दुई समुदायबीच झडप भएपछि अशान्त बनेको पर्साको वीरगन्जमा शान्ति स्थापनाका विषयमा बिहानैदेखि जारी सर्वपक्षीय बैठकमा अहिलेसम्म सहमति हुन सकेको छैन।
पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा बिहान साढे ७ बजेदेखि जारी बैठक अहिले बिहानको साढे ११ बजिसक्दा पनि टुंगोमा पुग्न नसकेको हो।
‘सहमति हुन सकेको छैन, अझै एक/डेढ घण्टा छलफल जारी रहन्छजस्तो छ’, प्रमुख जिल्ला अधिकारी अर्यालयको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘सीडीओसाब अहिले बैठकमै व्यस्त भएकाले फोनमा कुरा गर्न सक्नुहुन्न।’
झडपपछि स्थानीय प्रशासनले वीरगन्ज क्षेत्रमा शनिबार साँझ ६ बजेदेखि १२ बजेसम्मका लागि कर्फ्यु लगाएको छ।
तर जारी सर्वपक्षीय बैठकमा दुई पक्षबीच सहमति हुन नसक्दा कर्फ्यु बढ्ने सम्भावना देखिन्छ।
हनुमान जन्मोत्सवका अवसरमा वीरगन्जमा शनिबार दुवै समूहबीच ढुंगा हानाहान भएको हो।
झडपमा सर्वसाधारण र सुरक्षाकर्मी गरेर ३७ जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीतर्फ पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना तथा सशस्त्र प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित ८ जना घाइते भएका छन्।
यस्तै सर्वसाधारणतर्फ १२ जना घाइते भएको पर्सा प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया