मिटरब्याजीलाई कारबाहीको माग गर्दै मिटरब्याज पीडितहरूले जिल्ला अदालत धनुषा र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।
बिहीबार पक्राउ परेका मिटरब्याज पीडक भनिएकाहरू जनकपुरधाम १६ कपिलेश्वरका गोपाल साह, हरेराम साह र रेखा साहलाई कडा कारबाहीको माग गर्दै जिल्लाभरका मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन्।
मिटरब्याजपीडितहरूले हामीलाई ‘हाम्रो न्याय सुनिश्चित गर’ लगायतका विभिन्न नारासहितका प्लेकार्डसहित प्रदर्शन गरेका छ्न्।प्रदर्शनकारीहरुले पीडकलाई कडा कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका छ्न्।
एक पीडितको जाहेरीका आधारमा बिहीबार प्रहरीले तीन जना मिटरब्याजका आरोपीलाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जना एक परिवारका हुन्। प्रहरीले आरोपितको घर पनि खानतलासी गरी विभिन्न तम्मुसक लगायतका कागजात समेत बरामद गरेको थियो।
प्रहरी श्रोतका अनुसार हरेरामलाई काठमाडौँबाट तथा उनकी आमा रेखालाई भारत भाग्ने क्रममा जटही नाकाबाट र काका गोपाललाई पिडारी चोकस्थित जानकीवाटिका होटलबाट पक्राउ गरिएको हो। हरेरामका बुवा बलराम साह भने हाल फरार रहेका छन्।
प्रदर्शनकारीहरूले आरोपितहरू धेरैजनाको धनसम्पति बेइमानीपूर्वक कब्जा गरेको आरोप लगाएका छन्। उनीहरू भन्छन्, ‘ऋण लिएको रकम फिर्ता गरिसकेपनि तमसुक र जग्गा फिर्ता गरिएको छैन।’

प्रदर्शनमा सहभागी पीडित फूलकुमारी साहका अनुसरा यसअघि पनि सोही परिवारका गोपाल साह पक्राउ परेका थिए। तर कारबाही नगरी सेटिङमा छाडिएको पीडितको आरोप छ। सो चलखेल यस पटक पनि नहोस् भन्ने उद्देश्यले अदालत र प्रहरीमाथि दबाब बनाउन प्रदर्शन गरिएको साह बताउँछिन्।
पक्राउ परेकाहरूमाथि अनुचित लेनदेन सम्बन्धी मुद्दा दर्ता भई म्याद थपका लागि जिल्ला अदालतमा हाजिर गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए। प्रहरीले हरेरामको अफिसमा छापामारीसमेत गरेको थियो, यद्यपी यस सन्दर्भमा खुलाउन नमिल्ने न्यौपानेको भनाई थियो।
साह परिवारले विभिन्न कृषि फार्म सञ्चालन गर्दै आएका छ्न्। ती कृषि कम्पनीको नाममा सरकारी अनुदान लिने र सोही रकमको दुरुपयोग गरि कडा मिटर ब्याजमा लगाउने गरेको पीडितहरूको आरोप छ। जग्गा रजिष्ट्रेसन पास गरेर चर्को ब्जाजमा ऋण दिने र ऋण चुक्ता गरिदिए पनि जग्गा फिर्ता नगर्ने लगायतका कार्य साह परिवारले गर्दै आएको मिटर ब्याज पीडित संघर्ष समितिको भनाई छ ।
Shares

प्रतिक्रिया