ad ad

म्यागेजिन


कृति भट्टराईको मातृत्व अनुभव : बच्चा जन्मेलगत्तै मुटुरोग छ भन्दा हरेस खाएँ

कृति भट्टराईको मातृत्व अनुभव : बच्चा जन्मेलगत्तै मुटुरोग छ भन्दा हरेस खाएँ

राधिका अधिकारी
भदौ १२, २०७९ आइतबार ८:२६, काठमाडौँ

बोल्दै जाँदा टिलपिल हुन्थे आँखा। उनी टेबलमा रहेको टिस्यु पेपरले झ्याप्प छोप्थिन् र रोकिन्थिन केहीबेर। आँसुले छपक्क भिजेको टिस्यु टेबलमै राखेर भन्थिन्, ‘आमा नभएपछि त माइती पनि नहुने रहेछ। केही नभने पनि सबै बुझ्ने संसारमा आमा मात्र हुनेरहेछन्। अरूको लाख मायाले पनि आमाको काखको अभाव पुर्न सक्दैन।’

कृति थुप्रै कुरा बिर्सिन चाहन्छिन्। तर, बारम्बार मन गएर भुल्न चाहेकै ठाउँमा ठोक्किरहन्छ र दुख्छ। तर, दुःख अभिव्यक्त गर्ने बानी छैन उनको। एक्लै पाए आँसु झार्छिन्। भिड भए मुस्काराउँछिन् र भित्रै दबाउँछिन्। आँसु झर्दाजस्तो हल्का हुँदैन मुस्कानभित्र अल्झिएको मनको गाँठो।  

बाल्यकालमै खस्यो जीवनको एउटा रङ
शिक्षक बाबु, आमा सिनासकी जागिरे। कामको सिलसिलामा आमा देशका विभिन्न क्षेत्रमा जान्थिन्। कृतिले बाल्यकालमै देख्न पाइन् देशका थुप्रै भू–भाग। पुल्चोकको नवप्रभात स्कुलबाट औपचारिक शिक्षा सुरु गरेकी कृतिको विद्यार्थी जीवन पनि निकै सुन्दर थियो। तर ८ कक्षा पढ्दै गर्दा खस्यो कृतिको जीवनबाट एउटा सुन्दर रङ। उनका बुबाको मृत्यु भयो। उनको र आमो जीवन उजाडियो। कक्षामा सधैँ प्रथम हुने कृति त्यसपछि पहिलो पोजिसनमा आउन सकिनन्। 

कृतिकी आमा छोरीलाई सक्षम बनाउनु पर्छ भनिरहन्थिन्। कृतिलाई लागिरहन्थ्यो ‘आमा किन छोरीको सक्षमताको सपना देख्नुहुन्छ होला!’ बुबाको मृत्युपछि कृतिले बल्ल बुझिन् आमाको भनाइको अर्थ। आमा श्रीमानको १३ दिने काममा थिइन्। कृतिका आफन्त भनिरहेका थिए, ‘जानेदेखि कृतिको बिहे गरिदिए ढुक्क हुन्थ्यो कृतिकी आमालाई। लोग्नेबिना कसरी सम्हाल्छे दुई छोराछोरी।’ 

मास्टर्स गरेकी उनकी आमाको आम्दानी पनि राम्रो थियो। तर आफन्तले नै उनकी आमामाथि अविश्वास गरिरहेका थिए। त्यही बेला कृतिले महसुस गरिन् समाजले गरिरहेको महिला र पुरुषबीचको विभेद। 

कृतिलाई बुबाको मृत्युले कमजोर बनायो। उनकी आमालाई भने कमजोर हुने छुट थिएन। उनले भनिन्, ‘तिम्रो बुबा नभए पनि म छु। म बाँचुञ्जेल तिमीहरुका रहर अधुरा रहन दिन्नँ।’ कृतिलाई पनि लाग्यो ‘बुबा नभए पनि आमा त सँगै हुनुहुन्छ।’ उनलाई बुबाको मृत्युको घाउलाई सामान्य ठान्न दुई वर्ष लाग्यो। 

रहरले समातेको फिल्मको बाटो
त्यो समय नेपाली फिल्मको क्रेज नेपाली हलले धान्न नसक्ने किसिमको थियो। उनले ७ कक्षामा पढ्दाताका दर्पण छायाँ, आफ्नो मान्छे लगायतका फिल्मले प्रदर्शनको ५१ दिन मनाइरहेका थिए। कृतिको मन त्यही बेलाबाट फिल्ममा बसेको थियो। पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल कृतिले बालक्लबको नेतृत्व गर्दै थुप्रै सडक नाटकमा अभिनय गरेकी थिइन्। रेडियो नाटकमा खेलेकी थिइन्।

फिल्म हेर्न हल पुग्नेहरुले पनि फिल्म क्षेत्र राम्रो मान्दैनथे। पर्दामा अरुका छोराछोरीको अभिनय हेरेर जिब्रो पड्काउने समाज आफ्ना छोराछोरीलाई फिल्म उद्योगमा पठाउन चाहँदैनथ्यो। कृतिकी आमाको पनि आफ्नो छोरीलाई पर्दामा हेर्ने चाहना थिएन।  विशेष गरेर छोरीहरुले फिल्मको सपना देख्नै पाउँदैनथे। देखेपनि सुनाउँन हजार पटक सोच्नु पर्ने अवस्था थियो। कृतिले त्यही समय फिल्मकी नायिका बन्ने सपना देखिन्। सपना पुरा गर्ने अठोट गरिन्। 

एसएलसीपछि कृति नृत्य कक्षा भर्ना भइन्। त्यही बेला उनीमाथि फिल्म विश्वासका लागि उज्वल घिमिरेले भरोसा गरे। उनलाई लाग्यो, ‘अरु अवसर खोजिरहेका छन्, मलाई खोज्दै अवसर आएको छ। यो अवसरलाई किन नसमातौँ!’ त्यतिबेला दिलीप रायमाझीको बेग्लै आकर्षण थियो। उनलाई उज्वलले पर्दामा दिलीपको जोडीका रुपमा सोलो हिरोइनको अफर गरेका थिए। उनले यो अवसर गुमाउनै चाहिनन्। १६÷१७ वर्षकी छोरीको जिद्दीको अगाडि उनकी आमाको पनि केही लागेन। त्यसपछि कृतिले केही समय फिल्म उद्योगमा बिताइन्। 

छोटो समयमा कृतिले केही फिल्म, केही टेलिफिल्ममा काम गरिन्। उनले दर्शकको मन जितेकै थिइन्। उद्योगमा लागेको छोटो समयमा यहाँभित्रका अप्ठ्यारा, राम्रा, नराम्रा सबै पक्ष बुझिन्। पर्दामा देखिएको सहज अभिनयका लागि कलाकारले बाँच्ने असहज जीवनका बारेमा कृतिलाई राम्रोसँग थाहा छ। त्यसैले उनले फिल्म छाडेपनि कलाकार र उद्योगलाई माया र सम्मान गर्छिन्।

करिअर उकालो लाग्दै गर्दा कृतिको जीवनमा थुप्रै उतार–चढाव आए। यही बेला आमाको मृत्यु भयो। उनकी आमाले उनकै पिठ्युँमा प्राण त्याग गरिन्। दमको रोगी आमालाई सामान्य उपचारका लागि आफ्नो स्कुटरमा लिएर अस्पताल निस्किएकी कृतिले उनलाई जीवितै अस्पताल पुर्याउन पाइनन्। स्कुटरको पछाडि बसेर बोलिरहेकी आमाले एक्कासि ‘छोरी अब गुड बाइ’ भनिन् र अड्कियो आमाको बोली। त्यसपछि उनकी आमा कहिल्यै बोलिनन्। आमाको यो अपत्यारिलो मृत्युले कृतिको जीवन झन् धेरै असहज बनायो। 

आमाको मृत्युपछि कृतिलाई आफ्नो जिन्दगी नै ठप्प भएको जस्तो लाग्यो। उनी एक्ली भइन्। त्यतिबेला उनका भाइ मलेसिया गएका थिए। भर्खर आफ्नो जीवनको एउटा अध्यायमा पूर्णविराम लगाएर बसेकी उनले जीवनको सहज बाटो देखिनन्। भन्छिन्, ‘त्यो समय म डिप्रेसनको सिकार भएँ।’ तर उनले काम छोडिनन्। सञ्चार क्षेत्रमा क्रियाशील कृतिले आफ्नो सम्पूर्ण समय काममा लगाइन्। उनका साथीहरुले साथ दिए। लगभग ६ महिनापछि कृतिले आफूलाई निको पारिन्।

अनि विवाह...
जीवनको एक मोडमा भेटिए रोहित पौडेल। सामाजिक कार्यमा सक्रिय रोहित र कृति राम्रो साथी थिए। उनीहरुका आपसी साथी पनि प्रशस्तै थिए। लामो समयको मित्रतापछि  उनीहरुले २०७६ असारमा विवाह गरे।

कृतिलाई सानैबाट केटाकेटी निकै मन पर्थ्यो। उनको घर भाडामा लगाएको थियो। भाडामा बस्ने थुप्रै भाडावालका केटाकेटी त्यहीँ हुर्किए। ती केटाकेटीलाई उनले थुप्रै पटक आफूसँग सुताएकी छन्। केटाकेटीको हँसाइ, रुवाइ, हिँडाइ सबै कुराले उनलाई लोभ्याउथ्यो। उनलाई आमा बन्ने रहर थियो। 

विवाह गरेको साढे २ वर्षमा कृति आमा बन्ने भइन्। आमा बन्ने पक्का भएको दिन उनी निकै खुसी थिइन्। महिनावारी रोकिएको थियो। जाँच गरिन्। रिपोर्ट पोजेटिभ आयो। कृतिले रोहितलाई फोन गरेर खबर सुनाइन्। कृतिलाई लाग्यो, ‘अब मेरो जीवन परिवर्तन हुँदैछ।’ 

गर्भावस्थाका बारेमा भनिँदै आएका जस्ता अप्ठ्यारा परिस्थितिको कृतिले सामना गर्नु परेन।  वाक्वाकी लागेन उनलाई उनलाई त झन् धेरै भोक लाग्यो। उनले खाएको देखेर सासू पनि दंग थिइन्। अघिपछि खाऊ भनेर कर गर्दा पनि नखाने कृति गर्भावस्थाको समयमा भने सासूलाई ‘के छ आमा खानेकुरा’ भनिरहन्थिन्। भन्छिन्, ‘बच्चा बसेको सुरुसुरुको समयमा मैले दिनको ५ पटकसम्म खाना खाएँ।’ 

गर्भावस्थाको अन्तिमका केही समय भने उनका लागि कष्टकर भए। कृतिलाई एक्लै बसेर रुन मन लाथ्यो। जिउ सुनिने, निदाउन नसक्ने, खान मन नलाग्ने समस्या देखियो। यही समय कृति आमालाई खुब सम्झिन्थिन्। पेटमा रहेको बच्चाको डेलिभरीका बारेमा पनि अत्याधिक सोचाइ आउँथ्यो। तर अप्ठ्यारोमा पनि कृतिले अफिस छोडिनन्। भन्छिन्, ‘काम छोडेर बस्दा सोच्नका लागि झन धेरै समय हुन्छ। त्यसैले काम छोड्छु भनेर सोचिनँ।’ 

गर्भावस्थाको पाँचौँ महिनामा कृतिलाई कोभिड भयो। उनलाई आफ्नोभन्दा पेटको बच्चाको पीर भयो। डाक्टरले सिटामोल खानु हुन्छ, खाऊ भन्थे। उनलाई त्यो सिटामोलले बच्चालाई असर गर्छ कि भन्ने लाग्थ्यो, खान्नथिन्। भन्छिन्, ‘सकेसम्म खान्न भन्ने भयो।’

पहिलो पटक बच्चाको धड्कन हेरेको दिन कृतिलाई आफ्नै मुटु बाहिर निस्केला जस्तो भयो। उनको बच्चा पेटमा उल्टो बसेको थियो। स्वास्थ्यका विषयमा कार्यक्रम चलाएकी कृतिलाई बच्चाको उल्टो बसाइ पनि सामान्य लाग्यो। 

समयभन्दा अगावै बच्चा
गत जेठ २७ गतेलाई डाक्टरले डेलिभरी डेट दिएका थिए। जेठको पहिलो साता कृतिले अफिस बिदा लिइन्। अफिस बिदा बसेकै दिन साँझ उनलाई गाह्रो भयो। कामज्वरो आयो। कृतिले डाक्टरलाई फोन गरिन्। रोहितले पनि जोखिम नलिऔँ, अस्पताल गएर निकालौँ भने। त्यही रात कृति अस्पताल भर्ना भइन्। भोलिपल्ट कृतिको अप्रेसन भयो। अप्रेसन थिएटरमा जानुअघिको रोहितभित्र चलेको छट्पटी कृतिले उनको अनुहारमा पढेकी थिइन्। तर बाहिर नदेखाउने स्वभावका रोहितले कृतिलाई सबै ठिकठाक भएझैं अप्रेसन थिएटरमा पठाए। उनले अप्रेसन थिएटरमा जानुअघि कृतिलाई भनेका थिए, ‘जाऊ भित्र, एकछिनमा हाम्रो बेबी हुन्छ, केही पनि हुँदैन।’ कृतिले छोरी जन्माइन। डाक्टरले दिएको समयभन्दा झण्डै २० दिनअघि छोरी जन्मिएकी थिइन्।

कृतिले थुप्रै बच्चा बोकेकी थिइन्। हरेक बच्चाको उनलाई माया लाग्छ। सबै बच्चा राम्रो लाग्छन्। तर जन्मिदाजन्मिदैको बच्चा नराम्रो पनि देखिँदो रहेछ, उनले पहिलो पटक आफैँ छोरी जन्मिएपछि महसुस गरिन्। उनलाई पहिलो पटक छोरी देख्दा लाग्यो, ‘ला मैले कस्तो बाँदरको जस्तो बच्चा जन्माए, कस्तो बच्चा पाएँ!’ बच्चा सफा गरेपछि त उनकी छोरी धपक्क बलेकी थिइन्। पहिलो पटक गरेको छोरीको स्पर्श कति मिठो थियो, त्यो व्यक्त गर्न कृतिसँग कुनै शब्द छैन। त्यसको झण्डै २४ घण्टा कृतिले छोरी भेट्न पाइनन्। ज्वरोका कारण डाक्टरले उनलाई संक्रमणको शंका गरेका थिए। छोरी एकतला तल, उनी माथि। छोरीलाई भेट्न छट्पटिएकी कृति होस आउनेबित्तिकै तल झरिन् र छोरी बोकिन्। 

त्यसपछि गाह्रो
अप्रेसन गरेको ५ दिनमा कृति घर फर्किन्। उनी खुसी थिइन्। निकै खोजेको र पर्खिएको जीवन अनुभूत गरिरहेकी कृतिलाई केही दिनमा असहज भयो। कृतिलाई गर्भावस्थाको पाँच महिनाबाटै खोकी लाग्न सुरु भएको थियो। धेरैले बच्चाको कपाल भएर आमालाई खोकी लागेको हो, बच्चा जन्मिएपछि निको हुन्छ भने। खुट्टा सुन्निएको पनि पछि ठीक हुन्छ भनेपछि कृतिले सामान्य रुपमा लिइन्। 

उनी सी सेक्सन गरेर बच्चा निकालेको दुई दिनसम्म ठिक थिइन। हल्का ज्वरो थियो। तर बच्चा जन्मेको दोस्रो दिन उनलाई अचानक खोकी लाग्यो। भन्छिन्, ‘अचानक यस्तो खोकी लाग्यो कि भर्खर डेलिभरी हुँदा चिरेको पेट छ, खोकी लाग्दा निस्सासिएको थिएँ म। बेडबाट उठ्दा मलाई कुर्न बस्नु भएका मेरा दिदीहरु पनि आत्तिनु भएको थियो। हतारमै डाक्टरलाई बोलाउनुभयो, हेर्नुभयो मलाई ‘नेबुलाइजर’ लगाइदियो। त्यसपछि तमाम गर्ने कुराहरु गरियो।’

केही सहज भएपछि घर आएकी कृतिलाई घर फर्किएको पर्सिपल्टबाट उस्तै गाह्रो भयो। उनी खोक्दाखोक्दै बोल्न नसक्ने, स्वास फेर्न नसक्ने भइन्। रोहित कृतिलाई लिएर अस्पताल पुगे। इमर्जेन्सीमा कृतिको उपचार भयो। खोकीको साथमा कृतिको शरीर निकै सुन्निएको थियो। डाक्टरले इन्फेक्सनका कारण शरीर सुन्निएको ठानेर औषधि चलाए। डाक्टरले पिसाब मार्फत शरीरमा जम्मा भएको पानी बाहिर जाने र सामान्य हुने बताए। त्यो दिनभरि कृतिलाई सहज भयो। राति सहज भएन। 

त्यसपछि उनले मुटुको डाक्टरलाई आफ्नो रिपोर्ट पठाएर समस्या बताइन्। स्त्री रोग विशेषज्ञसँग पनि सल्लाह मागिन्। मुटुका कारण समस्या आएको आशंकामा अस्पताल जान भनियो। उनी कार्डियाक सेन्टरमा पुगिन। त्यसपछि सुरु भयो कृतिको झन अप्ठ्यारा दिन। 

भन्छिन्, ‘त्यहाँ गएर इकोको रिपोर्ट हेरेपछि यो चाहिँ बाथ मुुटुरोग हो। केही भल्वहरु लिक भएको छ। औषधि लामो समयसम्म खानुपर्ने हुन्छ। तीन वटा भल्व बिग्रिएको छ भनियो। ड्युटी डाक्टरले भन्नु भएको मलाई अझै पनि याद छ, ‘हार्ट फेलियरको कन्डिसन हो। पत्रकार हुनुभयो। पत्रकारलाई पनि रोग लाग्यो त’ भन्नुभयो। अनि मैले सायद ठ्याक्कै के भनेँ त याद छैन। किन पत्रकारलाई रोग लाग्दैन, पत्रकार पनि त मान्छे हो नि भनेर भनेजस्तो लाग्छ। तैपनि उहाँले त्यसरी भन्दा नमिठो लागेको थियो। त्यसपछि टेन्सन भयो मानसिक रुपमा निकै नै गाह्रो भयो।’

उनलाई डिप्रेसन जस्तो भयो। कृतिलाई आफूलाई रोग लाग्योभन्दा पनि अब मेरी छोरी के हुन्छे भन्ने कुराले पिरोल्न थाल्यो। सायद उनलाई त्यो समय मरिन्छ भन्ने लागेको थियो। छोरी काखमा लिएर बसेकी कृति छोरीको अनुहार हेरेर बरर रुन्थिन्। काममा हिँडेका रोहितलाई म्यासेज लेख्थिन् ‘म मरेँ भने तिमीले मेरी छोरीलाई हेला गर्छौ होला। मेरी छोरीलाई माया गरेर हुर्काऊ।’ रोहित सम्झाउँदै भन्थे, ‘तिमी किन यति हतास भएको तिमीलाई केही हुँदैन। म छु त तिमीलाई बचाउने।’ कृतिको आँखा र मन एकै पटक भरिएर आउँथ्यो। 

लामो समय हेल्थ बिटमा पत्रकारिता गरेकी कृतिलाई बाथ र मुटुरोगका बारेमा धेरै कुरा थाहा थियो। उनले सम्झन थालिन् रोगका लक्षण। उनले सुनेकी थिइन्, यो रोग त बाल्यकालदेखि नै हुन्छ, टन्सिलाइटिस र ज्वरो बारम्बार आउँछ। उनी आफैँलाई प्रश्न गर्न थालिन्, ‘मलाई त्यस्तो कुन लक्षण थियो, जुन मैले नजरअन्दाज गरेँ?’ एकातिर नानीको हेरचाह गर्नुपर्ने अर्कोतिर मनोवैज्ञानिक हिसाबले धेरै सोच्न थालिन्। उनको मनमा एउटै मात्रै प्रश्न जन्मन्थ्यो, ‘यो सब नानी हुनुअघि किन भएन। अब त मलाई केही भयो भने नानी टुहुरी हुन्छे।’ कृतिले आफूलाई यति कमजोर महसुस कहिल्यै गरेकी थिइनन्। 

उनलाई थाहा थियो छोरी उनका लागि कति महत्वपूर्ण छिन् भनेर। तर उनले मानसिक र शारीरिक दुवै हिसाबले सम्हाल्न सकिरहेकी थिइनन्। भन्छिन, ‘एक किसिमले जीवन भर्खर सुरु हुँदैगर्दा यहीँ सकिन्छ कि जस्तो पनि लाग्यो। त्यसपछि जो डाक्टरबाट रिफर गरेर गएको थिएँ, फेरि उहाँलाई नै रिपोर्ट फरवार्ड गरेँ। म धन्यवाद दिन चाहन्छु। उहाँले यसरी काउन्सेलिङ गर्नुभयो केही पनि हुँदैन भनेर। उहाँले औषधि यो कारणले दिएको, विस्तारै विस्तारै ठीक हुन्छ भनेपछि म कन्भिन्स पनि भएँ।’

यो सबै उतारचढाव बेहोरेको एक महिनापछि मात्रै कृतिलाई थाहा भयो उनको रिपोर्ट गलत रहेछ। उनी आफ्नो रिपोर्ट लिएर डाक्टरकोमा पुगिन्। उनले रिपोर्ट देखाइन्। इको गर्दागर्दै डाक्टरले प्रश्न गरे ‘कसले तपाईंलाई यो रोग छ भनेर भन्यो?’ डाक्टरले उनको मुटु स्वस्थ रहेको बताए। उनले भने ‘कसैलाई पोस्ट डेलिभरी कार्डियोमायोप्याथी हुनसक्छ, तर त्यो रिपोर्टमा छैन। त्यतिखेर के भएको थियो भनेर अहिले हेर्ने कुरा भएन। अहिलेको तपाईंको मुटुको अवस्था हेर्दा त्यस्तो कुनै समस्या छैन, कहीँ पनि भल्व लिकेज छैन। तैपनि कुनै आशंका भए अर्को डाक्टरलाई देखाउनू।’ 

त्यसपछि कृतिलाई लाग्यो एउटै डाक्टरको भर गरेर बस्नु नहुने रहेछ। अहिले कृति ठीक छिन्। उनकी छोरी ३ महिनाकी भइन्। कृति काममा फर्किएकी छन्। 

उनलाई हिजोआज काम सकिएपछि कतै अलमल गर्न मन लाग्दैन। घर पुग्ने, छोरी हेर्ने र छोरीलाई दूध ख्वाउने हतारो हुन्छ। जीवनका अनेक रङ भोगेर आएकाले पनि होला उनीसँग उस्तो धेरै सपना छैनन्। तर छोरी आफूजस्तै भावुक होस् भन्ने उनी चाहन्नन्। भन्छिन्, ‘मलाई मेरी छोरी उसको बाबाजस्तो बलियो बनाउन मन छ। म जस्तो भावनात्मक रुपमा कमजोर बनाउन मन छैन। त्यसैले अहिलेबाटै त्यही अनुसारको अभ्यास गर्नेछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .