ad ad

लुम्बिनी


लुम्बिनीका मुख्यमन्त्री आचार्य र यी ८ मन्त्रीले खाए शपथ

निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी पनि बने मन्त्री!
लुम्बिनीका मुख्यमन्त्री आचार्य र यी ८ मन्त्रीले खाए शपथ

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई बुधबार बिहान शपथ खुवाउँदै प्रदेश प्रमुख अमिक शेरचन


नेपालखबर
साउन ९, २०८१ बुधबार ९:३४, काठमाडौँ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज (बुधबार) आफ्नो शपथसँगै मन्त्रिमण्डल विस्तार गरेका छन्।

उनले कांग्रेस र एमालेका गरी ८ जना प्रदेश सांसदलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन्। 

मुख्यमन्त्री आचार्यले भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, धनेन्द्र कार्की, सरोज थापा, प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु र सीता शर्मालाई बिनाविभागीय मन्त्री बनाएका हुन्। 

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले प्रदेश संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

निर्मलादेवी कुर्मी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मी पनि बने मन्त्री!

यसैबीच बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमा मन्त्री बनाइएको छ।

जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन्।

२०७५ सालदेखि बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

गृह मन्त्रालयको प्रतिवेदनमा एकल महिला निर्मलादेवीको जग्गा हत्याउन उनलाई अपरण गरी बेपत्ता बनाइएको उल्लेख छ।

घटनामा संलग्नहरूको सूचीमा बादशाहको नाम पनि छ। 

प्रतिवेदनमा लेखिएको छ, ‘विधवा तथा एकल महिला निर्मला कुर्मीमाथि बादशाह कुर्मी, कुँवर बब्बन सिंह, धिरेन्द्र सिंह, अम्मरलाल कुर्मी, भारतीय नागरिक मुनिम कुर्मी लगायतका ८ जनाले कुटपिट गरी सम्पत्ति खाने नियतले सम्पूर्ण कागजातहरू नागरिकता, लालपुर्जा, नाता कायमको कागज जबरजस्ती खोसेर लगे।’ 

त्यसपछि निर्मलालाई बेपत्ता पारिएको प्रतिवेदनमा उल्लेख छ। 

उनको न्यायका लागि अधिकारकर्मी रुवी खानले अभियान नै चलाएकी थिइन्। उनको नेतृत्वमा काठमाडौँमा पटकपटक आन्दोलनसमेत भएका थिए। 

यस क्रममा सरकारले दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने सहमति पनि गरेको थियो। यसैबीच घटनाका एक आरोपित बादशाह कुर्मीलाई मन्त्री बनाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .