ad ad

लुम्बिनी


‘सुगम जिल्लाको दुर्गम’ मर्चवारमा तीन पूर्वसांसदबीच भिडन्त

जनमत पार्टी पनि माहोल तताउँदै
‘सुगम जिल्लाको दुर्गम’ मर्चवारमा तीन पूर्वसांसदबीच भिडन्त

सुदीप भण्डारी
कात्तिक २७, २०७९ आइतबार ७:३४, बुटवल

रुपन्देहीको मर्चवार क्षेत्र पनि यतिबेला चुनावी माहोलले निकै तातेको छ। एउटा गाडीमा भरिभराउ स्पीकर, अरु आधादर्जन गाडीमा झण्डा राखेर दिनहुँजसो उम्मेदवारहरू मत मागिरहेको देखिन्छन्। 

भैरहवाबाट लुम्बिनी जाँदै गर्दा अन्तर्राष्ट्रिय विमानस्थल पार भएपछि दक्षिणतर्फ जाने सडक छ। यो सडक हुँदै केही पर पुगेपछि मर्चवार क्षेत्र सुरु हुन्छ। नक्सामा भैरहवा र लुम्बिनीको बिच भागमा नेपालको भूभाग केही दक्षिणसम्म गएको देखिन्छ। यो भूभाग नै मर्चवार हो।

मर्चवार रुपन्देही क्षेत्र नम्बर ४ मा पर्दछ। यहाँ कोटइमाइ, सम्मरीमाइ र मर्चवारी गरि ३ वटा गाउँपालिका रहेका छन्। रुपन्देहीको मर्चवारलाई विगतमा सुगम जिल्लाको दुर्गम ठाउँ मानिन्थ्यो। जिल्लाका उत्तरी भेगमा विकास भएपनि दक्षिण क्षेत्रमा पर्ने मर्चवार पिछडिएको थियो। 

बाटोघाटो, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार निकै कमजोर थियो। अधिकांश स—साना झुपडी र फुसका घर हुन्थे। एक दशक अघिसम्म पनि मर्चवारमा विद्यालयमा बालकालिकाहरु नियमित उपस्थित हुँदैनथिए। छात्राहरुको संख्या विद्यालयमा नगन्य हुन्थ्यो। छात्रहरु पनि माथिल्लो कक्षामा पुगेपछि विद्यालय छोड्ने क्रम बढ्थ्यो।

तर अहिले यस्तो समस्या खासै छैन। शिक्षासँगै मर्चवारमा सडक तथा अन्य पूर्वाधारहरुको पनि विकास भएको छ। 

विगतमा साँघुरा अप्ठ्यारा बाटा थिए। बर्खामा हिलोमा हिँड्नुपर्दथ्यो। अहिले दक्षिणतर्फ गएको मुख्य सडक मात्र होइन, त्यसका शाखा सडकसमेत कालोपत्रे भएका छन्। पक्की र ढलान घर पनि बनिरहेका छन्। तर तीमध्ये धेरै घर रंगरोगन गरिएका छैनन्। कतिपय परिवार भने अझै झुपडी र फुसका घरमै बसेका देखिन्छन्। 

२०७४ सालसम्म पनि मर्चवार क्षेत्रका डेढ सयजति गाउँमा विद्युत् थिएन। अहिले लगभग सबै ठाउँमा बिजुली बल्छ। 

तर मर्चवारमा अरु कतिपय समस्याहरु छन्।

खेतीको बेलामा मलखादको अभाव हुने गरेको मर्चवारी गाउँपालिका ४ ओडवलीयाका अर्जुनप्रसाद बरयीले बताए। 

‘एक बोरा खाद पाउन कति समस्या छ। कुनै पार्टीका नेताले पनि हाम्रो समस्या हल नै गर्दैनन्’ उनले भने, ‘खेती लगाउने बेला समयमा बिउ विजन पनि पाइँदैन। सिंचाइको सुविधा छैन। खेत सुख्खा छ। नेताहरु आफ्नै लागि भोट माग्छन् त्यत्ति हो।’

त्यस्तै मर्चवार क्षेत्रमा स्वास्थ्य सुविधा पनि कमजोर छ। यहाँ एउटा गतिलो स्वास्थ्य संस्था नभएको सम्मरीमाइ गाउँपालिका ६ असुरैनाका जैस महोम्मद खान बताउँछन्। 

‘यहाँ बिरामी भर्ना गर्न पाउने, २४ सै घण्टा स्वास्थ्य सुविधा भएको अस्पताल छैन। सानोतिनो बिरामी भएपनि भैरहवा नै जानुपर्छ’ उनले भने, ‘विद्यालयहरुमा पनि पूर्वाधार राम्रो छैन। सांसद जितेर गएकाले शिक्षाको सुधारमा ध्यान दिएका छैनन्।’  

मर्चवारका विभिन्न ठाउँमा वर्षायाममा डुवान हुने गर्दछ। अझै पनि मर्चवार क्षेत्रमा कतिपय ठाउँमा विपन्न समुदायको बस्ती छ। उनीहरुमा रोजगारीको समस्या पनि छ। 

रुपन्देही क्षेत्र नम्बर ४ मा यसअघि सांसद भइसकेका ३ जनाबीच मुख्य प्रतिस्पर्धा छ। पाँच वर्षअघि सांसद जितेका कांग्रेसका प्रमोद यादव यसपटक पनि उम्मेदवार छन्। उनले पाँच वर्षमा आफ्नो पालामा मर्चवारमा पूर्वाधारहरुको विकास भएको दाबी गरेका छन्। 

यस्तै, २०५१ साल र २०७० को चुनावमा विजयी भएका लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल तेस्रो पटक सांसद बन्ने प्रयासमा छन्। शुक्लले पनि आफू सांसद हुँदा मर्चवारमा विकास सुरुवात भएको दाबी गर्दै मत मागिरहेका छन्। 

२०६४ सालको संविधान सभाको चुनावमा भैरहवा क्षेत्रबाट सभासद भएका ओमप्रकाश यादव अहिले मर्चवार क्षेत्रबाट उम्मेदवार बनेका छन्। जसपाबाट उम्मेदवार बनेका यादवलाई एमालेले समर्थन गरेको छ। 

यी तीन जना बाहेक जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले पनि चुनावी अभियान तीब्र पारेका छन्। 

मर्चवार क्षेत्रमा लगातार कुनै पनि पार्टी र उम्मेदवारले जितेको छैन। २०४८ सालको चुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता मर्चवार क्षेत्रबाट सांसद भएका थिए। त्यस्तै, २०५१ सालमा राप्रपाबाट उम्मेदवार बनेका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका थिए। २०५६ सालमा सद्भावना पार्टीबाट यज्ञजित शाह सांसद भएका थिए।

२०६४ सालको संविधान सभामा मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव, २०७० मा तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल सभासद भएका थिए। २०७४ सालमा पहिलो पटक मर्चवारमा नेपाली कांग्रेसले आफ्नो झण्डा फहराएको थियो। 

गत स्थानीय तहको चुनावमा कोटइमाइ गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, सम्मरीमाइ गाउँपालिकामा कांग्रेस र मर्चवारी गाउँपालिकामा जनता प्रगतिशील पार्टीले पालिका अध्यक्ष जितेका थिए। 

गत चुनावमा वडाध्यक्षहरुको मतलाई आधार मान्दा यो क्षेत्रमा लोकतन्त्रिक समाजवादी पार्टी अघि छ। लोसपाका वडाध्यक्षका उम्मेदवारहरुले १६ हजार २२६ मत पाउँदा कांग्रेसले १५ हजार ६२७ मत पाएको थियो।

तेस्रो स्थानमा रहेको जनमत पार्टीले ७ हजार ७३४ मत ल्याएको छ। एमालेको ७ हजार ६०५, जसपाको ७ हजार ४९४, राप्रपाको ५ हजार ६९९, माओवादी केन्द्रको ३ हजार ८०२ र एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारको १ हजार १६३ मत आएको छ। 

गत स्थानीय चुनावको नतिजालाई आधार मान्दा यसपटक कांग्रेस र लोसपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। चुनावै पिच्छे फरक दल र उम्मेदवार विजयी हुने शिलशिलाका कारण यो पटक पनि रुपन्देही ४ मा को विजयी भएर आउँछ भनेर अनुमान गर्न भने कठिन हुने गर्दछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .