नेपाली कांग्रेस र नेकपा एमालेकाे गठनबन्धन रहेको लुम्बनी प्रदेश सरकारका चार मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन्।
लुम्बिनी प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बनेका चार जना पदबाट बाहिरिएका हुन्।
बजेटको अन्तिम तयारी चलिरहेका बेला एमालेका चारै मन्त्रीलाई राजीनामा गर्न लगाइएको मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालखबरलाई बताए।
एमालेका तर्फबाट लुम्बनी सरकारमा मन्त्री बनेका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा दिएका हुन्।
एमालेको लुम्बनी प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री आचार्यले सरकारमा नयाँ अनुहारलाई अवसर दिन मन्त्री परिवर्तन प्रक्रिया अघि बढाइएको बताए।
योसँगै कांग्रेस र एमालेबिच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भए पनि पार्टीभित्रकै किचलाेले कांग्रेसले अब मुख्यमन्त्री पद नपाउने भएकाे छ।
यसबिच पूर्वसहमतिअनुसार नेतृत्वसहित सरकार पुनर्गठन गरिनुपर्ने कांग्रेसको मागबमोजिम मुख्यमन्त्री आचार्य पनि पद छाड्न तयार थिए। तर कांग्रेस पूर्वमुख्यमन्त्रीसमेत रहेका आफ्ना संसदीय दलको नेता डिल्ली चौधरीलाई अगाडि सार्न हिचकिचाउँदा मुख्यमन्त्री पद गुम्ने देखिएको हो।
जेठ पहिलो साता नै मन्त्री हेरफेर गर्ने तयारी गरिए पनि कांग्रेसले मुख्यमन्त्रीसहित सरकार पुनर्गठन गरिनुपर्ने अडान राखेपछि केही समय रोकिएको थियो। तर कांग्रेस मुख्यमन्त्री नलिने गरी अघि बढेपछि मन्त्रिमण्डलमा परिवर्तन गरिएको हो।
रिक्त स्थानमा बुधबारै नयाँ मन्त्री नियुक्ति गर्ने तयारी गरिए पनि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर प्रदेश बाहिर रहेकाले यो काम तत्काल सम्भव देखिएको छैन। प्रदेश प्रमुखको सचिवालयका अनुसार नयाँ मन्त्री नियुक्ति गर्न कम्तीमा दुई दिन लाग्ने देखिएको छ।
लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या घटाएर आठमा झार्ने निर्णयसमेत गरिसकेको छ।
यसैबिच एमालेबाट नयाँ मन्त्री नियुक्तिका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ।
खत्री यसअघि पनि मन्त्री भइसकेका व्यक्ति हुन् भने भुसाल, घिमिरे र चौधरीका लागि यो पहिलो अवसर हुनेछ।
एमालेले दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएर पनि मन्त्री बन्न नपाएकाहरूलाई प्राथमिकतामा राखेको जनाइएको छ।
Shares

प्रतिक्रिया