ad ad

कारोबार


यसरी जुनी फेर्दै छन् क्लासिक कारहरू

यसरी जुनी फेर्दै छन् क्लासिक कारहरू

ओसवाल्ड कार (बेथ टिमिन्स)


बेथ टिमिन्स
असोज ३०, २०७८ शनिबार ८:५२, काठमाडौँ

ओसवाल्ड एउटा कालो ‘सन् १९५३ को मोरिस माइनर’ कार हो। तर उसको जैविक इन्धन पिउने मुटु एउटा विद्युतीय मोटरले प्रतिस्थापन भएपछि शान्त माउसजस्तै देखिएको छ। 

यसअघि कारको ६८ वर्ष पुरानो पेट्रोल इन्जिनले धेरै अरु ध्वनिहरुलाई लुकाइदिन्थ्यो। तर लन्डनस्थित थेम्स छेउमा मोटरसाइकल र अन्य ट्राफिकले फेरि प्राण हाल्न थालेका छन्, तपाईं काठ घिसार्दा निस्किनेजस्तै थोरै मात्र ‘क्रिक’ आवाज सुन्नुहुन्छ। 

विद्युतीय सवारीसाधन (ईभी)हरुको तस्बिरहरु आधुनिक प्रविधिसँगै बदलिइरहेका छन्। 

ओसवाल्ड म्याथ्यु क्विटर नामका व्यक्तिको स्वामित्वमा छ, जो पुरानो ‘ग्यास गजलर्स’लाई ‘स्क्र्यापहिप’ (झर्यामझुरुम) हुनबाट बचाउने मिसनमा छन्। उनले यसलाई ब्याट्री पावरमा रुपान्तरण गरेका छन् र सन् २०१७ मा एउटा कम्पनी नै स्थापना गरेका छन्– लन्डन इलेक्ट्रिक कार्स। 

भक्सहलमा एउटा रेलवे आर्कमुनिको ग्यारेजमा काम गर्दा गर्दै उनको दिन बित्छ। जहाँ कम्पनीले क्लासिक कारहरुमा रहेका कम्बस्टन इन्जिनलाई विद्युतीय मोटर र ब्याट्रीले प्रतिस्थापन गर्छ। यसो नहुने हो भने ती इन्जिनहरु स्क्र्याप हुन्छन्। 

यी पार्टपुर्जाचाहिँ बीमा कम्पनीले बन्द गरिदिएका तर क्षति नपुगेका मोटर र ब्याट्री भएका दुर्घटनामा परेका विद्युतीय कारहरु टेस्ला र निसान लिफहरुबाट उपलब्ध हुन्छन्। 

‘हामी नै निर्विकल्प रिसाइक्लिङ (पुनप्र्रयोज्य) हौँ’, क्विटर भन्छन्। 

यो कम्पनीले अहिले एउटा कन्भर्सन (एकलाई अर्कोमा रुपान्तरण) को २० हजार पाउन्ड स्टर्लिङ शुल्क लिन्छ जुन त्यति सस्तो होइन। तर यो शुल्कलाई ५ हजार पाउन्डमा झारेर कम्पनीले धेरै मानिसका लागि सहज बनाउने लक्ष्य राखेको छ। 

बेलायत सरकारले नयाँ ईभी किन्नेलाई २५ सय पाउन्ड अनुदान दिइरहँदा क्विटर कन्भर्सनका लागि पनि अनुदानको व्यवस्था हुनुपर्ने बताउँछन्। 

‘दशौँ लाख पुराना पेट्रोल र डिजेल कारहरु हाम्रो सडकमा खेर फाल्नु वाहियात हो र सरकारको ईभीमा छुटले यो प्रवृत्ति झनै बढाइरहेको छ’, उनी भन्छन्। 

‘स्क्र्याप भएका ईभी ब्याट्री (जसका कच्चा पदार्थको मूल्य आकाशिएको छ) लाई प्रयोग गर्न सस्ता पुराना कारहरुलाई सुपथ र सहज रुपमा रुपान्तरणको लागि सरकारले पहल गर्नुपर्छ’, उनी भन्छन्। 
***
अक्सफोर्डमा इलेक्ट्रोजेनिक कम्पनी चलाइरहेका स्टिभ ड्रमन्ड पनि यस कुरामा सहमत छन्। उनको कम्पनीले पनि पुराना कारलाई विद्युतीय पावर दिन्छ। 

‘एउटा इन्जिनमात्रै परिवर्तन गर्न सकिने अवस्थामा सरकारको नयाँ ईभी किन्न उपलब्ध सहुलियत र सुविधाले पूरै कार फ्याँक्नुपरिरहेको छ’, उनी थप्छन्। 

तर सरकारले पनि यसलाई ठूलै बजारका रुपमा लिनथालेको छ। 

यही बेला क्लासिक कारलाई विद्युतीयमा रुपान्तरण गर्दा केही वित्तीय सुविधा पनि उपलब्ध हुनथालेको छ। अरु क्लासिक कारहरु (सन् १९८१ जनवरी ८ अघि बनेका) व्यावसायिक प्रयोजनमा प्रयोग नभएसम्म सवारी करबाट मुक्त हुन्छन्। यसबाहेक कम्तीमा धेरै माइलेज नलिएसम्म यी कारको बीमा पनि सस्तो छ। यद्यपि यदि तपाईं यी कारलाई कन्भर्ट गर्दै हुनुहुन्छ भने यसको जानकारी बीमा सेवा प्रदायकलाई दिनुपर्छ। न्तिजा तपाईंको प्रिमियम बढ्नसक्छ। 

केचाहिँ निश्चित हो भने नयाँ विद्युतीय कार बनाउनभन्दा पुराना कारलाई विद्युतीय बनाउँदा थोरै मात्र कार्बनडाइअक्साइड उत्पादन हुन्छ। 

सरकारले लगानी गरेको जेमो पार्टनरशिपका अनुसार एउटा नयाँ पूर्ण विद्युतीय कारले यसको जीवनकालमा १८ टन सीओ२ उत्पादन गर्छ, यसको ४६ प्रतिशत निर्माणकै क्रममा हुनआउँछ।

यो भनेको एउटा स्ट्यान्डर्ड पेट्रोल गाडीका लागि २४ टन हुनआउँछ। 

क्विटरका अनुसार एउटा कार कन्भर्ट गर्न तीनदेखि छ महिनासम्म लाग्छ। कन्भर्ट गर्ने अनुभवमा भर पर्ने बताउँछन् उनी। त्यस्तै ग्राहकको चाहना र थप्न चाहेको विशेषताले भने जटिलता थप्ने उनी बताउँछन्। 

ओसवाल्डको रेन्ज भनेको ४० माइल हो। जुन लन्डनको हकमा भन्ने हो भने एक हप्ताको ड्राइभिङ हो। यसको लागि चार्जमा १ पाउन्ड खर्च हुन्छ। 

यसमा पनि केही क्लासिक कारहरु विद्युतीयमा रुपान्तरण गर्न सजिलो हुने क्विटर बताउँछन्। आस्टोन मार्टिन कारहरु भने विद्युतीय बनाउन केही जटिल मानिन्छन्। बेन्ट्ले र रोल्स रोयसका कारचाहिँ विद्युतीय बनाउन सजिलो रहेको उनको भनाइ छ। 

ड्रमन्डको अनुभवमा इलेक्ट्रोजेनिकमा पुराना माइनिस र ल्यान्ड रोभरहरु कन्भर्ट गर्न निकै सस्तो रहेको छ। कारप्रेमी उनको पहिलो काम बेलायतको राष्ट्रिय मोटर संग्रहालयमा भान्छाहरु सफा गर्ने थियो। तर विश्वकै पहिलो रुपान्तरित मोर्गान स्पोर्टस कार उनको अहिलेसम्मकै उत्साहपूर्ण परियोजना थियो।  

उनको कम्पनीले अहिले ग्लास्टनबरी फेस्टिभलका सबैजसो ल्यान्ड रोभरहरुलाई विद्युतीयमा रुपान्तरण गरिरहेको छ। 

‘हामी फेरि प्रयोगका लागि कार बनाउँछौँ, केवल संरक्षणका लागि मात्रै होइन’, उनी भन्छन्, ‘धेरै पेट्रोलियम क्लासिक कारले नै मानिसलाई घरसम्म पुर्याउँछन् तर हामी रेन्ज र पहुँचयोग्य बनाउने कामलाई बढाइरहेका छौँ।’ 

‘इन्जिनको घरघराहटलाई माया गर्नेहरुले ब्युँझेर कफीको गन्ध लिन जरुरी छ’, उनी भन्छन्। तर केही क्लासिक कारप्रेमीहरु भने यस्ता कारलाई विद्युतीयमा रुपान्तरण गर्नुलाई अपवित्र (नराम्रो) मान्छन्। 

‘हुन त मानिसहरुले आफ्नो कार यसै गर्नुपर्छ भन्न चाहन्न तर हाम्रो सम्पदा रुपान्तरण गर्दाको असरबारे पनि सोच्न मानिसहरुलाई सल्लाह दिन्छु’, फेडेरेसन अफ ब्रिटिस हिस्टोरिक भेहिकल्स क्लबका निर्देशक वाइने स्कट भन्छन्। 

‘इन्जिनको साउन्डट्राक कार अनुभवको एउटा अंग हो र यसैले यसलाई विशेष बनाउँछ। यसको रिफिटिङ भनेको त उत्कृष्ट रोलिङ स्टोन्स एल्बमलाई लिएर यसलाई फेरि क्यासियो किबोर्ड बनाएर मानिसहरुलाई उही अनुभव छ नि भनेजस्तो भयो’, उनी भन्छन्। 

बेलायतमा क्लासिक (पुराना) कारहरुको हिस्सा देशको कुल सवारीसाधनको कुल माइलेजको शून्य दशमलव २५ प्रतिशतभन्दा कम छ। त्यसकारण पनि वातावरणीय कुरा उठाएर पुराना कारलाई विद्युतीय बनाउन जरुरी नहुने स्कटको तर्क छ। 

तर फेरि विद्युतीय कारमा रुपान्तरण गर्ने लुनाजका संस्थापक डेभिड लोरेन्ज भने पुराना कार उद्योगलाई समय सुहाउँदो बनाउन एकपटक सोच्नैपर्ने बताउँछन्। उनको कम्पनीले त चर्चित बेलायती फुटबलर डेभिड बेकह्यामबाट समेत लगानी पाएको छ। यसले एउटा विद्युतीय रोल्स रोयसको लागि ५ लाखसम्म शुल्क लिन्छ। 

लोरेन्ज भन्छन् कि दिगो अभ्यासतिर जानुपर्ने विश्वको जोडले नै हाम्रो व्यवहारलाई पुनः सन्तुलनमा ल्याउने समयको वास्तविकता महशुस गराएको छ। 

‘यिनीहरु सुन्दर वस्तुहरु हुन् जो खतरामा छन्। र त्यहाँ त्यस्तो सोचाइ पनि छ कि युवापुस्ताका ड्राइभरहरु यसको संरक्षण चाहन्छन्, विद्युतीयमा रुपान्तरण गरेर यी कारको विरासत जोगाउन चाहन्छन्’, उनी भन्छन्।  बीबीसीबाट भावानुवाद। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .