म्यागेजिन


भीमा मैनालीको मातृत्व अनुभवः म असफल आमा भएँ कि!

भीमा मैनालीको मातृत्व अनुभवः म असफल आमा भएँ कि!

हिँड्दै गर्दा आफू पुग्नु पर्ने गन्तव्य बिर्सिनु। बोल्दै गर्दा बहकिनु। जति आफूलाई कठोर बनाउन खोज्यो, उति आँसुले आँखा रुझिरहनु। कलाकार भिमा मैनालीको दैनिकीमा देखिरहने असहजता हुन् यी। 

आफैंले बाँचिआएको जिन्दगी बिर्सिन चाहन्छिन् उनी। तर चाहेको जस्तो सजिलो कहाँ हुने रहेछ र! जति बिर्सिन खोज्यो, उति विगत ताजा बनेर आउने रहेछ। हजार कोसिस गर्दा पनि सम्हालिँदैन उनको मन। उनको छातीमा सम्झनाको तिखो काँडा बनेर घोचिरहन्छ सन्तान वियोगको पीडाले। 

बोल्दै जाँदा आँखा टिलपिल हुन्थे। उनी हातको चोरी औंलाले आँसु पुछ्थिन् र बोल्थिन्। बिर्सन चाहेका तर नसकेका थुप्रै चोटहरुको चाङ छ भिमाको छातीमा। 

बुबाको नक्कली क्रान्ति
तराईका हुनेखाने परिवारमा पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् भिमा। ६ सन्तानमध्ये पहिलो थिइन् उनी। 

भिमा जन्मिनुअघि नै उनका बुबा क्रान्तिको सपना देखेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए। भिमाको बाल्यकाल पनि राजनीतिक वातावरणमै बित्यो। उनी राजनीतिक सभा सम्मेलनमा गीत गाउँथिन्।

उनी पढाइमा पनि तेज थिइन्। स्कुलमा दोस्रो भएको सम्झना छैन उनलाई। उनको सपना थियो– नर्स बन्ने। सडक नाटक देखाउँदै हिँड्ने उनलाई हेरेर धेरैले लख काट्थे, यो त कलाकार बन्छे। उनका आमाबुबाले छोरीको सुखी र सुन्दर भविष्यको कल्पना गरेका थिए। यी सबै सपना समयको भंगालोमा कहाँ छोडिए भिमा आफैँलाई थाहा छैन।

१४ पुगेर १५ लाग्दै गरेकी भिमाको भर्खरै सुरु भएको थियो रजस्वला। त्यही वर्ष उनले एसएलसी दिइन्। त्यो समय एसएलसी दिएपछि झण्डै ५ महिना लाग्थ्यो नतिजा आउन। त्यही खाली समयमा भिमा उनका बुबासँगै राजनीतिक कार्यक्रमका पर्चा बोकेर हिडिँन्। आन्दोलनका मोर्चामा गीत गाइन्। कविताबाट क्रान्तिको आवाज बुलन्द पारिन्। उनले पनि बुबासँगै देख्न थालिन समाज रुपान्तरणको सपना। 

त्यतिबेला रेडियो असाध्यै धेरै सुनिन्थ्यो ‘बिहेबारी २० वर्ष पारि’ भन्ने विज्ञापन। कति गाउँका राजनीतिक भाषणमा उनका बुबाले बालविवाहको यो मुद्दालाई पनि उठाए। तर जब १५ टेक्दै गरेकी आफ्नी छोरीका लागि ‘वर’ बनेर कोही आयो, उनका बुबाले ती मुद्दा सजिलै बिर्सिदिए। र, उनको बिहे गरिदिए। उनी छोरीबाट बुहारी बनिन्। अहिले भिमालाई लाग्छ, ‘त्यो समय मैले विद्रोह गर्नुपर्ने रहेछ।’​

कच्चा उमेरमा आमा
सरकारी जागिरे उनका श्रीमान्। एसएलसी सकेर आइकम पढ्न थालेकी भिमा। उनलाई लागेको थियो माइतमा जस्तै बा–आमा हुन्छन् पराईघरमा पनि। उनको कलिलो मस्तिष्कले सोच्यो, ‘यहाँ पनि आफ्नो जिन्दगी सुन्दर बनाउन सकिन्छ।’

तर सोचेजस्तो सजिलो भएन वैवाहिक जीवन। न त आमा बुबाजस्ता भैदिए, सासूससुरा। उनको कष्टको जिन्दगी सुरु भयो।

उनका श्रीमान् दिनहुँ रक्सी पिउँथे। उनलाई पिट्थे। अझै पनि शरीरमा श्रीमानको कुटाइका निसानी भेटिन्छन्। त्यसमाथि बिहे गरेको एक वर्ष पुग्न नपाउँदै उनी गर्भवती भइन्।

गर्भवती भएपछि उनलाई लाग्यो, ‘यो बच्चा जन्मायो भने मेरो सबै सपना सकिन्छ।’

उनले गर्भपतन गर्ने निर्णय गरिन्। श्रीमान् लिएर क्लिनिकमा पुगिन्। गर्भपतनको औषधि चलाउनु अघि नर्सले भनिन्, ‘जहिले जन्माए पनि बच्चा जन्माउनै परिहाल्छ। पहिलो बच्चा नै गर्भपतन गराएपछि अर्को नहुन सक्छ।’ 

भिमाको मन बदलियो। गर्भपतन गर्न गएकी उनी त्यही बच्चा जन्माउने, हुर्काउने सपना साँच्दै घर फर्किइन्। उनी आफैँसँग बात मारिरहेकी थिइन्, ‘नानी सुताउँछु र मज्जाले पढ्छु।’

१६ वर्ष नलागेकी भिमाको त्यतिबेलासम्म नागरिकता बनेको थिएन। न त उनको नामको बैंक खाता नै थियो। आफ्नो कमाइ थिएन। बुबाआमा साथमा थिएनन्। मन लागेको खान श्रीमानको आश गर्नुपथ्र्यो। यही तीतो भोगाइका कारण उनी आत्मनिर्भर हुन चाहन्थिन्। गर्भावस्थाकै समयमा उनी कम्प्युटर कक्षा भर्ना भइन्। अनामनगर बसाइ, बागबजारमा थियो कम्प्युटर सिक्ने ठाउँ। गर्भिणी शरीर लिएर हिँड्दै पुग्थिन् र फर्किन्थिन् भिमा । बाटोमै देख्थिन् टोकरीभरी बेच्न राखेका फलफूल। पैसा हुँदा किनेर खान्थिन्, बान्ता गर्थिन् र हिँड्थिन् शिथिल शरीर लिएर। पेटमा बच्चा चलमलाउँदा अनौठो अनुभूति हुन्थ्यो।

गर्भावस्थाको समय धेरै हिसाबले कष्टकर रह्यो उनका लागि। नसक्दा सकिनस् भन्ने र गर्भावस्थाको समयमा यसो गर्नुपर्छ भनेर सिकाउने कोही भएनन्। तर उनको बढ्दै गएको पेट हेरेर छोरा/छोरीको लख काट्ने भने प्रशस्तै भेटिन्थे।

‘छोरा पाउनु पर्छ,’ उनीहरु भन्थे।

अहिले सम्झिँदा लाग्छ, ‘त्यतिबेला मैले उनीहरुलाई किन चाहिन्छ छोरा भनेर प्रतिप्रश्न गर्न सक्नु पर्ने रहेछ।’

उनका श्रीमानलाई भने छोरीको चाहना थियो।​

 

परीक्षा हलमा सुत्केरी व्यथा
बीएको परीक्षा त्यही दिन सुरु भएको थियो। डाक्टरले उनलाई बच्चा जन्माउने डेट पनि त्यही दिनलाई तोकिदिए। भिमालाई जसरी पनि एउटा परीक्षामा सहभागी हुनु थियो। यतिबेलासम्म उनकी आमा काठमाडौं आइसकेकी थिइन्।

भिमा परीक्षाका लागि निस्कनै लाग्दा उनकी आमाले भनेकी थिइन्, ‘परीक्षा अर्को वर्ष दिनु। आज नजाऊ, गाह्रो हुन्छ।’

नभन्दै परीक्षा हलमा पुगेको झण्डै एक घण्टापछि नमज्जाले दुख्यो उनको पेट। त्यसपछि उनी थापाथली प्रसूति गृह भर्ना भइन्। 

त्यो रातभर उनलाई व्याथा लाग्ने र छोड्ने भरह्यो।

कहिले लाग्थ्यो, ‘मेरो जिन्दगी यत्ति रहेछ।’ कहिले लाग्थ्यो, ‘सबैले जन्माइरहेका छन् म पनि जन्माउँछु।’

भिमाले पहिले सुनेकी थिइन् ‘सुत्केरी व्यथाले च्याप्दा रोइकराइ गर्यो भने नर्सहरुले अपशब्द बोल्छन्।’

उनी मर्छु जस्तो लाग्दा पनि रुन सकिनन्। त्यसैले अस्पतालको नर्मल वार्डमै जन्माइन् भिमाले छोरी। उनी लेवर रुममा जानै पाइनन्। 

कम उमेरमा सुत्केरी भएका कारण उनको शरीर पूर्ण रुपमा विकसित भइसकेकै थिएन। छाती पुष्ट थिएनन्। तैपनि उनको दूध निकै आयो। तर, घर आइसकेपछि बच्चालाई ख्वाउने तरिका जानिनन्। छोरी जन्मिएको १० दिनमा उनको स्तनबाट दूध कम पिप बढी बहन थाल्यो। यो समय समाजमा रहेका मिथकले खुब दुख दियो भिमालाई। मान्छेअनुसार जसले जे भने त्यही दलिन स्तनमा। ११ दिनको दिन अप्रेसन गर्नु पर्यो। स्तनको अप्रेसनपछि गरिने ड्रेसिङको पीडाले अहिले पनि दुखाउँछ उनलाई।​

 

आफ्नो लागेन माइती
स्तनको अप्रेसन गरेको केही समयमा भिमा माइत गइन्। माइत जाँदै गर्दा उनलाई लागेको थियो, ‘म अब घर फर्केर आउँदिन। उतै पढ्छु, उतै करिअर बनाउँछु।’

उनका बुबाले पनि आफूले कल्पना गरेजस्तो सुन्दर नदेखेपछि छोरीको जिन्दगी माइतीमै बसोस् भनेका थिए। केही समय त ठिकै भयो। सबैको माया पाइन्। तर विवाहित छोरीका लागि घरको दुख सम्झेर माइतीमा बस्ने छुट नै कहाँ रहेछ र?

उनलाई पनि वरपरका आफन्तले ‘कहिले जाने घर’ भनेर प्रश्न गर्न थाले।

थाहा हुनेहरु उनलाई हेरेर चुकचुकाउँथे। भिमाको मन भारी भएर आउँथ्यो। आँखा टिलपिल हुन्थे, डाँको छोडेर रुन सक्दिनथिन्। ६ महिनापछि उनका श्रीमान् लिन गए। भिमा केही नबोली श्रीमानको साथ लागेर घर फर्किइन्। 

अब त छोरी भइन्, श्रीमान सुध्रेलान भन्ने भिमाको आशा थियो। तर, त्यो पनि बेकार भयो। छोरी हुर्काउँदै भिमाले कहिले कलेजका किताब पढिन्। कहिले श्रीमानले पाएको क्वार्टरवरिपरिको बाँझो बारी खनिन्। तरकारी रोपिन्। त्यही बेचेर थोरै आयआर्जन गरिन्। उनले कुनै समय सहकारीमा पनि काम गरिन्। केही समय स्कुल पढाइन्। आफैँले पढाउने स्कुलमा लिएर जान्थिन् आफ्नी सानी छोरी। साँझ सँगै लिएर फर्किन्थिन्।​

 

दबाबमा दोस्रो बच्चा
छोरी हुर्केसँगै उनको जिन्दगीले लय पक्रिँदै थियो। भिमालाई दोस्रो बच्चा जन्माउने चाहना थिएन। तर परिवारको दबाब भनिसाध्यै थिएन। परिवारलाई वंश चलाउने छोरो चाहिएको थियो। छोरो नपाउँदासम्म सुरक्षित थिएन भिमाकै जीवन। यही दबाबमा भिमा दोस्रो पटक गर्भवती भइन्। दोस्रोपटक उनले छोरो नै जन्माइन्। तैपनि श्रीमानसँग उनको सम्बन्ध सुधार भएन। कहिले श्रीमानसँग अलग बस्थिन्, फेरि केही समयपछि सँगै हुन्थिन्। 

यही अप्ठेरोको बीच उनको कला यात्रा सुरु भयो। काठमाडौंमै आफ्नो घर बनाइन्। कलेज पढाउन सुरु गरिन्। छोराछोरी हुर्किंदै थिए। जीवनमा कसैबाट नपाएको माया र स्याहार उनका छोराछोरीले गर्थे। उनका छोराछोरी पढाइमा पनि अब्बल थिए।

भिमालाई लाग्न थालेको थियो, ‘म संसारकै भाग्यमानी आमा हुँ।’

हिजोआज भिमाको यही उज्यालो भाग्यमा ग्रहण लागेको छ। १८ वर्षका छोराको मृत्युपछि भिमाको भोक, निद्रा र तिर्खा सबै हराएको छ।​

 

छोरा हराएको त्यो रात
लामो समयको बिछोडपछि भिमाका श्रीमान उनलाई सम्झिएर फर्किआए। छोराछोरी कलेज पढ्ने भइसकेका थिए।

भिमालाई लाग्यो, ‘अब त जिन्दगीको सबै रङ फर्कियो।’

कच्चा उमेरको विवाह, सुत्केरीमा नपाएको स्याहार, श्रीमानले दिने यातना यी सबै कुराले त्यति दह्रो थिएन भिमाको शरीर। 

गएको वैशाख ३ गते। बिहानै उनका छोराले पार्किङबाट स्कुटर निकालिदिए। कलेजमा आमालाई चाहिने सबै समान ठिक्क पारिदिए र भने– आमा म कलेज जान्छु। छोरो पढ्न निस्किए, भिमा पढाउन। त्यो साँझ अबेरसम्म छोरा घर फर्केनन्। बिहानैबाट परेको मुसलधारे पानी रोकिएको थिएन। भिमा काठमाडौंका सबै ठाउँ चहारिन् जहाँ उनका छोरा पुग्थे। छोरालाई फोन गरिन्, लागेन। म्यासेज गरिन जवाफ आएन। उनी हार मानेर राति अबेर घर पुगिन्। 

त्यो दिन रातको १२ बजेसम्म उनी जागै थिइन्। उनले वाट्सएपमा ‘बाबु कहाँ छौ? मलाई म्यासेज गर’ भनिन्। त्यसपछि निदाइछन्। ब्युँझिँदा  छोराले सहयोग माग्दै म्यासेज पठाएका रहेछन्। उनले आफ्नो फोनको पासवर्ड, आएमई पे र मोबाइल बैंकिङ पासवर्डहरु सबै आमालाई पठाएका थिए। उनले आफू पोखरामा रहेको र बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका थिए। त्यही बिहान पोखराको फेवातालमा उनका छोराको शव भेटियो।

आँसु र छट्पटीको यो कथा सुनाउँदै गर्दा भिमा भक्कानो फुटाएर रोइन्। 

प्रहरीले उनका छोराले आत्महत्या गरेको दाबी गर्यो। छोराको लासको प्रकृति हेरेर भिमाको मनले आत्महत्या स्विकार गर्न सकेन। प्रहरीमा उजुरी टिपाउन पनि निक्कै कष्ट गर्नु पर्यो। उनको हत्याको आरोपमा केहि युवालाई पक्राउ गरिएको छ। तर उनीहरु पनि मुख्य दोषी होइनन् भन्ने लाग्छ भिमालाई।

छोरोका मृत्युपछि उनलाई लागेको छ, ‘आफ्नो बच्चालाई दिनु पर्ने जति समय दिन सकिनँ।’

भन्छिन् ‘म असफल आमा पो भएँ कि!’

अहिले भिमाकी छोरी साथमा छिन्। उनकी छोरीको सपना छ– प्रहरी बनेर भाइका हत्यारा पत्ता लगाउने। भिमा पनि छोराको मृत्युको यथार्थ पत्ता लगाउन चाहन्छिन्।

भन्छिन्, ‘मेरो छोरोजस्तै अरु कसैको छोराले अकालमा मृत्युवरण गर्नु नपरोस्। त्यसका लागि पनि मैले न्यायको लडाइँ लड्नै पर्नेछ।’


 

पुस २४, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .