मधेस


भुक्तानीको माग गर्दै उपभोक्ता समितिद्वारा अर्थ मन्त्रालय घेराउ

भुक्तानीको माग गर्दै उपभोक्ता समितिद्वारा अर्थ मन्त्रालय घेराउ

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १८:१५, जनकपुरधाम

भुक्तानीको माग गर्दै उपभोक्ता समितिले मधेश प्रदेशको अर्थ मन्त्रालय घेराउ गरेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय लगायतका मन्त्रालयहरुको विभिन्न योजनाका साथै विकास निर्माणको काम गरे पनि भुक्तानी नगरिएको भन्दै उपभोक्ता समितिले मन्त्रालय घेराउ गर्दै प्रदर्शन गरेको हो ।

काम गरेको महिनौँ बितिसक्दा समेत भुक्तानी नपाएकोले यथाशीघ्र आफूहरुको भुक्तानी हुनुपर्ने माग गर्दै समितिका पदाधिकारीहरुले नारा जुलुससहित प्रदर्शन गरेका हुन् । 

धनुषाको धनौजी गाउँपालिकामा पीसीसी ढलानको काम गरेका सोनु निधिले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न मन्त्रालयअन्तर्गतको ४ दर्जन विकास निर्माणको काम गरेको महिनौँ बितिसक्दा पनि भुक्तानी नपाएकाले आज बाध्य भएर मन्त्रालय घेराउ गरेको बताए । 

उनले आफूहरुले काम सम्पन्न गरेको महिनौं बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरे । बैंकको ब्याज महिनाको ८० हजार तिर्न परिरहेको उनले सुनाए । भुक्तानीको विषयमा प्रमुख सचिवले कुरा गर्नसमेत नमानेको उनको भनाइ छ । 

उनीहरुले मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको थियो ।

यता, चुनावको कारण केही महिना अगाडिदेखि नै आचारसंहिता लागिसकेको अवस्थामा उपभोक्ता समितिको भुक्तानी गर्न नसकेको सम्बन्धित मन्त्रालयहरुले जानकारी दिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको ३२ वटा योजनाको करोडौं रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसमा अन्य मन्त्रालयहरुमार्फत गरिएका कामहरु समेत रहेका छन् ।  अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिहरुको करिव १ अर्ब भुक्तानी गर्न बाँकी छ ।

यसअघि, आर्थिक वर्ष २०७५/०७६ मा पनि प्रदेश सरकारको योजनाको बाँकी भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले मुख्यमन्त्री लालबाबु राउत लगायत केही मन्त्रीको तस्बिर अंकित व्यानरमा जुत्ता प्रहार गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad