मधेस


सर्लाहीमा चिसोले कठ्यांग्रिएर ३ जनाको मृत्यु

सर्लाहीमा चिसोले कठ्यांग्रिएर ३ जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस ६, २०७९ बुधबार ९:५५, सर्लाही

सर्लाहीमा चिसोले कठ्यांग्रिएर तीन जनाको मृत्यु भएको छ। एक साताको अवधिमा चिसोले कठ्यांग्रिएर सर्लाहीको हरिपुरमा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुने दुई जना मुसहर समुदायका छन्। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने चिसोले कठ्यांग्रिएर अहिलेसम्म जिल्लामा दुई जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चिसोमा कठ्यांग्रिएर हरिपुर – ९ पिडारीका ५० वर्षीय राजेन्द्र चौधरी र हरिपुर – ६ लक्ष्मीपुरका ८० वर्षीय रामभगत माझी (मुसहर) को मृत्यु भएको हो। 

हरिपुर – ९ कै ४० वर्षीय रमेश माझीको पनि चिसोले कठ्यांग्रिएर मृत्यु भएको स्थानीयले बताएका छन्। तर स्थानीय प्रहरी, प्रशासनले भने रमेशको मृत्यु चिसोले कठ्यांग्रिएर भएको पुष्टि गरिसकेका छैनन्। मृत्यु हुने सबै आर्थिक रूपमा विपन्न र ज्याला मजदुरी गर्ने परिवारका छन्। 

चिसोका कारण रुघाखोकीले ग्रस्त भएका राजेन्द्र चौधरीको पुस ४ गते मृत्यु भएको डीएसपी यादवले जानकारी दिए। 

रुघाखोकीसँगै श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले चौधरीलाई उपचारका लागि पुस ३ गते राति सुरुमा हरिवनस्थित नमुना अस्पताल पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  

हरिपुर – ६ लक्ष्मीपुरका राम भगत माझीको भने एक साताअघि नै चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

‘चिसोले माझीको मृत्यु भएको जानकारी हामीलाई ढिलोगरी प्राप्त भयो,’ डीएसपी यादवले भने,  ‘प्रहरी टोलीले मंगलबार मृतकको घरमा पुगेर घटनाविरण संकलन गरेको छ। उहाँलाई पनि चिसोले रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने भएको रहेछ।’ 

ज्याला मजदुरीको काम गर्ने रमेश माझी मंसिर २४ गते धान काटेर घर आएपछि पराल ओछ्याएर सुतेका थिए। सुतेकै ठाउँमा उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन्।

हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारले भने चिसोबाट भन्दा पनि स्वास्थ्य चेतना अभावको कारण उनीहरूको मृत्यु भएको दाबी गरे। 
‘तराईमा कठ्यांग्रिने गरी शीतलहर सुरु भएकै छैन। आजभोलि बिहानैदेखि घाम लागिरहेको छ’, उनले भने,  ‘उनीहरुको मृत्यु चिसोले भन्दा पनि मदिरा सेवन गर्दा र स्वास्थ्य चेतना अभावको कारण भएको हामीले पाएका छौँ। मृतक केही दीर्घरोगी पनि थिए।’ 

उनले न्यून आय भएका गरिब परिवारलाई चिसोबाट जोगाउन नगरपालिकाले अब राहत कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।  ‘त्यस्ता परिवारको पहिचान गरी उनीहरूलाई न्यानो कपडा र ओढ्ने ओछ्याउनेको व्यवस्था हामी मिलाउँदै छौँ’, उनले भने।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले चिसोबाट ज्यान गुमाउने परिवारका सदस्यलाई राहतको लागि प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .