मधेस


समानुपातिक सांसदहरूलाई विभेद गरिएको गुनासो

समानुपातिक सांसदहरूलाई विभेद गरिएको गुनासो

नेपालखबर
असार ८, २०८३ सोमबार २१:९, जनकपुरधाम

सरकार र प्रत्यक्षतर्फका सांसदहरूले समानुपातिकबाट निर्वाचित भएका सांसदहरूलाई विभेद गर्ने गरेको आरोप लगाइएको छ।

सामुदायिक सुधार केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्ने सांसदहरूले यस्तो आरोप लगाएका हुन्। उनीहरूले प्रदेश सरकारले बजेट विनियोजन, बोल्ने समयलगायतका विषयमा विभेद गर्ने गरेको आरोप लगाए। 

कार्यक्रममा सहभागी सांसद ममता मण्डलले प्रत्यक्षतर्फका सांसदहरू खास गरी पुरुषहरूले हेपाहा दृष्टिकोणले हेर्ने गरेको बताइन्। 

यस्तै सांसद रेखा ठाकुरले आफू समानुपातिकबाट निर्वाचित सांसदहरूलाई पार्टीका संसदीय दलले सदनमा बोल्ने अवसर नै नदिइने बताइन्।

‘खाली विश्वासको मतका दिन ह्विप जारी गर्ने र अल्पमत बहुमतमा हात उठाउन मतियारको रूपमा प्रयोग गर्ने गरिएको छ,’ उनले गुनासो गरिन्।

सांसद हसिना खातुनले कामै पूरा नभएको अधुरा योजनाको पनि प्रदेश सरकारले रकम भुक्तानी गरेको विषय सदनमा उठाउँदा बिचौलिया र दलालहरूले आफ्नो घरमा तोडफोड गरेर धाकधम्की दिइएको बताइन्। 

आफ्नो घरमा भएको आक्रमणबारे प्रदेश सरकार, आफ्नो दल र सभामुखसमेतलाई जानकारी गराउँदा पनि कुनै चासो नलिइएको उनको भनाइ छ।

‘यहाँसम्म कि प्रहरी प्रशासनलाई समेत घटनाबारे जानकारी गराउँदा कुनै एक्सन लिइएन। न्यायका लागि कहाँ कुरा राख्ने?,’ उनले प्रश्न गरिन्।

यस्तै अर्की सांसद भाग्यश्री चौधरीले दलहरू सरकार ढाल्ने र बनाउने क्रियाकलापमा लागेकाले प्रदेशको अवस्था दिनदिनै खस्किँदै गएको आरोप लगाइन्।

प्रदेशसभाको बैठक बस्नुअघि संसदीय दलहरूको बैठक नबस्ने गरेकाले सदनमा बोल्न चाहने महिला तथा सीमान्तकृत सांसदहरूले अवसर नपाउने गरेको उनको भनाइ छ। 

कार्यक्रममा सहजकर्ताको रूपमा रहेका पूर्वसांसद परमेश्वर साहले प्रत्यक्ष र समानुपातिक दुवैतर्फका सांसद संवैधानिकरूपमा समान भएको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad