लुम्बिनी


प्युठानमा आगलागीबाट १३ परिवार प्रभावित, ९४ लाख बराबरको क्षति

प्युठानमा आगलागीबाट १३ परिवार प्रभावित, ९४ लाख बराबरको क्षति

नेपालखबर
चैत २२, २०८२ आइतबार १४:५९, बुटवल

प्युठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति भएको भीषण आगलागीबाट १३ परिवार प्रभावित भएका छन्। झन्डै ९४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

गएराति करिब ११ः४५ बजे स्थानीय लक्ष्मण रानाको फुसले छाएको गोठबाट सुरु भएको आगो बिस्तारै बस्तीभर फैलिएको थियो। हावाहुरीसँगै आगोले उग्र रूप लिँदा घर, गोठ, खाद्यान्न, नगद तथा पशुचौपायामा ठूलो क्षति पुगेको हो।

आगो बिहान करिब ७ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी नरहरी आचार्यले जानकारी दिए। 
उनका अनुसार ईश्वरी रानाको कच्ची घर र गोठ पूर्ण रूपमा जलेका छन् भने तीन गोरु र १५ बाख्रा मरेका छन्। 

यस्तै, ओमबहादुर रेश्मी मगरको एक घर र दुई गोठ जलेर नष्ट हुँदा ३३ बाख्रा मरेका छन् र नगद समेत जलेर नष्ट भएको पीडितले जनाएका छन्। 

भूपाल रोकाको घरसँगै १८ बाख्रा, नगद र सुन पनि जलेको छ भने रमेश घर्तीको घरगोठ नष्ट हुँदा छ बाख्रा मरेका छन्।

यसैगरी देवान सिंह राना, विकास राना, लक्ष्मण राना, गुमा रजाली, बालबहादुर रजाली, झविन्द्र रजाली, धनबहादुर राना, देवबहादुर रजाली र डिला रजालीका घर, गोठ, खाद्यान्न, लत्ताकपडा र पशुचौपाया जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad