लुम्बिनी


गठबन्धनलाई हराएर मेयर र सांसद बनेका वासुदेवले जोगाउन सकेनन् जमानत

रुपन्देहीमा १४३ उम्मेदवारको जमानत जफत
गठबन्धनलाई हराएर मेयर र सांसद बनेका वासुदेवले जोगाउन सकेनन् जमानत

प्रदीप आचार्य
फागुन २६, २०८२ मंगलबार १५:३८, बुटवल

रुपन्देहीको तिलोत्तमालाई उत्कृष्ट नगरपालिका बनाएर देशभर नै चर्चा बटुलेका मेयर हुन् नेकपा एमालेका नेता वासुदेव घिमिरे। उनले पहिलो प्रयासमै २०७४ सालको स्थानीय निर्वाचनमा नगरप्रमुखको जिम्मेवारी सम्हालेका थिए।

वाशुदेव ०७९ सालको निर्वाचनमा रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भए। दुवै निर्वाचनमा गठबन्धनसहितको कांग्रेससँगको प्रतिस्पर्धामा सहजै जित निकालेका उनले ०८२ को प्रतिनिधिसभा निर्वाचनमा भने जमानत समेत जोगाउन सकेनन्। 

एमालेको ११औँ महाधिवेशनमा लुम्बिनीको भूगोलबाट केन्द्रीय सदस्यमा उमदेवारी दिएर पराजित भएपछि पार्टीबाट राजीनामा दिएका उनलाई उपाध्यक्ष विष्णु पौडेलले फकाएर एमालेमै फर्काए। र, रुपन्देही ३ को टिकट दिए। 

एमाले सुधार हुने अवस्था नदेखिएको र पार्टीभित्र सुध्रिने सम्भावना कम भएको भन्दै पार्टी छोडेका घिमिरेलाई पौडेलले टिकट दिलाएपनि एमालेका कार्यकर्ताहरूले भने पौडेलको निर्णय मानेनन्। उनलाई संगठित सदस्यहरूको संख्या बराबर पनि मत आएन। 

०७९ मा बालेनले नै मागिदिएका थिए भोट
घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको सम्बन्ध पुरानै हो। घिमिरे एमाले छोडेर बालेनको टिमबाट उम्मेदवारी दिने योजनामा रहेका थिए। तर बालेन नै रास्वपामा गइनसकेको अवस्थामा उनले त्यो कुरा खुलाएनन्। एमाले छोडेपनि उनी रास्वपामा गएनन् बरु भोलिपल्टै एमालेमा फर्किए।

यसअघि ०७९ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–५ मा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरेको पक्षमा बालेनले मत समेत मागेका थिए। निर्वाचन आचारसंहिता विपरित बालेन रुपन्देही आएर वासुदेव राम्रो छवि भएको नेता भन्दै चुनावी प्रचार समेत गरेका थिए।

तर अहिले उनकै पार्टीका उम्मेदवारसँग निकै ठूलो मतान्तरले पछि परे। उनी तेस्रो नम्बरमा परे। यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजंग थापा ५८ हजार ८१४ मतसहित विजयी भएका थिए। 

चर्चित अनुहारको पनि जमानत जफत 
रुपन्देहीमा एमालेसहित एक क्षेत्रमा नेपाली कांग्रेस तथा पाँचै स्थानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारको जमानत जफत भएको छ। यस्तै, तीन क्षेत्रमा राप्रपाका उम्मेदवाहरूले पनि जमानत जोगाउन सकेनन्।

रुपन्देही क्षेत्र नम्बर ४ बाट जसपाका सर्वेन्द्रनाथ शुक्लाको पनि जमानत जफत भएको छ। पटक पटक निर्वाचित उनले जमानत जोगाउन सकेनन्। 

रुपन्देही २ मा स्वतन्त्र उम्मेदवारी दिएका निकोलश भुसाल सामाजिक सञ्जालभर निकै चर्चित थिए। एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनाव लड्ने र सहजै जित्ने भन्दै अन्तरवार्ता दिँदै हिँडेका उनले अन्तिम समयमा आफ्नो समर्थन रास्वपालाई भएको घोषणा गरे। उनले २६ मत मात्रै प्राप्त गरे। वैधानिक रुपमा उम्मेदवारी फिर्ता नभएकोले उनको जमानत जफत भयो।

कुन क्षेत्रमा कति जनाको जमानत जफत?
रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाकै सुनिल लम्सालले ५४ हजार ८४५ मतसहित विजयी हासिल गर्दा नेकपा एमालेका दधिराम न्यौपानेसहित २९ जनाको जमानत जफत भएको छ।

यहाँ खसेको कूल सदर मत ९२ हजार मध्ये १० प्रतिशत कटाउन नसक्नेमा राप्रपाका प्रज्वल बोहरा, नेकपाका घनश्याम यादव अहिर लगायत रहेका छन्। नेपाली कांग्रेसका हिरा केसी भने जमानत जफत हुनबाट जोगिए। 

रुपन्देही क्षेत्र नम्बर २ मा कूल सदर मत ७८ हजार ४१३ मध्ये १० प्रतिशत नकटाउने ३६ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मतसहित विजयी भएका थिए। 

मुलुकका चर्चित निर्वाचन क्षेत्रहरू मध्ये चर्चामा रहेको यस क्षेत्रमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पराजित भएका थिए। रुपन्देहीमा दर्जनौँ विकास आयोजनाहरू ल्याएर विकासवादी नेताका रुपमा चर्चा कमाएमा पौडेलको यस पटक भने संसदीय यात्रामा ब्रेक लागेको छ।

यसैगरी यस क्षेत्रकै चर्चित उद्योगी चुन्नप्रसाद पौडेल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहे पनि पराजित भएका थिए।

रुपन्देही ३ मा विजयी उम्मेदवार थापा बाहेक अन्य ३५ जना उम्मेदवारकै जमानत जफत भएको हो। नेकपा एमालेका घिमिरे सहित नेपाली कांग्रेसका सुशील गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहरा, नेकपाका फैजअहमद खाँ लगायत चर्चित अनुहारले कूल सदर मत ९० हजार ३०५ को १० प्रतिशत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो। 

रुपन्देही क्षेत्र नम्बर ४ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रबाट रास्वपाका कन्हैया बानियाँ निर्वाचित भएका छन्। उनले २८ हजा ६६ मत प्राप्त गरी विजयी हुँदा कुल सदर मत ७२ हजार ३८ को १० प्रतिशत मत प्राप्त नगरेका उम्मेदवारहरूको जमानत जफत भएको हो।

यस क्षेत्रमा जनमत पार्टीका भोपेन्द्रप्रसाद यादव लगायत चर्चित अनुहारले जमानत जोगाउन सकेनन्। 

रुपन्देही क्षेत्र नम्बर ५ मा रास्वपाका तौफिक अहमद खानले ३८ हजार ८०६ मतसहित विजयी हुँदा २४ जना उम्मेदवारको जमानत जफत भयो। यहाँ कुल सदर मत ७८ हजार ९२५ रहेको थियो।

यस क्षेत्रबाट नेकपाका मुहम्मद वकिल मुसलमान, जनमत पार्टीका ओमप्रकाश यादव, राप्रपाका मिनप्रसाद घिमिरे लगायत चर्चित अनुहारले जमानत जोगाउन नसकेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad