लुम्बिनी


बुटवलका सबै विद्यालयलाई निःशुल्क स्थानीय पाठ्यपुस्तक हस्तान्तरण

बुटवलका सबै विद्यालयलाई निःशुल्क स्थानीय पाठ्यपुस्तक हस्तान्तरण

नेपालखबर
असार १९, २०८३ शुक्रबार १९:१९, काठमाडौँ

बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो बुटवल’ पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराएको छ।

स्थानीय सरकारद्वारा तयार गरिएको पाठ्यपुस्तक संस्थागत विद्यालयलाई समेत निःशुल्क वितरण गरिएको यो निर्णयलाई स्थानीय शिक्षामा नयाँ अभ्यासका रूपमा हेरिएको छ।

बुटवलको ऐतिहासिकता, मौलिकता, संस्कृति, सभ्यता तथा पुरातात्त्विक सम्पदालाई समेटेर पुनर्लेखन गरिएको उक्त पाठ्यपुस्तक शुक्रबार विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई हस्तान्तरण गरिएको हो।

शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालका अनुसार ३९ सामुदायिक विद्यालय (४ मदरसा र १ गुरुकुलसहित) का लागि ७ हजार ५३ प्रति तथा ५३ संस्थागत विद्यालयका लागि १७ हजार ७५ प्रति गरी कुल २४ हजार १ सय २८ प्रति पुस्तक छापिएको छ। पुस्तकहरू जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मुद्रण गरिएका हुन्।

उपमहानगर प्रमुख खेलराज पाण्डेयले स्थानीय पाठ्यक्रम तयार पार्ने र छपाइ प्रक्रिया पूरा गर्न करिब डेढ वर्ष लागेको जानकारी दिए।

हाल कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई पुस्तक वितरण गरिएको र आगामी शैक्षिक सत्रदेखि कक्षा ६ देखि ८ सम्म पनि स्थानीय पाठ्यक्रम लागू गरिने उनले बताए।

उनले संस्थागत विद्यालयलाई पनि पहिलो चरणमै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराइएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा उपमहानगरले निरन्तर लगानी बढाइरहेको बताए।

आगामी आर्थिक वर्षमा पनि शिक्षाको गुणस्तर सुधारका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो नगरको इतिहास, संस्कृति र पहिचानसँग जोड्ने विश्वास व्यक्त गरे।

जनआन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भई पुनर्निर्माण गरिएको ऐतिहासिक भवनमा आयोजित कार्यक्रममा पाठ्यपुस्तक विद्यालयहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad