ad ad

लुम्बिनी


निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह लुम्बिनीमा कांग्रेसबाट मन्त्री!

निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह लुम्बिनीमा कांग्रेसबाट मन्त्री!

फाइल तस्बिर : बादशाह कुर्मी


नेपालखबर
साउन ९, २०८१ बुधबार ८:५१, काठमाडौँ

बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाइँदै छ। 

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा आरोपित कुर्मी मन्त्री बन्न लागेका हुन्। 

उनीसहित ८ मन्त्रीले आज शपथ खाँदै छन्।

जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन्।

सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन्।

बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन्। 

आज मुख्यमन्त्री आचार्यसँगै मन्त्री पदमा बादशाह कुर्मीसहित भुमेश्वर ढकाल, दिनेश पन्थी, धनेन्द्र कार्की, सरोज थापा, प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु र सीता शर्माले शपथ खाने कार्यक्रम छ। 

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले प्रदेश संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

यस्तो छ बादशाहलाई लागेको आरोप

२०७५ सालदेखि बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

गृह मन्त्रालयको प्रतिवेदनमा एकल महिला निर्मलादेवीको जग्गा हत्याउन उनलाई अपरण गरी बेपत्ता बनाइएको उल्लेख छ।

घटनामा संलग्नहरूको सूचीमा बादशाहको नाम पनि छ। 

प्रतिवेदनमा लेखिएको छ, ‘विधवा तथा एकल महिला निर्मला कुर्मीमाथि बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका ८ जनाले कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगे।’ 

त्यसपछि निर्मलालाई बेपत्ता पारिएको प्रतिवेदनमा उल्लेख छ। 

उनको न्यायका लागि अधिकारकर्मी रुवी खानले अभियान नै चलाएकी थिइन्। उनको नेतृत्वमा काठमाडौँमा पटकपटक आन्दोलनसमेत भएका थिए। 

यस क्रममा सरकारले दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति पनि गरेको थियो। यसैबीच घटनाका एक आरोपित बादशाह कुर्मी मन्त्री बन्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .