मधेस


बालेन प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा बाँडियो मिठाई, साँझ दीपावली गरिने

बालेन प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा बाँडियो मिठाई, साँझ दीपावली गरिने

एकडारा गाउँपालिका-१ स्थित प्रधानमन्त्री बालेनको पुर्ख्यौली घर। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस


नेपालखबर
चैत १३, २०८२ शुक्रबार १५:३९, जलेश्वर (महोत्तरी)

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली गाउँमा आज उत्सव मनाइएको छ।

महोत्तरीको एकडारा गाउँपालिका-१ स्थित पुर्ख्यौली गाउँ एकडारामा गाउँवासीले उत्सव मनाइएको हो।

एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलले शाह देशकै प्रमुख कार्यकारी पद (प्रधानमन्त्री) मा नियुक्त हुँदा जिल्लामै खुसीयाली मनाइएको बताए।

‘एकडारा-१ मात्र होइन, जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्’, उनले भने।

राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेसँगै एकडारावासी एकापसमा रङ, अबिर दलेर, फूलमाला लगाएर, एकापसमा अँगालो मारेर र शुभकामना तथा बधाई आदानप्रदान गरिरहेका एकडारा-१ का वडाध्यक्ष मनोज मण्डलले बताए।

वडाध्यक्ष मण्डलका अनुसार एकडाराको नाम इतिहासमा दर्ज भएको भन्दै पुर्ख्यौली गाउँमा उत्सव मनाइएको छ।

‘आज एकडारावासी घरघरमा मीठो पकवान पकाएर खाने, खुवाउने गर्दै छन्, एकडारा गाउँभरि र बटुवालाई विभिन्न लड्डु, पेडा तथा मिठाई बाँड्ने काम भइरहेको छ’, उनले भने।

प्रधानमन्त्री शाहको घर एकडारा-१ मा पर्छ।

उक्त घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ।

आज साँझ एकडाराको घरघरमा दीपावली मनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad