ad ad

मधेस


धनुषा ३- महतो, जुली र निधि भिड्ने सम्भावना, कसको पल्ला भारी?

धनुषा ३- महतो, जुली र निधि भिड्ने सम्भावना, कसको पल्ला भारी?

शैलेन्द्र महतो
साउन २७, २०७९ शुक्रबार १९:३७, जनकपुरधाम

आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मिति घोषणा भएसँगै धनुषा क्षेत्र नं. ३ मा चुनावी चर्चा सुरु भइसकेको छ।

क्षेत्र नं.३ मा ‘हेवीवेट’ उम्मेदवारहरूबीच प्रतिष्पर्धा हुने सम्भावना रहेकाले धनुषाका अन्य तीनवटा क्षेत्र छायामा परेका छन्। मधेश प्रदेशको राजधानी तथा प्रसिद्ध धार्मिक नगरी जनकपुरधामको अधिकांश भूभाग यसै क्षेत्रमा परेका कारण बढी चासोका साथ हेरिनु स्वभाविकै हो। 

यस क्षेत्रमा २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट राजेन्द्र महतो निर्वाचित भएका थिए। राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनबाट लडेका महतो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई २ हजार ९०३ मतान्तरले पराजित गर्दै जित हात पारेका थिए।

महतोले ३० हजार ७५० मत प्राप्त गरेका थिए भने निधि २७ हजार ८४७ मतमा सिमित भएका थिए। 

हाल नेता महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता छन्। 

यो क्षेत्रमा यस पटक महतो, कांग्रेसका पूर्वउपसभापति निधि र नेकपा एमालेकी नेतृ जुली महतोबीच प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ।

चुनावको मिति घोषणा भएपछि यस क्षेत्रबाट एमाले नेतृ जुली महतो उम्मेदवार बन्ने घोषणा गरेकी छन्। उनी एमालेकी वर्तमान समानुपातिक प्रतिनिधिसभा सदस्य हुन्। यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले राम्रो मत प्राप्त गरेको आकलन गर्दै उनले चुनाव लड्ने घोषणा गरेकी हुन्।

नेपाली कांग्रेसका नेता निधि यस पटक फेरि यसै क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। गत चुनावमा राजेन्द्र महतोसँग हार ब्यहोरेको निधि यसपटक आफ्नो गुमेको विरासत ‘यू टर्न’ गर्ने दाउमा देखिन्छन्।  

नेता निधि चुनाव लड्ने तयारीमा रहेको कांग्रेस जनकपुरधाम उपमहानगर कार्यवाहक सभापति राकेश विक्रम साहले बताए। 

‘तीन साताअघि नै क्षेत्र नं. ३ को पार्टी कार्यालय उद्घाटन गर्दै उहाँले तपाँईहरु चुनावको तयारीमा जोडतोडले जुट्नुस् भन्नुभएको थियो। त्यसकारण उहाँ निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ’ युवा नेता साहले भने। 

यस क्षेत्रबाट नेता राजेन्द्र महतो पनि फेरि चुनाव लड्ने मनसायमा छन्। पुनः क्षेत्र नं. ३ बाटै महतो चुनाव लड्ने उनका स्वकीय सचिव विन्दकिशोर साह बताउँछन्। 

तर, पार्टीकाे कमजोर  अवस्था, २०७४ को चुनावमा जस्तो मधेश आन्दोलनको सेन्टिमेन्ट नरहेकाे स्थिति, जनकपुरधाम उपमहानगरपालिकामा गुमेकाे लोसपाको नेतृत्वलगायतका कारण पहिलाको तुलनामा लोसपाको सन्तोषजनक स्थान अहिले छैन।

जनकपुरको जातीय मतसमेत एमाले नेतृ जुली महतो उठेको खण्डमा विभाजित हुने भएकोले राजेन्द्र महतोलाई जित्न फलामको च्युरा चपाउनु जस्तै हुने देखिन्छ। यसपटक प्रतिष्पर्धा गर्ने आधार कमजोर रहेकाले राजेन्द्र महतो ब्याक हुने सम्भावना समेत रहेको बताइन्छ।

स्रोतका अनुसार निधि यस क्षेत्रबाट चुनाव लड्ने विषयमा केही साताअघि राजेन्द्र महतोसँग छलफल गरेका थिए। सो भेटमा आउँदो चुनावमा एक अर्कालाई सघाएर अगाडि बढ्ने विषयमा दुवैजना बीच सहमति भएको श्रोतको दावी छ। 

नेता निधिले केही दिन अघि लोसपालाई समेत पाँचदलीय गठबन्धनमा ल्याउनुपर्ने पार्टीको शीर्ष नेताहरुको बैठकमै प्रस्ताव राखेका थिए।

लोसपा पाँचदलीय गठबन्धनका साथै सकारमा जान तयार रहेको अवस्थामा निधिको यो प्रस्तावलाई अर्थपूर्ण मानिएको छ। गठबन्धनमा लोसपालाई ल्याएर राजेन्द्र महतोलाई आफ्नै गृह जिल्ला सर्लाहीमा चुनाव जित्ने वातावरण मिलाउने नेता निधिको तयारी रहेको चर्चा छ।

राजेन्द्र महतो जिल्ला फर्केको खण्डमा धनुषा क्षेत्र नं. ३ मा सेफल्याण्ड हुने निधिको रणनीति छ। 

तर, लोसपा गठबन्धनमा गएपनि धनुषा ३ मा महतोकै दावी रहने ती पार्टीका नेताहरु बताउँछन्। नेता महतो यो क्षेत्रलाई छाडेको खण्डमा यहाँ जुली महतो र निधिबीच प्रतिष्पर्धा हुने निश्चित जस्तै छ। 

यसअघि दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नं. ३ मा कांग्रेसबाट नेता निधि र एमालेबाट नेतृ जुली महतोको कडा प्रतिस्पर्धा भएको थियो। झण्डै १५ सयको मतान्तरले नेतृ महतोलाई पराजित गर्दै नेता निधि निर्वाचित भएका थिए। 

धनुषाको क्षेत्र नम्बर ३ मा नगराईन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनीया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाको १७ वटा वडा पर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .