मधेस


एमालेको कार्यक्रममा प्रदेश मन्त्रीले बोल्न पाएनन्, फेसबुकमा लेखे- अस्वीकृतहरूको पट्यारलाग्दो भाषण

एमालेको कार्यक्रममा प्रदेश मन्त्रीले बोल्न पाएनन्, फेसबुकमा लेखे- अस्वीकृतहरूको पट्यारलाग्दो भाषण

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार २१:५३, विराटनगर

नेकपा एमालेले शनिबार देशैभरि विरोध सभाको आयोजना गर्‍यो। प्रतिनिधिसभा पुनस्र्थापित गर्नुपर्ने, संविधानको रक्षा लगायत विभिन्न मागहरू राख्दै गरिएको सडक प्रदर्शनमा मोटरसाइकल र्‍यालीदेखि कोणसभाहरू आयोजना भए।

देशभरि नै आयोजना गरिएको कार्यक्रमलाई केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए। कोसी प्रदेशका १४ वटै जिल्लामा कार्यक्रम आयोजना गरिएको थियो। 

सबै जिल्लामा केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए। त्यही सम्बोधन गर्ने क्रममा खोटाङमा भने फरक परिदृश्य देखिएको छ। खोटाङको कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले सम्बोधन गरेका थिए। उनीसँगै चार जना केन्द्रीय सदस्यले पनि बोलेका  थिए।

नेकपा एमालेका केन्द्रीय नेताहरूले भाषण गरे पनि कोसी प्रदेशका सामाजिक विकास मन्त्रीलाई भाषण गर्न नदिएको भन्दै उनले नेतृत्वको आलोचना गरेका छन्।

कोसी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले जनताबाट अस्वीकृतहरूको पट्यारलाग्दो भाषण भनेर टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा भनिएको छ, ‘आजको कोणसभा जनताबाट अस्वीकृतहरूको पट्यार लाग्दो  भाषण? धेरै सहभागीहरूको जन गुनासो, हामी सवैमा चेतना भया।’

मन्त्री राईले  विशाल भट्टराईलाई लक्षित गरी लेखिएको यो अभिव्यक्तिले एमालेभित्र तीव्र ध्रुवीकरण देखिएको आँकलन गरिएको छ।यस बारेमा सामाजिक विकास मन्त्री राईसँग प्रतिक्रिया लिँदा उनले विशाल भट्टराईकै कारण आफूलाई अपमान गरिएको बताएका छन्।

खोटाङको विभिन्न पालिकामा एमालेको अभियान सञ्चालन गरी तीन दिनदेखि जिल्लामा रहेको अवस्थामा आफूलाई पार्टी कार्यक्रम आयोजकले सम्मानजनक व्यवहार नगरेको मन्त्री राईले बताएका छन्। कार्यक्रममा प्रदेशको मन्त्री भएर उपस्थित हुँदाहुँदै पनि मञ्चमा बोल्न नदिइएको भन्दै उनले खुला असन्तुष्टि जनाएका हुन्।

राईले आफूलाई मन्त्रीको हैसियतले दुई शब्द भन्न समेत नदिएको व्यवहार एमालेको आन्तरिक संस्कार विपरीत रहेको समेत भन्न भ्याएका छन्।उनले भने, ‘म प्रदेश सरकारको मन्त्री हुँ, तीन-तीन पालिका अभियान सञ्चालन गरेर आएको मान्छे हुँ। तर मन्त्रीलाई मञ्चमा नबोलाउने?  मैले पनि प्रदेश सरकारले गरेको कामको बारेमा भन्ने थिएँ होला नि।’

मन्त्री राईले विशाल भट्टराई नेतृत्व रहेको कार्यक्रममा व्यवस्थापन पक्षले आफूलाई होच्याएर रोकिएको दाबी गर्दै पार्टी जिल्ला अध्यक्षलाई नै यसबारे सोध्न आग्रह गरेका थिए।

उनले थपे, ‘यो सामान्य कुरा होइन। एमालेले चलाइरहेको अभियानमै यस्तो भेदभाव देखियो। कोसी प्रदेशको मन्त्रीलाई सम्बोधन नै नगर्नु के राजनीतिक आचरण हो?’

यसबारेमा नेकपा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले जनप्रदर्शन कार्यक्रम परम्परागत शैलीभन्दा फरक ढंगले आयोजना भएकाले केही नेताहरू कार्यक्रमको औपचारिक सूचीमा नपरेको बताए।

उनका अनुसार, यस पटक चोक-चोकमा ‘कोण सभा’ शैलीमा कार्यक्रम राखिएको र एउटै मञ्चमा लामो भाषण गर्ने पुरानो ढाँचा परिवर्तन गरिएको थियो। सोही कारण मन्त्री पिके राई सहित केही केन्द्रीय सल्लाहकार तथा प्रदेश नेताहरू पनि वक्ता सूचीमा नपरेको उनले बताए।

‘उहाँ (मन्त्री पिके राई) कुनै कमिटीमा हुनुहुन्न, उहाँ निर्वाचित जनप्रतिनिधि र मन्त्री हुनुहुन्छ। चार जना केन्द्रीय सदस्यले कार्यक्रम सम्बोधन गर्ने र अध्यक्षले बोलेर कार्यक्रम सक्ने गरी  कोटा भरियो,’ राईले भने, ‘यो कुनै असमान व्यवहार होइन, योजनाबद्ध कार्यक्रमको कारण मात्र हो।’

मन्त्री राई  पार्टीले बोलाएको अरू कार्यक्रममा पनि  धेरैजसो नजाने गरेको र अहिले मात्रै  चासो देखिएको उनले बताए। अध्यक्ष राईका अनुसार, मन्त्री पिके राईको स्ट्याटस कसरी र किन लेखियो भन्ने विषयमा त्यो व्यक्तिगत मनोभाव हुन सक्ने टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad