न्याय खोज्दै महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौँ आएका मिटरब्याजी पीडितहरूको आन्दोलनमा मधेश प्रदेश सरकारले पनि ऐक्यबद्धता जनाएको छ।
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरू! तपाईंको हरेक पाइलामा हाम्रो साथ छ, तपाईंको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ। हामी जिम्मेवारीबाट भाग्न सक्दैनौं।’
पैदलै काठमाडौँ आइपुगेका पीडितहरूमा काखमा नानी च्यापेका आमाहरू पनि छन्। अहिले उनीहरू काठमाडौँमै आन्दोलन गरिरहेका छन्। यसबीच सरकारले मिटरब्याजका नाममा तराई–मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ। कानुन अभावमा हजारौँ सर्वसाधारणलाई ठगी गर्ने मिटरब्याजीहरूविरुद्ध कारबाही गर्न नसकिएपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
मधेश प्रदेश सरकारले केन्द्र सरकारको यो निर्णयको स्वागत गरेको छ।
‘केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको हामी स्वागत गर्दछौं’, मुख्यमन्त्री यादवले विज्ञप्तिमा भनेका छन्, ‘तथापि यसले समग्र समस्यालाई कति सम्बोधन गर्नेछ, गम्भीर भएर सोच्न जरुरी छ। विदेश जान वा अध्ययन गर्न वा अन्य भैपरी गर्जो टार्न ऋण खोज्ने नागरिकहरूलाई मिटरब्याजीहरूबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी छ।’
प्रदेशबाट उठे उक्त समस्या देशकै समस्या भएको मुख्यमन्त्री यादवले उल्लेख गरेका छन्। त्यसैले उक्त समस्या समाधानका लागि सबैलाई एकजुट हुन मधेश सरकारले आह्वान गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘गरिब झन् गरिब हुने, भएको सम्पतिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्त रूपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजनाविद्, विज्ञहरूलाई आह्वान गर्दछु।’
प्रतिक्रिया