धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू मंगलबारदेखि अनिश्चितकालिन धर्ना बसेका छन्।
आफूहरूले कार्यालयमा लगाएको ताला फोडेर कार्यालयका सामग्री हिनामिना गरिएको आरोप लगाउँदै ती जनप्रतिनिधिले मंगलबारदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन्।
तालाबन्दी गरेको दुई दिनपछि गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले सबै जनप्रतिनिधिलाई बोलाएर समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाए पनि समन्वय नगरेकाले बाध्य भएर गाउँपालिकाअगाडि धर्नामा बस्न बाध्य भएको वडा नम्बर–१ का वडाध्यक्ष दिलीप यादवले बताए।
गत फागुन १४ गते प्रमुख प्रशासकीय अधिकृत र लेखाशाखाको कर्मचारीको कार्यकक्षमा वडाध्यक्षहरूले लगाएको ताला फोडेर कार्यालयका महत्वपूर्ण सामान हिनामिना गरेको वडाध्यक्ष यादवले आरोप लगाएका छन्।
उनले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृत यादवले जनप्रतिनिधि नबोलाइ ताला फोडेर कार्यालयका सामान हिनामिना गरेको आरोप लगाएका छन्।
तालाबन्दी गरेको १५ दिन बिते पनि सहमतिमा नआएर गत आइतबार प्रमुख प्रशासकीय अधिकृत यादवले स्थानीय प्रशासनको रोहबरमा ताला फोडेको वडाध्यक्ष यादवको गुनासो छ।
एमालेबाट निर्वाचित वडा नम्बर–१ का वडाध्यक्ष दिलीप यादव, वडा नम्बर–२ का वडाध्यक्ष लालजी साह, वडा ५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर–६ का वडाध्यक्ष महावीर साह, वडा नम्बर–७ का वडाध्यक्ष गंगा साहलगायत ६ जना कार्यपालिका सदस्य र ८ जना वडा सदस्यसहित १९ जना जनप्रतिनिधि धर्नामा बसेका छन्।
वडाध्यक्ष यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारी कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाबासी काम नै नगराई खाली हात घर फर्किन बाध्य भएकाले धर्ना बसेको बताए।
‘दिउँसो २ बजेसम्म पनि कार्यालय नआउने हाकिम र कर्मचारीको के काम? जनताको काम हुनुपर्नेमा कर्मचारी नै नआउँदा सबै आजित भएका छन्', उनले भने, 'जनताको कामका लागि हामी कुटाई खान तयार छौँ। समस्या समाधान नभए सशक्त आन्दोलन गर्छौँ।’
प्रतिक्रिया