ad ad

सुदूरपश्चिम


गठबन्धनविरुद्ध स्वतन्त्र मेयर उदाएको धनगढीमा आरजु कति सुरक्षित?

गठबन्धनविरुद्ध स्वतन्त्र मेयर उदाएको धनगढीमा आरजु कति सुरक्षित?

गोकुल जोशी
भदौ ११, २०७९ शनिबार २०:१, कञ्चनपुर

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कैलालीको धनगढी उपहानगरपालिकामा दलको बर्चस्व तोड्दै मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले बाजी मारे। 

उनले सत्तारुढ गठबन्धन (कांग्रेस र माओवादी) बाट साझा उम्मेदवार बनेका कांग्रेसका नृपबहादुर वडलाई भारी (१२ हजार ४८) मतान्तरले उछिनेका थिए।

हमालले २६ हजार ८६५ मत ल्याएर मेयरमा जित्दा कांग्रेसका वड १४ हजार ८१७ मतमै खुम्चिए। स्थानीय तह निर्वाचनमा धनगढीमा मेयर पदमा मात्रै होइन्, उपमेयरमा पनि गठबन्धन सफल हुन सकेन। 

नेकपा माओवादी केन्द्रकी शान्ति कुमार अधिकारी (क्षेत्री) २ हजार ८०९ मतले पराजित भइन्। गठबन्धनलाई उछिन्दै एमालेकी कन्दकला कुमारी रानाले १५ हजार ४७९ मतसहित बाजी मारिन्।

सत्तारुढ गठबन्धनबाट उपमेयरकी साझा उम्मेदवार बनेकी माओवादीकी अधिकारीले १२ हजार ६७० मत ल्याएकी थिइन्।

यसरी सत्तारुढ गठबन्धन चुकेको धनगढी संसदीय चुनावमा पनि चर्चाको केन्द्रमा छ। कारण– यो क्षेत्र प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाको निर्वाचन क्षेत्र हो।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिका–६ र ९ गरी २१ वडा पर्दछन्।

०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट पहिलो पटक संसदीय चुनाव ‘फेस’ गरेकी राणाको वाम गठबन्धनबाट उम्मेदवार एमालेका नारदमुनि रानासँग ४ हजार ८८० मतले पराजित भएर संसद यात्रा रोकियो।

त्यस बेला रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन्। अहिले ०७४ को राजनीतिक समीकरणमा फेरबदल आएको छ।

त्यस बेला एमालेको साथमा रहेको माओवादी केन्द्र अहिले कांग्रेससँग मिल्न पुगेको छ। नेकपा एमाले एक्लै सत्तारुढ गठबन्धन विरुद्ध चुनावमा होमिनु पर्ने अवस्थामा छ।

आरजुले चाहेमा कैलाली ५ मा गठबन्धनबाट टिकट पाउने पक्का छ। तर जित सुनिश्चित छैन।

०७४ सालमा व्यहोरेको नमिठो हार, कांग्रेसको आन्तरिक कलह र स्थानीय तह निर्वाचनको परिणाम लगायत कारणले सत्तारुढ दलहरुको साथ पाएर पनि कांग्रेस झस्किएको छ।

संसद यात्रा तय गर्ने सपना बुनिरहेकी आरजु यसपटक सुरक्षित क्षेत्रको खोजीमा छन्। उनी कञ्चनपुर–३ वा डडेल्धुराबाट चुनाव लड्ने चर्चा पनि व्यापक छ।

कैलाली क्षेत्र नम्बर ५ का कांग्रेस क्षेत्रीय सभापति भीम पडाल भने राणा यही क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको बताउँछन्।

‘उहाँ (आरजु) कैलाली ५ बाटै चुनाव लड्नु हुन्छ, यो लगभग निश्चित भइसक्यो,’ उनले भने, ‘यसपटक उहाँले नै जित्नुहुन्छ।’

सत्तागठबन्धन विरुद्ध एक्लै चुनावमा भिड्दा पनि २०७४ को स्थानीय तहभन्दा राम्रो परिणाम आएको भन्दै कैलाली ५ मा एमाले हौसिएको छ।

स्थानीय तह निर्वाचनमा गठबन्धन ‘फेल’ भएको धनगढीमा गठबन्धनबाटै उम्मेदवार बन्न लागेकी आरजुलाई पार्टीको आन्तरिक कलह सुल्झाउँदै स्वतन्त्र गोपाल हमालको क्रेज उछिन्नु पर्ने चुनौती छ।

पुरानै प्रतिस्पर्धी आमनेसामने
यसपटकको चुनावमा पनि कैलालीमा ५ मा पुरानै प्रतिस्पर्धी नै आमनेसामने हुने सम्भावना छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले यसपटक पनि नारदमुनि रानालाई नै चुनावमा उतार्ने तयारी गरेको छ। 

‘एमालेबाट उहाँ निर्विकल्प हुनुहुन्छ, पहिले जितेको र अरु भन्दा बलियो भएकाले पनि उहाँ नै चुनाव लड्नु हुन्छ,’ नेकपा एमाले कैलालीका एक नेताले भने, ‘यहाँ राना थारु समुदायको १२/१३ हजार भोट छ, त्यसैले पनि अरु भन्दा उहाँलाई सहज हुन्छ।’ 

राना नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज समेत हुन्।

कांग्रेसमा किचलो
नेपाली कांग्रेस कैलालीमा टिकट वितरण, अधिवेशनताको असन्तुष्टि लगायत कारणले आन्तरिक किचलो व्याप्त छ। 

कांग्रेसबाट कारबाहीमा परेका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले पनि कैलाली ५ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।

०७४ सालमा कैलाली ५ बाट आकांक्षी रहेका ओझाको टिकट खोसेर आरजुलाई चुनावमा उतारिएको थियो। तर उनी पराजित भइन्।

०७० सालको संविधान सभाको उपनिर्वाचन जितेका ओझा ०७४ मा टिकट नपाएपछि असन्तुष्ट बने। ओझाकै कारण आरजुको पराजय भएको भन्दै कांग्रेसले उनलाई कारबाही गरेको थियो। उनै ओझा कैलाली ५ मा स्वतन्त्र उम्मेदवार बन्दा कांग्रेसको मत काटौती हुनसक्ने अनुमान छ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनरायण शाह र आरजुबीच अधिवेशनयता बिग्रिएको सम्बन्धले पनि चुनौती थपिने नेताहरु बताउँछन्। 

जिल्ला अधिवेशनमा असन्तुष्ट रहेको प्रकाश बम र स्थानीय तहको टिकट वितरणमा कृष्णबहादुर महरा असन्तुष्ट हुँदा कांग्रेसमा आन्तरिक किचलो छ। 

०७४ सालको स्थानीय चुनावमा नै मेयरको उम्मेदवार बन्ने आकांक्षा देखाएका धनगढीका कांग्रेस नेता कृष्णबहादुर महराले यस पटक पनि टिकट पाएनन्। आरजुको बलमा वडलाई नै धनगढीको मेयरमा दोहोर्याइएको थियो। त्यस पछि महरा असन्तुष्ट रहेका छन्।

१४ औँ महाधिवेशन अन्तर्गत गत फागुनमा भएको जिल्ला अधिवेशनदेखि कांग्रेस नेताहरूबीच अझै दरार बढेको एक नेताले बताए। अधिवेशनमा संस्थापन पक्षकै नारायणदत्त भट्ट र प्रकाश बम प्यानल बनाएर भिडेका थिए।

सभापति देउवाले नारायणदत्त भट्टको प्यानललाई आधिकारिकता दिए। तर पनि उनी पहिलो चरणको चुनावमा पछाडि परेका थिए। आधिकारिकता नपाएका संस्थापन पक्षकै बमले सभापतिमा सर्वाधिक मत ल्याएका थिए।

बम पहिलो चरणबाट ‘रिङ आउट’ भएका संस्थापन इतर समूहका रामबहादुर कलेलको समर्थन पाउँदा पनि पराजित भए। दोस्रो चरणको चुनावमा बमलाई पराजित गर्दै भट्ट एक हजार ३५९ मत ल्याएर सभापतिमा निर्वाचित भएका थिए। 

बमलाई सभापतिमा आउनबाट रोक्न केन्द्रकै निर्देशनमा त्यस बेला कैलालीका केन्द्रीय सदस्यले जोडबल गरेका थिए। त्यस पछि बम पक्ष पनि असन्तुष्ट छ।

स्थानीय तहको परिणाम
धनगढी उपमहानगरपालिकामा यसपटक कांग्रेसले ०७४ को बर्चश्व कायम राख्न सकेन। उपमहानगरका १९ वडामध्ये कांग्रेसले ११ वडामा मात्रै जित निकाल्न सकेको छ। जबकी ०७४ मा कांग्रेसले मेयर उपमेयर सहित १२ वडा जितेको थियो।

कांग्रेसले यसपटक मेयर पनि गुमाउनु पर्यो। निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कूल २१ वडामध्ये कांग्रेसले १३ वडामा जितेको छ।

आन्तरिक किचलोले स्थानीय तहमा अपेक्षित नतिजा नआए पनि संघीय निर्वाचनमा त्यस्तो नदोहरिने कांग्रेसको दाबी छ।

नेकपा एमालेले भने यसपटक स्थानीय तह निर्वाचनमा धनगढीमा आफ्नो बर्चश्व बढाएको छ। ०७४ मा २ वडामा सीमित एमालेले यसपटक ६ वडासहित उपमेयर जितेको छ।

माओवादी केन्द्रले २ वडा मात्रै जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .