ad ad

मधेस


मधेस प्रदेश : आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि?

मधेस प्रदेश : आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि?

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ३:३९, काठमाडौँ

मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी आज दिउँसोबाट धनुषा क्षेत्र नं ४ र महोत्तरी क्षेत्र नं ४ मा मतगणना सुरु भएसँगै प्रदेशका सबै निर्वाचन क्षेत्रको मतगणना भइरहेको मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए। 

मधेस प्रदेशका धनुषा, सप्तरी, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी र बारासहित सबै जिल्लामा चार–चारवटा प्रतिनिधिसभा र आठ–आठवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।  

निर्वाचन आयोग र सम्बन्धित क्षेत्रका मतदान अधिकृतबाट प्राप्त विवरणलाई आधार मानेर हाम्रा स्थानीय समाचारदाताहरूले दिएको पछिल्लो जानकारी अनुसार यहाँका ३२ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस आठ, नेकपा (एमाले) छ, स्वतन्त्र उम्मेदवार पाँच, जनता समाजवादी पार्टीका उम्मेदवार पाँच, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी दुई–दुई स्थानमा अगाडि रहेका छन्।

निर्वाचन आयोगको परिणाम र स्थानीय समाचारदातासमेतको विवरणअनुसार प्रदेशका विभिन्न जिल्लाका आठ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्।
  
नेपाली कांग्रेसबाट सिरहा–१ मा पदमनारायण चौधरी, रौतहट–४ मा देवप्रसाद तिमलसेना, महोत्तरी–४ मा महेन्द्रकुमार राय, सप्तरी–३ मा दिनेशकुमार यादव, सप्तरी–४ तेजुलाल चौधरी, पर्सा–२ अजयकुमार चौरसिया, पर्सा–३ सुरेन्द्रकुमार चौधरी र पर्सा–४ मा रमेश रिजाल अगाडि छन्।
 

एमालेका आठ उम्मेदवारले पनि प्रदेशका विभिन्न आठ क्षेत्रमा अग्रता लिइरहेका छन्। यहाँ एमालेबाट धनुषा–३ मा जुलीकुमारी महतो, धनुषा–२ मा उमाशङ्कर अरगरिया, धनुषा–४ रघुवीर महासेठ, सिरहा–३ मा लीलानाथ श्रेष्ठ, बारा–१ मा अच्युतप्रसाद मैनाली र महोत्तरी–१ मा लक्ष्मी काइतो कोइरी अगाडि छन्।
 
यसैगरी माओवादी केन्द्रका दुई उम्मेदवारले अग्रता लिइरहेका छन्। सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्रराय यादव, सर्लाही–३ मा नरेन्द्र साह कलवारले अग्रता लिइरहेका छन्। एकीकृत समाजवादीबाट पनि रौतहट–१ मा पार्टी अध्यक्ष माधवकुमार नेपाल र बारा क्षेत्र नं ४ एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ अगाडि छन्।
 
मधेस आन्दोलनका मुख्य दलहरूमध्ये जनता समाजवादी पार्टी (जसपा) बाट सिरहा–४ वीरेन्द्रप्रसाद महतो, सप्तरी–१ मा नवलकिशोर साह सुडी, पर्सा–१ मा प्रदीप यादव, धनुषा–१ मा दीपक कार्की र बारा–३ मा रामबाबुकुमार यादवले अग्रता लिइरहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ रामप्रकाश चौधरीले अग्रता लिइरहनुभएको छ भने जनमत पार्टीबाट सप्तरी–२ मा पार्टी अध्यक्ष सिके राउत र सिरहा–२ मा विनोदकुमार यादव अगाडि छन्।
 
मधेस प्रदेशका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये पाँच जना स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्। महात्तरी–३ मा रामआधार कापर, रौतहट–२ मा किरणकुमार साह, रौतहट–३ मा प्रभु साह, सर्लाही–४ मा अमरेशकुमार सिंह र बारा–२ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव अग्रस्थानमा छन्।

महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर प्रतिस्पर्धामा छन्। यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले दुई हजार आठ सय ९३ मतसहित अग्रता लिइरहँदा ठाकुरले एक हजार पाँच सय ४५ मत प्राप्त गरेका छन्।

यसैगरी सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा छन्। त्यहाँ जनमत पार्टीका अध्यक्ष सिके राउत २२ हजार दुई सय ६० मत प्राप्त गर्दा यादव ११ हजार तीन सय २३ मतसहित पछाडि छन्।

यसैगरी सर्लाही–२ मा लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो सत्ता गठबन्धनकै उम्मेदवार महेन्द्र राय यादवसँग प्रतिस्पर्धामा छन्। यहाँ रायले दुई हजार तीन सय ४२ र महतोले एक हजार सात सय १५ मत प्राप्त गरेका छन्। लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्ण पर्सा–१ मा प्रतिस्पर्धामा छन्। यहाँ जसपाका प्रदीप यादव नौ हजार छ सय ३४ मतसहित अग्रस्थानमा हुँदा कर्ण पाँच सय २८ मतसहित चौथो स्थानमा छन्। 

यसैगरी लोसपा नेता अनिल झा धनुषा–३ मा एमाले उम्मेदवार जुलीकुमारी महतोभन्दा पछाडि छन्। यहाँ महतोले सात हजार पाँच सय ४४ र झाले छ हजार एक सय ६० मत प्राप्त गरेका छन्। 

यसैगरी नेकपा (माओवादी केन्द्र) उपमहासचिव मात्रिका यादव धनुषा–१ मा तेस्रो नम्बरमा छन्। यहाँ जसपा उम्मेदवार दीपक कार्कीले तीन हजार ६० ल्याउँदा यादवले एक हजार नौ सय ५१ मत प्राप्त गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .