ad ad

म्यागेजिन


यसकारण नयाँ पार्टी बनाउन चाहन्छन् माधव नेपाल

यसकारण नयाँ पार्टी बनाउन चाहन्छन् माधव नेपाल

बिनु सुवेदी
साउन १३, २०७८ बुधबार १८:३४,

गत असार २७ गते राति पार्टीभित्रको विवाद निरुपणका लागि बनेको एमाले कार्यदल बैठकमा १० बुँदे सहमति भएपछि उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरे। फोन लाउडस्पिकरमा राखेका रावलले नेपाललाई सहमतिका सबै बुँदा क्रमशः सुनाउँदै गए, नेपालले उताबाट ‘ठीक छ, ठीक छ’ भन्दै गए। 

जसै दसौँ नम्बर बुँदामा ‘ठीक छ’ भनेर नेपाल केही बोल्न खोज्दै थिए, रावलले झ्वाट्ट फोन काटिदिए। त्यसपछि कार्यदलका सदस्यहरूले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे, एमालेलाई अब कसैले फुटाउन नसक्ने सन्देश हावाको बेगमा फैलाइयो। 

तर, नेता नेपालले तुरुन्तै प्रतिवाद गरिहाले– अदालतको निर्णय प्रभावित हुनेगरी भएका कुनै पनि सम्झौता मान्य हुनेछैन।  नेपालको यो अभिव्यक्तिको पृष्ठभूमिमा उनले चाहेको सहमतिको अर्काे ११ औँ बुँदा छ, जुन त्यस दिन रावलले नेपाललाई सुनाएनन्। वैशाख ३० गते तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमै त्यसबारे सहमति जुटेको थियो। 

अब एकछिन २०७८ वैशाख ३० मा क्याप्टेन थापाको घरमा भएको छलफलतिर फर्किऊँ। वैशाख २७ मा प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको कसरतमा दलहरु थिए। ओलीलाई विश्वासको मत नदिएको एमालेको नेपाल समूह जता लाग्छ, सरकार उसैको बन्ने माहौल बनिरहेको थियो। त्यसैले एमालेको ओली समूह नेपाललाई मनाउनै पर्ने बाध्यतामा थियो। यही बाध्यताका कारण राजनीतिक र गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरू ओली र नेपाललाई जुटाउने कसरतमा लागिरहेका थिए। 

तिनैमध्येका एक हुन क्याप्टेन थापा। ०७५ जेठ ३ मा माओवादी केन्द्र र एमाले मिलेर नेकपा बन्नुअघि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको पहिलो बैठक पनि थापाकै घरमा भएको थियो, एउटा पार्टीमा दुई अध्यक्षको कल्पना त्यही बैठकबाट गरिएको थियो। 

क्याप्टेन रामेश्वर थापाकाे घरमा गत वैशाख ३० मा भएको ओली–नेपाल भेट।

वैशाख ३० को नेपाल–ओलीबीचको भेटमा पनि थापाले नै नेकपाकै मोडेलमा दुई अध्यक्षको प्रस्ताव अघि सारे। ओली नेपालबीच मौखिक समझदारी बन्यो पनि। तर, त्यतिखेर त्यो मौखिक सहमतिलाई उनीहरुले तुरुन्तै सार्वजनिक भने गरिहालेनन्। बरु पार्टी एकताका लागि भन्दै नेपालले ६ बुँदे माग अघि सारे, त्यसलाई सम्बोधन गर्नेगरी थप छलफल गर्न ओली तयार भए। र, बन्यो १० सदस्यीय कार्यदल। 

कार्यदलले सहमतिपत्रमा ओली र नेपालबीच  भएको सहमतिको त्यही ११ औँ बुँदा समावेश नगरेका कारण नै कार्यदलका सदस्यहरुको पञ्जाबाट नेपाल फुत्किएका हुन्। त्यसपछि आफैँले भरोसा गरेका कार्यदल सदस्यहरुलाई उनले विस्तारै छाड्दै गए। बरु ओलीविरोधी चट्टानी अडान कमजोर नबनोस् भनेरै नेपालले केन्द्रीय कमिटी र जनवर्गीय संगठनको साथ लिन थाले। 

पछिल्लो समय त उनी निकटस्थहरुले बोलाएको स्थायी कमिटी बैठकमै जाँदैनन्, गइहाले भने पनि छिटो निस्किन्छन्। गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा मतदानमा सहभागी नभएका आफू पक्षीय सांसदहरुसँग नेपालको मन बेस्सरी कुँडियो। 

त्यसपछि उनले विभिन्न फोरमहरुमा भने पनि, ‘मेरा दायाँ हात, बायाँ हात भनिएकैहरुले धोका दिए, तर संविधान, संसद्, लोकतन्त्रका लागि म एक्लै हिँड्न पनि तयार छु।’ उसो त नेता नेपालले पछिल्लो समय भीड गलत बाटोमा हिँडिरहेको छ भने एक्लै भए पनि सही दिशातिर जानुपर्छ भन्ने सन्देश आफ्ना निकटस्थहरुको मोबाइलमा समेत पठाइरहेका हुन्छन्। 

उनको यो पछिल्लो शैलीले पनि नेता नेपाल अब एमालेमा रहलान् भनेर पार्टीका स्थायी कमिटी सदस्यहरुले लगभग आश मारिसकेका छन्। स्वयम् नेपाललाई पनि स्थायी कमिटी सदस्यहरुको उतिविधि भरोसा छैन। कार्यदलबाट धोका पाएको महसुस उनले असार २७ र साउन ३ गते गरिसकेका छन्। अहिलेकै अवस्थामा नेपालले पार्टी फुटाइनै हाले भने पनि मुकुन्द न्यौपाने, बेदुराम भुसाल र रघुजी पन्तले मात्रै साथ दिने देखिन्छ। उसै पनि पन्त र भुसाल पार्टी एकता हुँदा स्थायी कमिटी सदस्य बनेका हुन्। केही अघिसम्म एमाले पदाधिकारीमा नेपाललाई समर्थन गर्नेहरुको वर्चश्व थियो। 

तर, २२ सांसदसहित तल्लो तहका कार्यकर्ताको दह्रो साथ नेपाललाई छ। त्यसैले पनि उनी हिजोआज स्थायी कमिटीका सदस्यहरुसँगभन्दा धेरै केन्द्रीय कमिटी, जनवर्गीय संगठन र विभागहरुमा आबद्ध कार्यकर्तासँग नै छलफल गर्न रुचाउँछन्। 

उसोभए नेता नेपाल एमालेमा रहन चाहन्नन् त?

‘कार्यदलले उहाँलाई ओलीजी बराबरीकै अधिकारसहित दोस्रो अध्यक्ष बनाउने निर्णय गरेको भए त्यो सम्भव थियो,’ उनीनिकट एक नेताले भने, ‘अब हल्लाखल्ला धेरै भयो, त्यही निहुँमा थप अपमान पनि गरियो। उहाँ दोस्रो अध्यक्ष दिए पनि ओलीसँग मिल्नुहुन्न।’

गत असार २७ गते बसेको कार्यदलको बैठक।
गत असार २७ गते बसेको कार्यदलको बैठक। 

नेपाललाई ओलीसँग विशेषतः एमालेसँग अलग्याउने चाहना ओलीदेखि अन्तराष्ट्रिय शक्ति केन्द्रको समेत भएको बुझाइ स्वयम् एमाले नेताहरुकै छ। मंगलबार मात्रै जनवर्गीय संगठनका अध्यक्ष र महासचिवहरुसँगको छलफलमा उपमहासचिव घनश्याम भुसालले पनि त्यही संकेत गरे। 

‘एमालेलाई अमेरिकाले फुटाउन चाहन्छ, ईयूले फुटाउन चाहन्छ, भारतले फुटाउन चाहन्छ, माओवादी, कांग्रेसले फुटाउन चाहन्छन्, र ओलीले पनि फुटाउन चाहन्छन्,’ उक्त कार्यक्रममा भुसालले भनेका थिए, ‘त्यसैले हामी माधव नेपालसहितको सिंगो एमाले निमार्णको पक्षमा छौँ।’ 

तर सोही कार्यक्रममा नेपालले भने ओलीले फेरि पनि आफूहरुलाई फसाउने षडयन्त्र गरिरहेकाले उनको पासोमा नपर्ने अभिव्यक्ति दिएर निस्किहाले। 

बरु गत साउन ३ गतेदेखि आफ्नो पक्षमा आएका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतसँग नेता नेपालले छलफल गरे, सरकारमा सहभागिता र आफूहरुले पाउने पदको भागबण्डाबारे परामर्श गरे। नेपाल समूह सरकारमा सहभागी हुन्छ भने सकेको धेरै सिट दिने मनस्थितिमा स्वयं देउवा र प्रचण्ड पनि छन्। 

‘यो सरकार निमार्णमा सबैभन्दा धेरै भूमिका नेपालजीले नै खेल्नुभएको हो, उहाँ आउनुहुन्छ भने हामीले कति दिन सक्छौँ अप्ठ्यारोमा पार्नुहुन्न,’ केही दिनअघि देउवासँग प्रचण्डले भनेका थिए। यसैअनुरुप गठबन्धनले प्रदेश र योजना आयोगमा पनि नेता नेपालका लागि एकएक सिट छुट्याएको छ। मन्त्रिमण्डलमा पनि कांग्रेस र माओवादीकै भाग काटेर भए पनि नेपाललाई दिने समझदारी प्रचण्ड र देउवाबीच बनेको छ। 

त्यतिमात्रै होइन ओलीबाहेकका कम्युनिस्टहरुको गठबन्धन बनाएर त्यसको नाम समाजवादी केन्द्र राख्ने र नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव प्रचण्डले गरेका छन्। ओलीसँग खास भरोसा पनि नभएको र गठबन्धनमा अलि धेरै भाउ भएको यो परिस्थितिमा माधव नेपाल सानो भए पनि अर्काे पार्टी गठन गर्न चाहन्छन्।  

त्यसमा स्थायी कमिटीको नभए केन्द्रीय सदस्यहरुको समर्थन हुनेछ भन्ने नेता नेपाललाई लागेको छ। तर एमालेलाई नै एकताबद्ध राख्नुपर्छ भन्नेहरुको मत पार्टीभित्र बलियो बन्दै जाँदा नेता नेपाल थप अप्ठ्यारोमा पर्दै गएका छन्। त्यसैले उनले बिहीबारको सत्ता गठबन्धनको बैठकमा पनि आफू नगएर केन्द्रीय सदस्य विजय पौडेललाई पठाए। पौडेलले अहिले नै आफ्नो पक्ष सरकारमा सामेल नहुने बताए पनि। 

तर, भीड खराबको पक्षमा दौडिरहेको छ भने एक्लै भए पनि विपरीत दिशातिर जानुपर्छ भन्ने नेता नेपालको यो समयको चट्टानी अडान हो। र, अहिले उनको दृष्टिमा सबैभन्दा खराब केपी ओली हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .