दुई समुदायबीच झडप भएपछि पर्साको वीरगन्जमा शनिबार साँझदेखि कर्फ्यु लगाइएको छ।
सुरुमा शनिबार साँझ ७:३० देखि आज (आइतबार) दिउँसो १२ बजेसम्मका लागि लगाएको कर्फ्यु जिल्ला प्रशासन कार्यालय पर्साले राति १२ बजेसम्मलाई लम्ब्याएको छ।
यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले सामाजिक सञ्जालमा वीरगन्जको अवस्थाबारे भ्रामक भिडिओ भाइरल पारिएकाले त्यसमा विश्वास नगर्न अनुरोध गरेका छन्।
“एकाबिहान वीरगन्जको अवस्था” भन्ने क्याप्सन लेखेर आगलागी भइरहेको सवारीसाधनको भिडिओ अनर्गल र मिथ्या भएको उनले बताएका छन्।
शनिबार साँझ ७:३० बजेदेखि कर्फ्यु लगाएयता वीरगन्जको जनजीवन सामान्य रहेको जानकारी उनले दिएका छन्।
विज्ञप्तिमार्फत प्रमुख जिल्ला अधिकारी अर्यालले भनेका छन्, ‘उक्त भिडिओ भ्रामक रहेको हुँदा अनर्गल एवं मिथ्या समाचारका पछाडि नलाग्न हुन सर्वसाधारण सबैमा अनुरोध छ।’
सहमतिका लागि जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि सर्वपक्षीय बैठक राखेर प्रयास गरिरहेको छ।
हनुमान जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमका क्रममा शनिबार वीरगन्जमा दुवै समूहबीच ढुंगा हानाहान भएको थियो।
त्यस क्रममा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीतर्फ पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना तथा सशस्त्र प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित ८ जना घाइते भएका छन्।
यस्तै सर्वसाधारणतर्फ १२ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया