म्यागेजिन


५० वर्ष भूमिगत बसेका ८७ वर्षका मोहनविक्रम गाउँ फर्कँदै, बनाए आफ्नै घर

५० वर्ष भूमिगत बसेका ८७ वर्षका मोहनविक्रम गाउँ फर्कँदै, बनाए आफ्नै घर

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पुर्ख्यौली गाउँ जाँदैछन्, त्यसका लागि उनले घर बनाएका छन् (तस्बिरः विक्रम राई)


सागर न्यौपाने
पुस २३ , काठमाडौँ

देशमा जुद्ध शमशेरको शासन थियो। राणाहरूको जगजगी। गाउँगाउँमा अत्याचार उत्कर्षमा थियो। भर्खरै जुद्ध शमशेरले पाल्पाको अर्गलीमा दरबार बनाउन लगाएका थिए। 

जुन कर्मीले जुद्ध शमशेरको दरबार बनाएका थिए, तिनैलाई लगेर प्युठान बाङ्गेका खिमविक्रम घर्तीक्षेत्रीले आफ्नो घर बनाउन लगाए। खिमविक्रमको ठूलो घरमा २६ झ्यालढोका थिए।​

मोहनविक्रमका बुवा खिमविक्रमले बनाएको घर, जसलाई गाउँमा कउछे दरबार भनिन्थ्यो

खिमविक्रमको घर देखेर गाउँमा खैलाबैला मच्चियो। उनका झगडियाहरुले तुरुन्तै बढाइचढाइ गरेर राणाहरुलाई पोल लगाए– खिमविक्रमले त ५२ झ्यालढोका भएको दरबार बनायो। 

उतिबेला राणाहरुको लवाइखवाइ र चालचलन सर्वसाधारणले नक्कल गर्नु अपराध थियो। घर पनि बढीमा ५१ वटा झ्यालढोका भएको मात्र बनाउन पाइन्थ्यो। 

गाउँमा एउटा साधारण व्यक्तिले ५२ झ्यालढोका भएको दरबार बनाएको खबर राणाहरुले सहने कुरै थिएन। जुद्ध शमशेरले तुरुन्तै खिमविक्रमलाई गाउँनिकाला गर्ने सजाय दिए। र, खिमविक्रम गाउँबाट लखेटिए। 

ठूलो घर बनाएबापत् खिमविक्रम लखेटिएको गाउँकै ठिक पारिपट्टि छ ओखरकोट गाउँ। जहाँ उनै खिमविक्रमका छोरा मोहनविक्रम सिंहले बुढेसकालको जिन्दगी बिताउन भन्दै अहिले नयाँ घर बनाएका छन्।​

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह ८७ वर्ष पुगिसके। पाँच दशकभन्दा लामो समय त उनले भूमिगत र अर्धभूमिगत रुपमै बिताए। १९९२ सालमा काठमाडौँको मरुटोलमा जन्मिएका मोहनविक्रम थुप्रै नेपाली कम्युनिस्ट नेताहरुका गुरु मानिन्छन्। जो आगामी वर्ष ८८ औँ वसन्त लागेपछि आफ्नो पुर्ख्यौली गाउँ जाँदैछन्।

काठमाडौँको लैनचौरस्थित शान्तिगृह शिक्षा सदनबाट प्राथमिक शिक्षा हासिल गरेका मोहनविक्रमले बाल्यकालको केही समय प्युठानमा पनि बिताएका थिए। प्युठानमै छँदा २०१० सालतिर उनी कम्युनिस्ट पार्टीमा आबद्ध भए। 

 उनी २००९ सालको विद्यार्थी आन्दोलनको बेलामै एक महिनाका लागि काठमाडौँमा थुनामा परेका थिए।

२०१० सालमा प्युठानमै किसान आन्दोलन अन्तर्गत तीन महिने शिविर चल्यो। त्यो शिविरमा जालीफटाहा, मुखिया-जिम्मावाल र सामन्तको लालपुर्जा कब्जा गर्ने काम पनि भयो। कतिपयले त हतियार समेत जम्मा गरेका थिए।

त्यहीँबाट कम्युनिस्ट पार्टीको संगठन बन्यो र त्यही संगठनका एक प्रभावशाली नेताका रुपमा मोहनविक्रम उदाए। प्रहरीले उनलाई समातेर एक महिना हिरासतमा पनि राख्यो। हिरासतमुक्त भएपछि उनी कम्युनिस्टलाई संगठित गर्ने काममा झन् बेस्सरी लागे।

२०१८ सालमा उनलाई प्रहरीले फेरि पक्राउ गर्यो। २०१८ सालमा गिरफ्तार भएपछि उनलाई कपिलवस्तु, भैरहवा, ललितपुर र काठमाडौँका विभिन्न जेलहरूमा ९ वर्षभन्दा बढी राखिएको थियो। २०२७ सालमा जेलमुक्त भएका उनी २०२९ सालपछि भने प्रहरीको दमन थेग्न नसकी भूमिगत भए।

त्यसपछि प्युठानसँग उनको सामीप्य टुट्यो। गाउँ जानै सकेनन्। भूमिगतकालको अधिकांश समय उनले भारतको गोरखपुरवरपर बिताए।

२०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि उनको भूमिगत जीवनमा थोरै बदलाव आयो। अब उनी अर्धभूमिगत रहन थाले। अहिले उनको पार्टी सत्तारुढ गठबन्धनमा छ। पत्नी दुर्गा पौडेल सांसद छिन्। तैपनि उनी आफूलाई अझै अर्धभूमिगत भन्न रुचाउँछन्। 

‘जेलजीवन, भूमिगत र अर्धभूमिगत भएर मैले ५० वर्ष  बिताएँ,’ सिंहले नेपालखबरसँग भने।

यो ५० वर्षमा उनी एकाध पटक मात्रै आफ्नो गाउँ गएका छन्। अझै पनि उनलाई गाउँको झल्को आइरहन्छ। 

‘पार्टीको काममा सक्रिय रहँदा मैले गाउँमा पर्याप्त बस्ने अवसर नै पाइनँ,’ सिंहले भने, ‘प्रहरीले गरेको दमन, धरपकड, पक्राउपछि गाउँमा बस्ने अवस्थै बनेन।’ 

काठमाडौँमा अर्धभूमिगत भएर बस्दा उनले बारम्बार कोठा सर्नुपर्यो। 

‘काठमाडौंमा एक दर्जन स्थानमा डेरा सारेँ। ठमेल, लैनचौर, डिल्लीबजार, कुलेश्वर, ढुङ्गेधारा र ललितपुरको सानेपामा बसेँ। कति त बिर्सेँ। डेरा सार्दाको पीडा छँदै थियो। सामान मिलाउन २ महिना लाग्थ्यो,’ उनी भन्छन्, ‘काठमाडौँमा घर भए डेरा सर्नु पर्दैनथ्यो। तर यहाँ घर जोड्न होइन जग्गा जोड्न पनि सक्ने अवस्थै थिएन।’

त्यही भएर आफ्नै पुर्ख्यौली थलो प्युठानको झिमरुक गाउँपालिका, ओखरकोटमा हालै उनले एक तले पक्की घर बनाएका छन्। निवृत्त जीवनमा अध्ययन र लेखनका लागि पुस्तकालय बनाउन किताब पनि संकलन गरिसकेका छन्।

मोहनविक्रमले घर बनाएको सुनेपछि उनको परिवारलाई नजिकबाट चिन्नेहरूले सम्झिए, उनका बुबा खिमविक्रमले बाङ्गेमा बनाएको दरबार शैलीको घर। जसका कारण उनी गाउँबाट खेदिएका थिए। 

‘कतिपय लेखक, विश्लेषकले समेत ५२ झ्यालढोका भएकै घर भनेर हल्ला गर्दा रहेछन्, खासमा सत्य त्यो होइन,’  सिंहले भने, ‘पाल्पा अर्गलीमा जुद्ध शमशेरको दरबार बनाउने कर्मी लगेर बुबाले गाउँमै सबैभन्दा भव्य, २६ वटा झ्यालढोका भएको घर बनाउनुभएको रहेछ। तर, झगडियाहरुले ५२ झ्याल ढोका भएको ठूलो घर भनेर उजुरी हालेछन्। बुबालाई जुद्धशमशेरले सजाय दिएर लखेटेछन्।’

ओखरकोटबाट खिमविक्रम गाउँनिकालामा परे। कारण थियो– उनले आफ्नो नामसँग गाँसेको ‘विक्रम’।​

राणाहरुको उर्दी थियो– कसैले पनि आफ्नो नामसँग ‘विक्रम’, ‘शमशेर’ नराख्नू। तर, उर्दीविपरीत उनले आफ्नो नाम ‘खिमविक्रम’ राखेपछि उनी ओखरकोटबाट लखेटिएर बाङ्गे पुग्नु परेको मोहनविक्रम बताउँछन्।  

५२ झ्याले घर बनाएको आरोप लागेपछि खिमविक्रम बाङ्गेबाट पनि खेदिए। उनले अहिलेको अर्घाखाँचीको झन्द्रेकमा घर जग्गा बनाएर कानुनी रुपमा त्यही ठेगाना देखाउँथे। तर उनी बाङ्गेको कौछेमा नै बस्थे।

अहिले मोहनविक्रमले घर बनाएको गाउँ त्यही बाङ्गेको पारि ओखरकोट हो।​

‘अहिले त एकतला मात्र बनेको छ। तर नक्सा भने साढे दुई तलाको बनेको छ। माथिल्लो तला बनेपछि त्यहाँ लाइब्रेरी बनाउँछु। त्यसका लागि मैले ५ हजारभन्दा बढी किताब जम्मा गरिसकेको छु, कतिपय किताब त साथीहरूबाट पाइहाल्छु,’ उनले योजना सुनाए, ‘माथिल्लो तला थप्ने योजना भए पनि निकै खर्चिलो रहेछ। कम्तीमा ५० लाख लाग्छ भन्छन्।’

‘पहेंलो रङ लगाएको छु। दुइटा बेडरुम छन्। भर्खर बनाएको हुनाले सामान मिलाइसकिएको छैन, पलङ भर्खरै ल्याएर सेट गरिएको छ,’ उनले थपे, ‘पारिलो घाम लाग्छ, सदरमुकामबाट झण्डै डेढ घण्टामा पुग्न सकिन्छ।’

झण्डै पाँच दशकदेखि पार्टीको नेतृत्वमा निरन्तर रहेका उनी अब भने विश्राम लिने योजनामा छन्।

‘म अहिलेसम्म त महामन्त्री छु, ८७ वर्षको भइसकेँ, धेरै समय यसरी राजनीतिमा सक्रिय रहन सक्दिनँ, राजनीति गरिरहने अवस्थामा नभएमा  त्यही घरमा बस्छु, अध्ययन र लेखन गर्छु,’ उनले भने।​

पत्नी दुर्गाको उपहार
मोहनविक्रम प्युठानमा बनाएको घर सांसद पत्नी दुर्गा पौडेलले उपहारमा दिएको बताउँछन्। 

‘मैले घर बनाउनसक्ने स्थिति नै छैन। घर बनाउनमा मेरो भूमिका पनि छैन। म त घर बनिसकेपछि बस्न जाने हुँ,’ उनले भने, ‘यो त मलाई मेरी पत्नी दुर्गाजीले उपहार दिनुभएको हो।’

‘मलाई दुर्गाजीले दुईवटा अमूल्य उपहार दिनुभयो, एउटा मेरै १५ पुस्तादेखिको पुर्खा बसेको स्थानमा घर र अर्काे मेरो जीवन,’ उनले कृतज्ञ हुँदै थपे।

कसरी?

‘मलाई केही समयअघि कोरोना भयो। डायबिटिजको रोगी, त्यसमाथि कोरोना, निकै थला पार्यो। दुर्गाजीले पुरै समय दिएर उपचार गराउनुभयो। राम्रो औषधि र हेरचाहले मलाई निको भयो। ८७ वर्षको मानिसलाई कोरोना भएपछि निको नहुन पनि सक्छ भन्ने चिन्ता थियो,’ उनले गह्रौं आवाजमा भने, ‘यतिसम्म कि उहाँले व्यक्तिगत प्रयोजनका लागि राखेको केही रकम समेत मेरो उपचारमा लगाएको थाहा पाएँ। मेरो जीवन दुर्गाजीले जोगाइदिएको उपहार हो। त्यसो त मेरो उपचारलाई चासो दिएर पार्टीका साथीहरुले पनि सहयोग गर्नुभएको थियो।’

त्यसो त आफ्नै घर बनाउने मोहनविक्रमको इच्छा पुरानै हो। ४० वर्षअघि नै दाइको जग्गा लिने तयारी गरिसकेका थिए। तर, अन्तिममा दाइले जग्गा नबेच्दा विवाद नै भएको थियो। 

‘चार रोपनी, आठ हजारमा कुरा मिलेको थियो, त्यसबेला त्यो रकम व्यवस्था गर्न सक्थेँ,’ उनले भने, ‘मेरो जग्गा आर्थिक रुपमा बाध्यता परेर बेचिसकेको थिएँ। त्यसपछि दाइको जग्गा किन्न खोजेको थिएँ, पछि दाइले अर्कैलाई बेचेर तराई झर्नुभयो। त्यही कुराले दाइसँग विवाद भयो। त्यसपछि झन् मलाई गाउँमै आफ्नै जग्गा नभई भएन भन्ने महसुस हुन थाल्यो।’

अहिले घर बनाएको दुई रोपनी जग्गा उनले १५ वर्षअघि किनेका हुन्। 

यो नयाँ घर बनाएपछि मोहनविक्रम दुई पटक प्युठान पुगिसके। केही दिन त्यही घरमा बसे।

‘सबै पार्टीका नेताहरुले गाउँ, पुर्ख्यौली थलो छाड्न थाले। गाउँमा मानिसहरु नबस्नुको कारण नेताहरु सहरमुखी भएर पनि हो,’ उनी भन्छन्, ‘सुरुदेखि नै गाउँप्रति माया भएकैले म फर्किन चाहेको हुँ।’

पत्नी दुर्गाका अनुसार कपिलवस्तुमा घर बनाउन खोज्दा मोहनविक्रमले अस्वीकार गरेका थिए।

‘मेरा माइतीका भाइहरूले कपिलवस्तुमा सुविधासम्पन्न ठाउँमा घर बनाउन जग्गा दिएका थिए, तर उहाँले मान्नुभएन,’ दुर्गाले भनिन्, ‘मलाई ओखरकोटमै बनाउनु छ भनेर अडान लिनुभयो, अनि त्यहाँको ढिस्को सम्याएर घर बनायौँ।’​

बुवाआमाको मृत्युपछि मोहनविक्रमको गाउँ आउजाउ ठप्प भयो। तर, उनको अंश भने बुबाले छुट्याइदिएका थिए, ओखरकोटमै। भूमिगतकालमा पनि उनी कयौँ पटक आफ्नो गाउँमा पुगेका थिए। 

‘एउटा जरुरी काम परेर मैले मेरो अंश बेचिदिएँ,’ उनले भने, ‘त्यसपछि मेरो प्युठानसँग भौगोलिक नाता टुट्यो।’

माओवादी जनयुद्ध सकिएपछि उनले पहिले बेचेकै जग्गामध्ये दुई रोपनी किने। 

उनले गाउँमा ढुङ्गा र माटोकै घर बनाउने योजना बनाएका थिए। तर, श्रीमती र दुई छोराहरुको सुझाव उनले नकार्न सकेनन् अनि कस्सिए पक्की घर बनाउन। 

अहिलेसम्म घर बनाउन ४० लाख रुपैयाँ लागिसकेको छ।

‘गाउँमा घर बनाउन शहरभन्दा गाह्रो रहेछ। सामान ढुवानी, श्रमिक यताउता गर्दा ठ्याक्कै डबल खर्च लाग्यो,’ उनले भने।

थुप्रै नेताहरुले आफूलाई आर्थिक सहयोग गरेको पनि उनले बताए।

‘साथीहरुले सिमेन्ट, रड, बालुवा, इँटा सहयोग गर्नुभयो, कतिले त ५० हजार रुपैयाँसम्म सहयोग गर्नुभएको छ, फिर्ता गर्न नपर्नेगरी,’ दुर्गाले भनिन्।

घर बनाउन केही मनकारीले दिएको सहयोगले मात्र पुग्ने थिएन। कामदार ज्याला निकै महंगो थियो। दुर्गाले भाइ र बहिनीहरूको सहयोग लिइन्। केही रकम उनीहरुले बैंकबाट ऋण लिए।

‘मेरा आफन्तले सहकारी र बैंकबाट २३ लाख निकालिदिनुभयो,’ दुर्गाले भनिन्, ‘अरु रकम जापान गएका भाइहरू पदम र सुवर्ण पौडेलले ६ लाख ५० हजार पठाए। यो त सबै ऋण हो।’

कान्छो छोराको साथमाा मोहनविक्रम सिंह

साम्यवादी समाजको परिकल्पना गरेर किशोरवयमै संघर्षमा होमिएका मोहनविक्रमले आम मानिसका लागि देखेका थुप्रै सपना थाती छन्। यद्यपि, आफ्नै गाउँमा एउटा घर बनाउने उनको धोको भने पुरा भएको छ। 

उनैले कम्युनिस्ट बनाएका, पार्टी सदस्यता दिएका अरु कैयन् कम्युनिस्ट चेलाहरूले काठमाडौँमै महल बनाएर अड्डा जमाइरहेका बेला सिंह बुढेसकालमै सही, आफ्नै थातथलो फर्केर एउटा सकारात्मक सन्देश दिन खोजेको दुर्गा बताउँछिन्।

‘जिन्दगीको उर्वर समय गाउँबाहिर, प्रवास र जेलको चिसो छिँडीमा बिताउनुभयो,’ दुर्गा भन्छिन्, ‘अब उहाँ गाउँमा फर्केर गाउँ र सहर जोड्न खोजिरहनुभएको छ।’ 
 

पुस २२, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.