सर्लाहीको हरिवन ११ बासाटोलस्थित बद्री न्यौपानेको घरमा शनिबार बिहान एक्कासि आगलागी सुरु भयो। न्यौपाने परिवार आत्तियो। परिवारका सदस्यले हल्लाखल्ला गर्न थाले।
छरछिमेक जम्मा भए। केही बेरमै इलाका प्रहरी कार्यालय (हरिवन) बाट प्रहरी टोली पनि घटनास्थल आइपुग्यो। सशस्त्र प्रहरी पनि घटनास्थलमा देखापरे।
स्थानीय बाल्टिन, गाग्री र घरायसी धाराको पाइपबाट पानी छ्यापेर आगो निभाउने प्रयत्न गर्दै थिए। लगत्तै हरिवन नगरपालिकाको वारुण यन्त्र (दमकल) पनि साइरन बजाउँदै आइपुग्यो।
विडम्बना, दमकलले पानी फाल्न सकेन। दमकलका चालक सूर्यप्रसाद न्यौपानेले लाख कोसिस गरे। तर, दमकलको पानी फाल्ने यन्त्र चल्दै चलेन।
‘स्थानीयको आँखामा छारो हाल्न नगरपालिकाले बिग्रिएको दमकल आगो निभाउन पठाएको’ भन्दै भिडबाट विरोध सुरु भयो। कतिपयले दमकलमा ढुंगामुढा गर्न थाले। प्रहरीले रोक्न खोज्यो। भिडबाट प्रहार भएको ढुंगाले लागेर प्रहरी हवल्दार शंकरप्रसाद लम्साल घाइते भए।
हेर्दाहेर्दै न्यौपानेको काठ र इँटाले बनेको दुई तले अर्धपक्की घर आगोको लप्काले छोपियो। दमकलको सहायताबिना सुरक्षाकर्मी र स्थानीयले आगो निभाउन सक्ने अवस्थै थिएन। केही बेरमै घर खरानी भयो। आगलागीबाट न्यौपाने परिवारको साढे २७ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ।
देशकै सबैभन्दा धेरै स्थानीय तह भएको जिल्लामा पर्छ- सर्लाही। तर, सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका र हरिवन नगरपालिकासँग मात्रै आगलागी नियन्त्रणमा प्रयोग हुने वारुण यन्त्र छन्। बाँकी १८ स्थानीय तहसँग छैन।
मलंगवा नगरपालिकासँग दुईवटा दमकल भए पनि ती हाल चालु अवस्थामा छैनन्। मर्मतका लागि हेटौँडा लगिएका छन्।
ती दमकल बिग्रिएको धेरै समय भइसक्दासमेत नगरपालिकाको नेतृत्वले समयमै मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउनेतिर ध्यान दिएको छैन।
शनिबारदेखि हरिवन नगरपालिकाको दमकल पनि बिग्रिएपछि जिल्ला नै दमकलविहीन बनेको छ।
‘हिजो न्यौपानेको घरमा आगो निभाउन जाँदा दमकलको गेयर सिस्टमले काम गरेन’, हरिवन नगरपालिकाका दमकल चालक होमबहादुर गुरुङले नेपालखबरसँग भने, ‘म यतिबेला दमकलको गेयर सिस्टम मर्मतका लागि वीरगन्ज आएको छु। भोलिसम्ममा काम सकिन्छ कि!’
उनले जिल्लाभरि एउटा मात्रै दमकल भएकाले अहिले आगो निभाउन रातदिन नभनी जतासुकै कुद्नुपरिरहेको गुनासो गरे। कहिलेकाहीँ त आगो निभाउन छिमेकी जिल्ला महोत्तरी र रौतहटमा समेत हरिवनकै दमकल लाने गरिएको छ।
‘हामीले एक दिनमा सात ठाउँकोसम्म आगो निभाएका छौँ। रातभर नसुती नसुती पनि आगो निभाउन कुदेका छौँ’, गुरुङले भने, ‘अहिले सर्लाही जिल्लाभरि जता आगो लागे पनि हामीलाई नै खबर आउँछ। खबर पाउनासाथ भ्याएसम्म छिटो आगो निभाउन जाने गरेका छौँ। धेरै प्रयोग भएरै होला- हिजो भने हाम्रै दमकल पनि बिग्रिएर मर्मत गर्नुपर्ने अवस्था आएको छ।’
सुक्खा मौसमका कारण अचेल सर्लाहीमा दिनहुँजसो आगलागीका घटना हुने गरेका छन्।
भारतीय बोर्डरदेखि चुरेसम्मका गाउँमा हरिवन नगरपालिकाकै दमकल अहोरात्र आगो निभाउन पुग्ने गरेको छ। यसबीच धेरै ठाउँको डढेलो निभाउनसमेत यो दमकल प्रयोग गरिएको छ।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले दमकल सञ्चालन गर्दा वार्षिक झण्डै ३० लाख रुपैयाँ खर्च हुने गरेको बताए।
हरिवन नगरपालिकाको दमकल जिल्लाका ईश्वरपुर र बागमती नगरपालिकाले पनि साझेदारीमा प्रयोग गर्ने सम्झौता गरेका छन्।
लालबन्दी र बरहथवा नगरपालिकाले पनि ईश्वरपुर र बागमतीकै जस्तो साझेदारीमा हरिवनको दमकल प्रयोगका लागि सम्झौता गर्न खोजिरहेको मेयर बुढाथोकीले जानकारी दिए।
‘अहिले हाम्रो दमकल आगो निभाउन जिल्लाभरि कुद्नुपरिरहेको छ’, मेयर बुढाथोकीले नेपालखबरसँग भने, ‘हरिवन नगरपालिकाकै खर्चमा जिल्लाभरि आगो निभाउन कुद्नुपर्दा खर्च धान्नै मुस्किल भइसक्यो।’
Shares
प्रतिक्रिया