ad ad

म्यागेजिन


६ पुस्ते अनुभव– रक्सी ब्रान्डमा पाका ‘लोयल’, युवा ‘चुजी’ : राजबहादुर शाह (भिडिओ)

६ पुस्ते अनुभव– रक्सी ब्रान्डमा पाका ‘लोयल’, युवा ‘चुजी’ : राजबहादुर शाह (भिडिओ)

जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह (तस्बिरः विक्रम राई)


वसन्त अर्याल
असोज २८, २०७८ बिहिबार १९:१०, काठमाडौँ

जाउलाखेल ग्रुपले सन् २०१८ मा ३ अर्ब लगानीमा ‘वार्सटाइनर’ बियर नेपाल भित्र्यायो। जर्मनीको टप ब्रान्ड नेपालमा पनि धेरैले मन पराउने कम्पनीको विश्वास थियो। 

तर, ३ वर्षको अवधिमा कम्पनीले सोचेअनुसार यो बियर नेपालमा चलेन।

विदेशमा राम्रो ब्रान्डको रुपमा परिचित वार्सटाइनरको स्वाद नेपालीको जिब्रोमा अलि बढी तीतो ठहरियो। 

संसारमा प्रायः बियर चिसो पिउने चलन छ। तर, नेपाली ज्यादा चिसो पनि रुचाउँदैनन्। 

नेपालमा धेरैजसोले १०–१२ डिग्री सेल्सियस चिसो बियर मात्रै खान्छन्। त्यसले बियरको स्वाद तीतो बनाउने जाउलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए।

उनका अनुसार वार्सटाइनरका केही ‘लोयल’ ग्राहक बनेका छन्। विदेश गएर आएका नेपाली पनि वार्सटाइनर बढी मन पराउँछन्। यो बियरका नियमित ग्राहक विस्तारै बढिरहेको शाहको भनाइ छ।

एक वर्षअघि मात्रै जाउलाखेल ग्रुपले अमेरिकी ब्रान्ड ‘बडवाइजर’ नेपाल भित्र्याएको छ। यो बियरलाई भने छोटो समयमै बढी रुचाइएको छ। कम्पनीलाई मागअनुसार बजारमा बियर पुर्याउन हम्मेहम्मे परिरहेको छ।

‘ग्राहकले जे मन पराउँछन् त्यही ल्याउनुपर्छ,’ शाह भन्छन् ‘त्यसैले हामीले बडवाइजर ल्याएका छौँ।’

वार्सटाइनर नेपाल ल्याउँदा जाउलाखेल ग्रुपले आधुनिक प्रविधि पनि भित्र्याएको छ। जर्मनीको जस्तो प्रविधि अमेरिकी, जापानीहरुको पनि नभएको शाह बताउँछन्। त्यसैले बडवाइजर जस्ता ब्रान्ड ल्याउन सहज भएको उनको भनाइ छ। 

‘बडवाइजर विश्वकै ठूलो ब्रान्डमा पर्छ। विश्वका कुनै पनि देशमा फेल भएको छैन। नेपालमा के हुन्छ हेरौँ,’ शाह भन्छन् ‘उनीहरुले नेपाल र भारतका उद्योग हेरेर बडवाइजर उत्पादन गर्न हामीसँग सम्झौता गरेका हुन्।’ 

उनका अनुसार अहिले बडवाइजरको ट्रेन्ड धेरै राम्रो छ। बडवाइजर वार्सटाइनरभन्दा ८ गुणा बढी बिक्री हुन थालेको छ। 

‘प्रतिस्पर्धीले बडवाइजर नेपालमा नचलोस् भनेर रकम समेत खर्च गरिरहेका छन्,’ उनले भने, ‘कुनै पनि ब्रान्ड जन्मिँदाबित्तिकै मार्न सजिलो हुन्छ। त्यसैले प्रतिस्पर्धीले हुर्काउन अवरोध गर्छन्।’

शाह मदिराको स्वाद छिटोछिटो परिवर्तन हुने बताउँछन्। उनका अनुसार उमेर समूहले त्यसमा ठूलो प्रभाव पार्छ। १८–२५, २५–३५, ३५–४५ र ४५ माथिको उमेर समूहले अलगअलग स्वाद मन पराउँछन्। 

४५ वर्षमाथिका ग्राहक कुनै एउटा ब्रान्डमा बढी ‘लोयल’ हुन्छन्। मेरो ब्रान्ड यही हो अरु खान्नँ भन्ने हुन्छ। 

‘३५ वर्षमाथिका विवाहितहरु आफ्नै श्रीमान्, श्रीमतीसँग बसेर खान रुचाउँछन्,’ उनी भन्छन्।

१८ देखि २५ सम्मका युवाहरु सबैभन्दा छिटो ब्रान्ड परिवर्तन गर्छन्। एउटै ब्रान्ड भन्ने हुँदैन। खाने कुरा फेसन भएको छ। जे नयाँ आयो चाखिहालौँ भन्ने हुन्छ। लोकल नाम राख्यो भने झन् रुचाउँछन्।

‘युवाहरु नयाँ कुरामा बढी चासो राख्ने स्वभावका हुन्छन्,’ शाह भन्छन् ‘उनीहरु मदिराको ब्रान्ड पनि फेरीफेरी सेवन गर्न रुचाउँछन्। एउटै ब्रान्डमा बस्दा बोरिङ भएको महसुस गर्छन्।’

‘मिड रेन्जको प्रोडक्ट खानेहरु रेस्टुरेन्टमा जाँदा देखाउन अलि महंगो प्रोडक्ट खाने गर्छन्। घर बसेर खाने, टीभी हेर्ने र सुत्ने ग्राहकले महंगोभन्दा ठिक्कको रोज्छन्,’ उनले थपे।

अचेलका कतिपय युवा मदिरा छुँदैनन्। खानेहरुले पनि पहिलेजस्तो एकै जनाले ६ बोतल बियर नपिउने शाह बताउँछन्। 

‘विषेशगरी अहिले काठमाडौं, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, पोखरा जस्ता ठूला सहरका युवाले फिटनेस, योगमा बढी ध्यान दिएका छन्। यस्ताले कम खान्छन्,’ उनले भने।​

रुस्लान भोड्काका ग्राहक गोल्डेन ओकमा 
जाउलाखेल ग्रुप रुस्लान भोड्काको माध्यमबाट नेपालमा चर्चित भएको थियो। जाउलाखेलको ठूलो बजार हिस्सा नै रुस्लान भोड्का रह्यो।

केही वर्षअघि सरकारले एकै पटक ह्वात्तै कर बढाइदियो। ८ सय रुपैयाँमा आइरहेको रुस्लान अहिले १६ सय रुपैयाँ पुग्न थालेको छ। २० वर्षदेखि खाइरहेका ग्राहकले पनि किन्न नसक्ने स्थिति भयो।

‘मूल्य बढेसँगै ग्राहक टिक्न सकेनन्, घटे,’ शाहले व्यापारको ट्रेन्ड सुनाए, ‘उनीहरु अहिले गोल्डेन ओक, ब्लु डाइमन्ड लिन थालेका छन्।’

ग्राहकको एउटा हिस्सा त्यो भन्दा पनि सस्तो ब्रान्डमा गएको छ। 

‘तीनचार वर्षअघि स्ट्रङ बियरलाई ठर्रा भन्थे। सार्वजनिक रुपमा त्यस्तो बियर धेरैले खाने थिएनन्,’ शाह भन्छन्, ‘अहिले युवा पुस्ताले छाती फुलाएर स्ट्रङ बियर खाइरहेका छन्।’

जाउलाखेल ग्रुपको उत्पादनमध्ये कहिले भोड्काको व्यापार बढ्ने र कहिले ह्विस्कीको व्यापार बढ्ने गरेको शाहले सुनाए। शाहको २० वर्षे अनुभवमा चारपाँच पटक भोड्का र ह्विस्कीबीच उछिनपाछिन भइसकेको छ।

‘कहिले भोड्का बढ्छ कहिले ह्विस्की। वाइन र बियर पनि तलमाथि हुन्छ,’ शाह भन्छन्, ‘हाम्रो मदिराको मूल्य बढ्दा ग्राहक घटिरहेका छन्। कोही दुबई, कोही मलेसिया गएका छन्। खाने मानिस नै घट्दैछन्। जाउलाखेल ग्रुपसँग ५–६ वटा राम्रो बान्ड छन्। एउटा घट्दा, एउटा बढ्दा व्यावसायिक सन्तुलन गर्न सकिएको छ।’

गुणस्तर छनोटमा ‘आइडिया’ कम
मदिरामा गुणस्तरका लागि सबैभन्दा उपयुक्त माध्यम विश्वासिलो कम्पनी छनोट गर्नु हो। कतिपय बहुराष्ट्रिय कम्पनीका उत्पादन पनि सुरुमा राम्रो र पछि गुणस्तर खस्किँदै जाने गरेको उनको भनाइ छ।

‘केही कम्पनीका मदिराको गुणस्तर पहिला एकदमै राम्रो हुन्छ,’ उनले भने ‘मार्केट लिएपछि नाफा बढाउन गुणस्तर घटाउने गरेका छन्। ग्राहक सचेत हुनुपर्छ।’

धेरै कम्पनीले प्याकेजिङमा बढी खर्च गर्छन्। प्याकेजिङलाई प्रतिकेस २ हजार रुपैयाँ खर्च गर्छन् भने स्प्रिटलाई ५ सय रुपैयाँ पनि छैन।

‘ग्राहकले प्याकेजिङका लागि पैसा तिरिरहेको हुन्छ। प्रोडक्टको लागि होइन,’ उनले भने ‘अहिलेको जेनेरेसनलाई हेर्दा राम्रो हुनुपर्यो, भित्र के छ मतलब हुँदैन।’

धेरैलाई मदिरा कस्तो हो भन्ने ‘आइडिया’ पनि नहुने उनी बताउँछन्।

पछिल्ला वर्षमा नेपाली मदिरा ब्रान्डमा समेत आकर्षण बढ्दै गएको छ। नेपाली मदिरामा मूल्यको अनुपातमा राजश्वको भार विदेशबाट आयातीत मदिरामा भन्दा बढी देखिने शाहको भनाइ छ।

‘यसैकारण नेपाली ब्रान्डले जति मात्रामा बजार लिनुपर्ने हो, सोअनुसार लिन सकिरहेको छैन। यदि सरकारले यसतर्फ उचित ध्यान पुर्याउन सकेमा यसक्षेत्रबाट अझ बढी राजश्व र रोजगारी सिर्जना हुने सम्भावना छ,’ उनी भन्छन्।

हाल राष्ट्रियताको कारणले पनि केही मात्रामा नेपाली ब्रान्ड खपत भइरहेको उनको ठम्याइ छ।

ग्राहकले मदिरा सेवन गर्दा आफूले कस्तो ब्रान्ड खाँदै छु भन्ने सधैँ ख्याल गर्नुपर्ने उनी बताउँछन्। 

बियरमा चर्को प्रतिस्पर्धा 
नेपालमा मदिरा खाने जनसंख्या ५० लाख मात्रै रहेको अनुमान छ। शाह नेपालमा वार्षिक १ करोड ५० लाख केस बियर खपत हुने गरेको बताउँछन्। प्रिमियम र मध्यमस्तरको रक्सीमा ४० देखि ५० लाख केस खपत हुन्छ।

अति कम मूल्यको मदिरा २ करोड बढी केस बिक्री हुने आकलन छ। तर, राजश्वको नेटभित्र रहेर बिक्री हुने परिमाण भने त्योभन्दा कम नै छ।

नेपालमा सस्तो बियरमा चर्को प्रतिस्पर्धा छ। स्किमबिना बजारमा बियर पठाउनै मुस्किल रहेको उनको भनाइ छ।

‘सम्पूर्ण मदिरामा हाम्रो बजार हिस्सा आधाभन्दा बढी छ। तर, बियरमा हामी दुईतीन प्रतिशत मात्रै छौँ,’ शाहले भने।

बियरमा नेपालमा लामो समय गोर्खा ब्रुअरीको एकाधिकार नै रह्यो। यसका लागि खेतान समूहले धेरै मेहनत गरेको थियो।

अहिले चौधरी ग्रुपको नेपाल आइसले राम्रो बजार लिइरहेको छ। यो बियर काठमाडौँभित्र बढी बिक्री हुन्छ। विशाल ग्रुपको अर्ना बियरले पनि राम्रो गरिरहेको छ। याक ब्रुअरीको बाह्रसिंगे चर्चामा छ। बजारमा हरेक वर्ष नयाँनयाँ बियर उत्पादक थपिइरहेका छन्। 

६ पुस्तादेखि मदिरा व्यवसायमा शाह 
राजबहादुर शाहको परिवार ६ पुस्तादेखि मदिरा व्यवसायमा लागेको छ। उनी आफैँ २० वर्षयता यही क्षेत्रमा सक्रिय छन्।

सुरक्षाका कारणले हजुरबुबाले पेस्तोल बोकेर मदिराको व्यापार गर्ने गरेको शाह सुनाउछन्। 

‘पहिला ठेक्का सिस्टममा रक्सीको व्यापार हुन्थ्यो। भारतबाट रक्सी आयात गरी नेपालमा वितरण हुन्थ्यो,’ उनी भन्छन्, ‘धेरै गुण्डागर्दी हुन्थ्यो।’

व्यवस्थित रुपमा नेपालमै मदिरा उत्पादनको सुरुवात भने राजबहादुरका बुबा विजयकुमार शाहले गरेका हुन्। 

सन् १९७३ मा विजयकुमारले जाउलाखेल डिस्टिलरी सुरु गरेका थिए। उनी हाल जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्। 

जाउलाखेल ग्रुपले सार्वजनिक र निजी कम्पनी सञ्चालन गरिरहेको छ। 

निजीतर्फका विजय डिस्टिलरी, राज ब्रुअरी, रोलिङ रिभर डिस्टिलर्स, जेजीआई डिस्ट्रिब्युसन लगायतका कम्पनी सञ्चालन गरिरहेको छ भने पब्लिक कम्पनीको रुपमा हिमालयन डिस्टिलरी छ। 

निजी कम्पनीहरुले रुस्लान भोड्का, वार्सटाइनर, बडवाइजरसहित नमस्ते, माउन्टेन आइसलगायतका बियर बिक्री गरिरहेको छ। ब्लु डाइमन्ड र अल्टिमेट जिन, ग्रान्डमास्टर रम लगायतका मदिरा पनि छन्। 

सार्वजनिक कम्पनीले रोयल ट्रेजर ह्विस्की, गोल्डेन ओक, ब्ल्याक ओक, ब्लु ओक, हिमालयन अइला उत्पादन गर्दै आएको छ। 

‘पहिला मार्केटिङको पनि समस्या थियो। अहिले पुरै डिजिटल मार्केटिङ भइरहेको छ,’ शाहले भने, ‘अहिले प्रविधिले उत्पादनमा सहजतासँगै प्रतिस्पर्धा पनि बढाई रहेको छ। बजारमा धेरै मदिरा व्यवसायी जन्मिएका छन्।’

कोभिडको समयमा मात्रै २० भन्दा बढी मदिरा उद्योग थपिएको शाह बताउँछन्। 

भिडिओ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .