मधेस


चुरे तथा वनजंगल संरक्षण अभियानले प्रदेश सरकारलाई बुझायो ज्ञापन

चुरे तथा वनजंगल संरक्षण अभियानले प्रदेश सरकारलाई बुझायो ज्ञापन

नेपालखबर
असार १०, २०८३ बुधबार १९:१०, जनकपुरधाम

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले वन क्षेत्रसँग सम्बन्धित विभिन्न माग गर्दै वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा वन तथा वातावरण मन्त्रालयले विगतमा गरेका निर्णयहरू कार्यान्वयन नभएको भन्दै अभियानले ज्ञापन बुझाएको हो।

अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बुझाएको ज्ञापनपत्रमा मन्त्रालय र मुख्यमन्त्री कार्यालयको निर्णयअनुसार रौतहट डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहलाई सरुवा गरी हाजिर हुन निर्देशन दिइएको लामो समय बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरिएको छ। यसले सरकारी निर्णयहरू प्रभावहीन बन्दै गएको सन्देश दिएको अभियानी यादवको भनाइ छ।

ज्ञापनपत्रमा रौतहट वन क्षेत्रसँग सम्बन्धित विभिन्न अनियमितता तथा घटनाको छानबिन गर्न गठित समितिहरूले प्रतिवेदन बुझाइसकेको भए पनि ती प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन नगरिनु शंकास्पद देखिएको उल्लेख छ। अभियानले छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेको छ।

यस्तै, महोत्तरीको बर्दिवास–कालापानी क्षेत्रमा वन अतिक्रमण नियन्त्रणका क्रममा वन कर्मचारी श्वेता झा, सुमन श्रेष्ठसहित सात जना कर्मचारीलाई ६–७ घण्टासम्म बन्धक बनाइएको तथा सरकारी गाडीमा आगजनी गरिएको घटनाका दोषीहरू अझै कानुनी दायरामा नआएको भन्दै अभियानले मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएको छ। आफ्नै मातहतका कर्मचारीमाथि भएको घटनामा मन्त्रालय मौन बसेको आरोप पनि उनले लगाएको छ। 

अभियानी यादवले तत्काल सरुवा आदेश कार्यान्वयन गरी रौतहटमा नयाँ डिभिजनल वन अधिकृत खटाउन, रौतहट वन क्षेत्रसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न तथा बर्दिवास–कालापानी घटनाका दोषीहरूलाई कानुनी कारबाही गरी पीडित कर्मचारीलाई न्याय दिलाउन माग गरेको छ।

मागहरू यथाशीघ्र सम्बोधन नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत ज्ञापनमार्फत दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad