मधेस


सप्तरी ३ का रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप, अख्तियारले बयानमा बोलायो

सप्तरी ३ का रास्वपा उम्मेदवार चौधरीमाथि भ्रष्टाचार आरोप, अख्तियारले बयानमा बोलायो

सुभाष कर्ण
माघ २२, २०८२ बिहिबार १९:४९, जनकपुरधाम

सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरीलाई भ्रष्टाचारको आरोप लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनलाई बयानका लागि  बोलाएको छ।

आयोगले चौधरीसहित नौ जनालाई बयानका लागि  इटहरीस्थित कार्यालयमा उपस्थित गराउन डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गरेको हो।

डाक्नेश्वरी नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणमा मिलेमतो गरी भ्रष्टाचार गरेको उजुरीमा अनुसन्धान गर्नुपर्ने भएकाले माघ २३ गते उपस्थित गराई दिन नगरपालिकालाई आयोगले माघ २० गते  पत्राचार गरेको खुलेको छ।

चौधरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन्। विद्यालय भवन निर्माणको काममा भ्रष्टाचार गरेको आरोपमा चौधरीसहित अन्य ८ जनालाई बयानका लागि बोलाइएको पत्रमा उल्लेख छ। 

नगर प्रमुख रामलखन मलाहका अनुसार आयोगले उनीहरूलाई बोलाएको यो पहिलो पटक होइन। यसअघि नै चार वटा पत्र आइसकेको छ। 

हाजिर हुन पटक पटक आग्रह गर्दा पनि अटेर गर्दै आएको नगरप्रमुख मलाहले जिकीर गरे।

आफूले चौधरीसँग यस विषयमा धेरै पटक सम्पर्क गर्न खोज्दा पनि भेट हुन नसकेको उनले बताए।

नगर प्रमुख मलाहका अनुसार उनकै बुवाले विद्यालयका लागि दान दिएको जग्गामा नमूना विद्यालय अन्तर्गतको शिर्षकमा भवन निर्माण, पुस्तक वितरण, प्रयोगशाला, कम्प्यूटर ल्याब गरी एक करोडभन्दा बढीको बजेट संघ सरकारबाट आएको थियो। जसमध्ये ४९ लाख रुपैयाँ भ्रष्टाचार गरेको उजुरी परेको हो। 

चौधरीका बुवाले एक विघा १७ कट्ठा जग्गा विद्यालयको नाममा अनुदान दिएको तर १४/१५ कट्ठा मात्र विद्यालयको नाममा रजिष्ट्रेसन गरी बाँकी जग्गा आफ्नै अधिनमा राखेको विषयमा पनि अख्तियारमा उजुरी परेको छ। 

सोही जग्गामा फुटबल खेल ग्राउन्ड निर्माणका लागि माटो भराउन करिब ९० लाख रुपैयाँ भ्रष्टाचार गरेको समेत बुझिएको नगरप्रमुख मलाहले बताए। 

मलाहका अनुसार अख्तियारले कयौं पटक पत्र काटेको छ। तर, चौधरीसमेतका व्यक्तिहरू हाजिर भएका छैनन्।

स्थानीयले भने अख्तियारकै ढिलासुस्तीको कारण यो मुद्दा अघि बढ्न नसकेको र लामो समय विचाराधिन अवस्थामा रहेको अन्दै असन्तुष्टी व्यक्त गरेका छन्।

अख्तियार पटक पटक पत्र काट्दा सम्पर्कमा नआएपछि यसपटक प्रशासनको सहयोगमा पालिकाका कर्मचारीमार्फत उनलाई बयानका लागि अख्तियारको जिम्मा लगाउन लागिएको हो।

अख्तियारले बयानका लागि हाजिर गराउन भनिएकाहरूमा चौधरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् भने सतेन्द्र मण्डल, रुन्जी देवी सादा, कवितासिंह, श्यामाला देवी मण्डल, दुखरण मण्डल, रामसागर मण्डल सदस्य हुन्।

यस्तै, योगेन्द्र प्रसाद मेहता तत्कालीन प्रधानाध्यापक र सुभाष कुमार साह तत्कालीन सहायक प्रधानाध्यापक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad