उच्च अदालत बार एसोसिएसन बुटवलको अध्यक्षमा माधवप्रसाद घिमिरे निर्वाचित भएका छन्। घिमिरे ७७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी शर्मलाल पन्थीले ४४ मत प्राप्त गरेका थिए।
त्यसै गरी उपाध्यक्षमा ओमप्रसाद पंगेनी ६६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कमलराज बस्यालले ५४ मत प्राप्त गरेका थिए।
सचिवमा लोकप्रसाद खरेल ६९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी शालिकराम तिवारीले ५२ मत ल्याएका थिए। कोषाध्यक्षमा मिना महत जी.सी. तथा सहसचिवमा निशाकुमारी खरेल निर्विरोध निर्वाचित भएका छन्।
सदस्यहरूमा बाबुराम न्यौपाने (९९), मुन्नी न्यौपाने (९९), चतुर्भुज पन्थ (१०६), दामोदर घिमिरे (१०९), रामप्रसाद भुसाल (९७), मनोज श्रेष्ठ (१०२), संजिता पौडेल (१०२) तथा कृष्णा रोका (८९) निर्वाचित भएका छन्। ५१ मत प्राप्त गरेका प्रदीप शेरचन पराजित भएका थिए।
यस्तै पार्षदहरूमा टुकराज पाण्डे, सिर्जना थापा, यमुना गुरुङ, विद्या घिमिरे, विष्णुप्रसाद भट्टराई, प्रकाशकुमार नेपाल, जीवनारायण अधिकारी र उद्धवचन्द्र गौतम निर्विरोध निर्वाचित भएका छन्।
उच्च अदालत बार एसोसिएसनको कार्यसमितिमा विगतदेखि नै कांग्रेस निकट कानुन व्यवसायीहरूको वर्चस्व रहँदै आएकोमा यसअघिका दुई कार्यकाल कांग्रेस निकट र एमाले निकट कानुन व्यवसायीहरू तालमेल गरी निर्वाचनमा गएका थिए।
यस पटक डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) तथा प्रगतिशील पेसागत कानुन व्यवसायीहरूको संगठन (पीपीएलए) र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायीहरूको संगठन (आरपीएलए) समेतका वामपन्थी कानुन व्यवसायीहरू मिलेर निर्वाचनमा जाने सहमति भएको थियो।
अध्यक्ष, सचिवसहित पाँच सदस्य डीएलएलाई, उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव सहित तीन सदस्य पीपीएलए, आरपीएलएसहितका वाम दललाई दिने सहमति भएको थियो।
निर्वाचनमा अध्यक्ष र सचिवमा संस्थापन पक्षसँग असहमति राख्ने कांग्रेस निकट कानुन व्यवसायीहरूले विद्रोही उम्मेदवार खडा गरेका थिए। उपाध्यक्षमा भने विद्रोही कांग्रेस निकट कानुन व्यवसायीहरू समेतको समर्थनमा वाम समर्थक कानुन व्यवसायीबाट विद्रोही उम्मेदवार खडा भएका थिए। कोषाध्यक्ष, सहसचिव र आठ जना पार्षदहरू भने निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनमा विद्रोही पक्षका कुनै उम्मेदवार विजय हुन सकेनन्।
सदस्यमा आठ जना आवश्यक रहेकोमा राप्रपा समर्थक प्रदीप शेरचनले समेत उम्मेदवारी दिएपछि सदस्यहरूमा समेत निर्वाचन भएको थियो। निर्वाचनमा प्रदीप शेरचन बाहेकका सबै सदस्य विजयी भएका थिए।
Shares

प्रतिक्रिया