दिएको ढिँडो–गुन्द्रुक खाएर प्रचार गथ्र्यौँ।’

प्रचार पनि भद्र नै हुन्थ्यो रे। उनी भन्छन्, ‘पञ्चायतलाई पनि शत्रु भन्दैनथ्यौँ, पञ्चायतले जनताको अधिकार खोस्यो, केही व्यक्तिले हालिमुहाली चलाए भन्ने कुरा सुनाउँथ्यौँ। पञ्चायतको पक्षमा देशव्यापी संयन्त्र थियो। वडादेखि जिल्लासम्म राज्यको सुविधा लिएका पञ्चहरु थिए। तर, हाम्रो कुरा सुनेपछि पञ्चायतमै रहेकाले हामीलाई सहयोग गरे। केही पञ्च त राजीनामा दिएर बहुदलको पक्षमा सडकमै आए।’ 

जनमत संग्रहको घोषणाले खुलापन ल्याएको थियो। पञ्चहरु विभाजित थिए भने मण्डले (नेपाल राष्ट्रवादी विद्यार्थी मण्डल) रक्षात्मक बनेका थिए। तारानाथका अनुसार उनीहरुले त्यो बेला कास्कीका सबैजसो गाउँमा पञ्चायतविरुद्ध जेहाद छेडे। परिणाम के भयो भने २०३७ साल वैशाख २० गते भएको मतदानमा गण्डकीका ६ जिल्लामध्ये कास्कीले बहुदलीय व्यवस्थाको पक्षमा मत जाहेर गरिदियो। 

मतदानमा सहभागी ७५ हजार ३६० जनामध्ये बहुदलको पक्षमा ३९ हजार ७६९ र पञ्चायतको पक्षमा ३० हजार १२ जना उभिए। ५ हजार ५७९ मत बदर भयो। कास्कीमा १ लाख ११ हजार २२१ मतदाता थिए। कास्कीले बहुदलको पक्षमा मत जाहेर गरे पनि सो चुनाव पञ्चायतकै पक्षमा गयो।

 इतिहासकार गृष्मबहादुर देवकोटालिखित ‘नेपालको राजनीतिक दर्पण’का अनुसार सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थामध्ये कुनै एक रोज्ने विकल्प दिइएको थियो। पञ्चायतको चुनावी रङ पहेँलो र बहुदलको निलो भएकाले निलो कि पहेँलो भन्ने थेगो खुबै चलेको थियो। 

७१ लाख ९२ हजार ४५१ मतदातामध्ये चुनावमा ४८ लाख १३ हजार ४८६ (६६.९२५) मतदाता सहभागी भएकोमा ३ लाख ७२ हजार ६९ (७.६३५) बदर भएको जानकारी गराइएको थियो। अन्तिम नतिजा अनुसार सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा कुल २४ लाख ३३ हजार ४५२ (५४.७९५) र बहुदलीय शासन व्यवस्थाको पक्षमा कुल २० लाख ७ हजार ९६५ (४५.२१५) मत खसेको थियो। 

७५ जिल्लामध्ये १९ जिल्लाले बहुदलको पक्षमा मत जाहेर गरेका थिए। बहुदलको पक्षमा बढी मत आएका जिल्लाहरूमा मोरङ, सुनसरी, सिरहा, उदयपुर, सर्लाही, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, रौतहट, कास्की, रूपन्देही, पाल्पा, दाङ, बर्दिया, सुर्खेत, डोटी, कञ्चनपुर र डडेल्धुरा थिए।

तत्कालीन समयमा राष्ट्रिय समाचार समितिका संवाददाता रहेका अग्रज पत्रकार नारायण कार्कीका अनुसार पोखरा आएर बीपीले ‘यो चुनाव प्रजातन्त्र र तानशाहीबीचको चुनाव भएकाले बहुदलको पक्षमा मत जाहेर गर्न आग्रह गर्दै बहुदलले कसैलाई हेपेर शासन गर्दैन’ भन्ने सन्देश प्रवाह गरेका थिए। 

उता, प्रधानमन्त्री सूर्यबहादुर थापा स्वयं पञ्चायतलाई जिताउन देश दौडाहामा निस्केका थिए। प्रधानमन्त्री सूर्यबहादुर थापा चुनावी आमसभामा भाग लिन पर्वत सदरमुकाम कुस्मा पुगे। राससले कार्कीलाई प्रधानमन्त्री सहभागी कार्यक्रमको रिपोर्टिङ जिम्मा दियो। कार्की हिँडेरै कुस्मा पुगे। पुसको महिना। पर्वतमा होटल नै थिएनन्। भएको एउटा होटल अञ्चलाधीशले बुक गरेका रहेछन्। अञ्चलाधीश नगेन्द्रप्रसाद रिजाललाई अनुरोध गरेर कार्कीले पनि जसोतसो त्यही होटलमा बस्ने प्रबन्ध मिलाए। 

‘पहेँलो चिन्ह भएका पञ्च र सूर्यबहादुरले धाँधली गरे, तराईका जंगल सखाप पारियो भन्ने हल्ला थियो,’ कार्कीले भने, ‘सूर्यबहादुरले पञ्चायती व्यवस्था माटो सुहाउँदो व्यवस्था भएको र बहुलदवादीहरु विदेशीको बुइ चढेका राष्ट्रघाती भएको आरोप लगाए।’

जनमत संग्रहमा बहुदलले पराजय भोगे पनि त्यसले खुलापन ल्याएको र पञ्चहरु पनि दुई धारमा विभाजित बनेको उनको ठम्याइ छ। 

बहुदलको पक्षमा गण्डकीको कास्की मात्रै
नारायण कार्की रिपोर्टिङमा गएका तथा तत्कालीन अवस्थामा धौलागिरी अञ्चलमा रहेको पर्वतमा त्यो बेला ८० हजार १६५ मतदाता थिए। त्यहाँ ४९ हजार ९०४ मत खस्दा २ हजार १२८ मत बदर भयो। निर्दलीय पञ्चायतको पक्षमा ३० हजार ८३१ र बहुदलको पक्षमा १६ हजार ९४५ मत खस्यो।

निर्वाचन परिणाम अनुसार जनमत संग्रहतामा गोरखामा कुल मतदाता १ लाख १४ हजार ६८६ रहेकोमा ७२ हजार ९८० मत खसेको थियो। जसमध्ये ४ हजार ८५७ मत बदर हुँदा पञ्चायतको पक्षमा ४३ हजार ५६७ र बहुदल २४ हजार ५५६ मत जाहेर भएको थियो। तनहुँमा कुल मतदाता १ लाख १० हजार ५२ रहेकोमा ६८ हजार ७८३ मत खसेको र ६ हजार ३८४ मत बदर भएको थियो। सोमध्ये पञ्चायतको पक्षमा २४ हजार १५६ र बहुदलको पक्षमा ३८ हजार २४३ मत जाहेर भएको थियो। 

लमजुङमा ७६ हजार ८९२ मतदाता हुँदा ५२ हजार ५६७ जनाले मतदानमा सहभागिता जनाए भने ३ हजार ७०८ मत बदर भयो। सदरमध्ये पञ्चायतको पक्षमा २४ हजार ९३९ र बहदुलको पक्षमा २३ हजार ९५० मत खस्यो। १ लाख ४८ हजार ९३९ मतदाता रहेको तथा हाल शिक्षित जिल्ला भनेर चिनिने स्याङ्जाले बहुदलको पक्षमा ४१ हजार ९४१ मत जाहेर गर्यो। पञ्चायतको पक्षमा ४६ हजार २०५ मत खस्दा त्यहाँ १ लाख ४८ हजार ९३९ जना मतदाता थिए। तीमध्ये ९६ हजार ८७६ जना मतदानमा सरिक भएका थिए। ८ हजार ६३२ मत बदर भएको थियो। 

मनाङमा त्यो बेला ३ हजार ९६० मतदाता थिए। त्यहाँ ३ हजार ५७१ मत नै खसेको थियो। त्यहाँ बहुदलको पक्षमा ४९३ मतमात्र खस्यो, निर्दलीय पञ्चायतले ३ हजार ४३ मत पायो। त्यहाँ ३५ मतमात्र बदर भएको थियो। 

४७ हजार ७५५ मतदाता भएको म्याग्दीमा ३३ हजार २३४ मत खस्दा १ हजार १४९ मत बदर हुनपुग्यो। सदरमध्ये पञ्चायतको पक्षमा २१ हजार ३६ र बहुदल ११ हजार ४९ मत जाहेर भयो। 

७ हजार ९२४ जनसंख्या रहेको मुस्ताङले पनि पञ्चायतलाई भरथेग गर्यो। कुल ६ हजार ८९९ मत खसेकोमा पञ्चायतको पक्षमा ५ हजार ८९८ र बहुदलको पक्षमा ६८० मत जाहेर भयो। ३२१ मत बदर भए। 

कम्युनिस्ट प्रभाव रहेको बागलुङमा १ लाख १३ हजार ४६ मतदाता हुँदा ७२ हजार २८७ जनाले मात्र निर्वाचनमा सहभागिता जनाए। तीमध्ये ५ हजार ७१२ मत बदर भयो भने पञ्चायतको पक्षमा ४५ हजार ५९ र बहुदलको पक्षमा २१ हजार ५१६ मत खस्यो। मुस्ताङका नरबहादुर शेरचन त्यो बेला सहायक सञ्चारमन्त्री थिए।

तत्कालीन नवलपरासीले पनि निर्दलीय व्यवस्थालाई नै मतदान गरेको थियो। १ लाख २८ हजार ४५६ मतदाता रहको नवलपुरमा ९४ हजार २७६ मत खसेको थियो भने तीमध्ये ७ हजार १५९ मत बदर भएका थिए। सदरमध्ये पञ्चायतको पक्षमा ४७ हजार २७५ र बहुदलको पक्षमा ३९ हजार ८४२ मत रहेको थियो। 

सधैँ बागी काठमाडौं 
देशको राजधानी रहेको काठमाडौँ खाल्डोले सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थालाई सोझै अस्वीकार गरिदियो। काठमाडौँमा बहुदलको पक्षमा ८३ हजार ८८४ र निर्दलको पक्षमा ६८ हजार १४० मत खस्दा ७ हजार ९५६ मत बदर भएको थियो भने ललितपुरमा बहुदललाई ३९ हजार ४३ मत र निर्दलको पक्षमा २४ हजार ४७२ मत प्राप्त गरेको थियो। त्यो बेला काठमाडौंमा २ लाख १९ हजार ९६८ मतदाता थिए। ललितपुरमा ३ हजार ६३१ मत बदर भएको थियो। 

भक्तपुरले बहुदलको पक्षमा ३६ हजार ९२८ र निर्दलको पक्षमा २१ हजार ३४६ मत जाहेर गरेको थियो। भक्तपुरमा ७६ हजार ११६ मतदाता थिए भने ६१ हजार ८८ मत खस्दा ५८ हजार २७४ मत सदर भएको थियो। काठमाडौँमा सक्रिय बहुदल (संसदीय व्यवस्था) पक्षीय नागरिक समूहको ठूलो योगदान थियो। 

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला बहुदलको पक्षमा उभिँदा कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, सुर्खेतले साथ दिए। पूर्वको झापा भने त्यो बेला निर्दलको पक्षमा देखियो। झापामा १ लाख ३७ हजार २५६ मा १० हजार ७२१ मत बदर भएको थियो भने सदरमध्ये निर्दलीय पञ्चायतको पक्षमा ७२ हजार ३३७ र बहुदलको पक्षमा ५४ हजार १९८ मत रहेको थियो। इलाम,पाँचथर र ताप्लेजुङले पनि पञ्चायतलाई नै मत हालेको थियो।

यता बीपी कोइरालाको मोरङमा बहुदलको पक्षमा ७८ हजार ३८२ मत खस्दा निर्दलीय व्यवस्थाको पक्षमा ३२ हजार ५८९ मत खसेको थियो। सुनसरीमा बहुदलले ५८ हजार ६९६ र निर्दलको पक्षमा ५४ हजार ८५३ तथा सिर्हामा बहुदललाई ९० हजार ६५ र निर्दललाई ५० हजार ५४३ मत खसेको थियो। जबकि, सिरहामा १५ हजार ६५२ मत बदर भएको थियो। बदर गरिएका अधिकांश मतहरु बहुदल पक्षधरका थिए। 

विद्रोही रोल्पा–रुकुमबाट पनि पञ्चायत नै विजयी 
पछिल्लो समय माओवादीको उद्गमस्थल मानिएका रुकुम, रोल्पालगायतका जिल्लाहरुले जनमत संग्रहमा निर्दलीय पञ्चायतलाई भोट हालेका थिए। जनमत संग्रहताका रुकुममा ६२ हजार ४५३ मतदातामध्ये निर्वाचनमा ३५ हजार ४९६ ले  भाग लिएका थिए। ६ हजार ९९ मत बदर हुँदा पञ्चायतको पक्षमा १९ हजार ९१९ र बहुदलको पक्षमा ९ हजार ४७८ मत खसेको थियो। 

रोल्पामा ८५ हजार १८७ मतदाता रहेकोमा ४४ हजार ९९० मत खसेको थियो भने ३ हजार ५९९ मत बदर भएको थियो। त्यहाँ पञ्चायतको पक्षमा २८ हजार ९८३ र बहुदलको पक्षमा १२ हजार ४०८ मत जाहेर भएको थियो। 

अर्को कम्युनिस्ट प्रभाव क्षेत्र प्युठानमा ७७ हजार ३०८ मतदाता रहेकोमा खसेको ४४ हजार ९३० मत खस्यो भने  ३ हजार ५९९ बदर भयो। त्यहाँ पञ्चायतको पक्षमा ३० हजार २४५ र बहुदलको पक्षमा  १२ हजार ४०८ मत जाहेर भएको थियो। 

मंसिर ३, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad