प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले मधेस प्रदेशबाट उल्लेखनीय रुपमा युवाको प्रतिनिधित्व भएको छ। इतिहासमै मधेबाट पहिलो पटक प्रतिनिधिसभामा अत्यधिक युवा पुगेका छन्। यद्यपी अहिले संसदमा देशभरबाटै उल्लेख्य रुपमा युवाको प्रतिनिधित्व भएको छ।
निर्वाचन आयोगको तथ्यांक अनुसार मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ३७.५ प्रतिशत अर्थात् एकजना जेनजीसहित १२ जना ४० भन्दा कम उमेर समूहका युवाले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका छन्। ४० देखि ५० वर्ष उमेर समूहका पनि १२ जना निर्वाचित भएका छन्।
बाँकी ८ जना मात्रै ५० वर्षमाथिका उमेर समूहका विजयी भएका हुन्। यसले मधेशमा युवा नेतृत्वको उपस्थिति उल्लेखनीय रूपमा बढेको देखिन्छ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेसमा एकजना मात्र एमालेबाट वर्ष ४० की ज्वाला कुमारी साह निर्वाचित भएकी थिइन् भने ५० वर्ष मुनि उमेर समूहका रौतहट २ बाट स्वतन्त्र वर्ष ४४ का किरण कुमार साह, धनुषा ३ बाट वर्ष ४६ का एमालेकी जुली महतो, सप्तरी २ बाट वर्ष ४५ का जनमत पार्टीका डा सिके राउत र पर्सा २ बाट वर्ष ४७ का जसपा नेपालबाट प्रदीप यादव गरी ५ जना मात्र विजयी भएका थिए।
मधेसबाट विजयी हुने सबैभन्दा कम उमेरका सिरहा–१ बाट निर्वाचित २८ वर्षीय बब्लु गुप्ता हुन्। उनले नेपाली कांग्रेसका नेता रामसुन्दर चौधरीलाई ठूलो मतान्तरले पराजित गरेका छन्।
४० वर्षमुनिका विजयी उम्मेदवारहरूमा सर्लाही–२ का ३८ वर्षीय रबिन महतो, बारा–४ का ३९ वर्षीय रहबर अन्सारी, सिरहा–२ का ३० वर्षीय शिवशंकर यादव, सप्तरी–१ की ३६ वर्षीया पुष्पा चौधरी, सप्तरी–२ का ३० वर्षीय रामजी यादव, सिरहा–४ का ३३ वर्षीय तपेश्वर यादव, महोत्तरी–१ का ४० वर्षीय प्रमोद महतो, महोत्तरी–२ का ३४ वर्षीय दीपक कुमार साह, महोत्तरी–३ का ३३ वर्षीय उज्ज्वल कुमार झा, पर्सा–२ का ३६ वर्षीय सुशील कानु तथा रौतहट–२ बाट कांग्रेसका डा फिरदोस आलम रहेका छन्।
सिरहा–४ का तपेश्वर यादवले राजकिशोर यादव, धर्मनाथ साह, विरेन्द्र प्रसाद महतो र अजयशंकर नायकजस्ता चारजना पूर्वमन्त्री तथा स्थापित नेताहरूलाई २८ हजारभन्दा बढी मतान्तरले हराउँदै चर्चा बटुलेका छन्। त्यसैगरी सप्तरी–२ का रामजी यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पराजित गरेका छन्। रामजी यादवले २८ हजार ४०४ मत ल्याउँदा उपेन्द्र यादवले १४ हजार २६३ मत मात्रै प्राप्त गरेका थिए।
४० देखि ५० वर्ष उमेर समूहका १२ जना उम्मेदवार पनि निर्वाचित भएका छन्। यस समूहमा सर्लाही–१ की ४३ वर्षीया नितिमा कार्की, धनुषा–३ का ४५ वर्षीय मनीष झा, धनुषा–२ का ४९ वर्षीय रामविनोद यादव, बारा–३ का ४१ वर्षीय अरविन्द साह, बारा–१ का ४३ वर्षीय गणेश धिमाल, रौतहट–४ का ४३ वर्षीय गणेश पौडेल, बारा–२ का ४२ वर्षीय चन्दन सिंह, सप्तरी–३ का ४४ वर्षीय अमरकान्त चौधरी, सिरहा–३ का ४१ वर्षीय शम्भुकुमार यादव, पर्सा–४ का ५० वर्षीय टेकबहादुर शाक्य, रौतहट–३ का ४८ वर्षीय रविन्द्र पटेल तथा पर्सा–१ का ४६ वर्षीय बुद्धिप्रसाद पन्त रहेका छन्।
५० वर्षभन्दा माथिका विजयी उम्मेदवारमध्ये धनुषा–१ बाट नेकपाका मातृका यादव बाहेक अन्य सात जना राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। यस समूहमा धनुषा–४ का ५१ वर्षीय राजकिशोर महतो, सर्लाही–३ का ५३ वर्षीय नरेन्द्र साह कलवार, सप्तरी–४ का ६५ वर्षीय सीताराम साह, सर्लाही–४ का ५५ वर्षीय अमरेश सिंह, महोत्तरी–४ की ५४ वर्षीया गौरी कुमारी, पर्सा–३ का ५७ वर्षीय रामाकान्त चौरसिया र रौतहट–१ का ५४ वर्षीय राजेश्वर चौधरी रहेका छन्।
यसपटकको निर्वाचन परिणामले संसदमा नयाँ पुस्ताको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ। यसले नेपाली राजनीतिमा पुस्तान्तरणको बहसलाई थप तीव्र बनाउने राजनीतिक विश्लेषकहरू बताउँछन्।
राजनीतिक विश्लेषक रोशन जनकपुरी भन्छन्, ‘मधेशमा मात्रै होइन देशैभरि युवाहरूको राम्रो प्रतिनिधित्व प्रतिनिधि सभामा भएको मतपरिणामले देखाउँछ। तर यो पहिलो पटक होइन यसअघि पनि २०४८ होस् वा २०६५ को निर्वाचनमा पनि बढी युवाहरूले बढी प्रतिनिधित्व गरेका थिए। प्रत्येक १५/२० वर्षमा पुस्तान्तरणको आवाज उठ्छ र यसपटक पनि उठेको हो। आज जसले प्रतिनिधित्व गरेका अर्को १५ वर्षपछि पाको हुन गएपछि फेरि अर्को चरणमा यस्तै पुस्तान्तरणको आवाज उठनेछ। तर यसपटक बढी प्रतिनिधित्व गरेका जसको कतै न कतै जेनजी आन्दोलनको श्रेय जान्छ।’
रास्वपाबाट बढी युवा प्रतिनिधित्व गर्नुको कारण उसले बढी उम्मेदवार युवालाई नै बनाएको उनले बताए। अन्य दलले जेनजी आन्दोलनको भावना अनुसार युवाहरूलाई ग्राहयता नदिई पाको उमेरकालाई उम्मेदवार बनाउँदा फरक परिणाम भोग्नु परेको हो।
जनकपुरीले भने, ‘रास्वपा मात्र होइन कांग्रेस एमालेबाट पनि युवाहरूले जितेका छन्। जस्तै रौतहट २ मा कांग्रेसका फिरदोस आलम र इलामबाट एमालेका सुहाङ नेम्वाङ।’
राजनीतिमा चासो राख्ने पत्रकार अवधेश कामतले पनि पुस्तान्तरणको प्रयास यसअघि पनि भइसकेको बताउँछन्।
‘युवाले मात्रै परिवर्तन ल्याउन सक्छन् भन्ने दाबी पनि शतप्रतिशत सही होइन। कुनैपनि परिवर्तन युवाहको सहभागिता बिना सम्भव छैन तर युवाले मात्रै हुने यथार्थता होइन’ उनले भने, ‘किनकी अहिले विश्व हाँकिरहेका राष्ट्रपति ट्रम्प हुन् वा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चाहे चीनका राष्ट्रपति सी जिम्पिङ हुन् सबै पाको उमेरकै हुन्। संसार हाँक्ने अधिकांश राष्ट्रप्रमुख पाको उमेर समूहकै छन्। सत्तामा पुग्नु र संचालन तथा सफल कार्यान्वयन दुवै फरक कुरा हुन्।’
नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक शक्तिको नारा दिएर रास्वपाले युवालाई अघि सारेका कारण यसपटक युवाहरूको अत्यधिक प्रतिनिधित्व सम्भव भएको हो। पार्टीले चुनावअघि नै ३६ वर्षीय बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सार्वजनिक गरेको थियो। यसको प्रभाव देशभर देखिएको र मधेसमा पनि उल्लेखनीय रूपमा युवाले सफलता हासिल गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
Shares

प्रतिक्रिया