देशका विभिन्न सहरमा आयोजना भएको घुम्ती साहित्य महोत्सव फाइनप्रिन्ट फिभर काठमाडौँ आइपुगेको छ। शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा काठमाडौँ संस्करण हुने भएके छ।
फाइनप्रिन्ट बुक्सले गत कात्तिकमा चितवनबाट महोत्सव सुरु गरेको थियो। त्यसपछि पोखरा, सुर्खेत, नेपालगञ्ज र दाङ हुँदै काठमाडौं आइपुगेको हो।
काठमाडौँमा लेखक तथा साहित्यकारहरू सम्राट उपाध्याय, नीलम कार्की निहारिका, अमर न्यौपाने, नयनराज पाण्डे, निरञ्जन कुँवर, स्नेहा प्रधान र केशव दाहाललगायत सहभागी हुने भएका छन्।
महोत्सवको चार सत्रमध्ये पहिलो सत्रमा मदन पुरस्कार प्राप्त कृति ‘चीरहरण’ की लेखिका नीलम कार्की निहारिका र ‘मोक्षभूमि’ लगायतका पुस्तकका लेखक तथा राजनीतिक टिप्पणीकार केशव दाहालबीच ‘आख्यानमा इतिहास’ विषयमा कुराकानी हुनेछ।
दोस्रो सत्रमा बेलायतमा पहिलोपटक प्रकाशित ‘ग्राफिक कमिक’ ‘यल्प! यती! केयोस इन काठमाडौं’की लेखिका स्नेहा प्रधानसँग प्रकाशक तथा महोत्सव निर्देशक मोनिता गुरुङले संवाद गर्नेछिन्।
तेस्रो सत्रमा मदन पुरस्कार विजेता अमर न्यौपाने, आख्यानकार नयनराज पाण्डे र लेखक-अनुवादक निरञ्जन कुँवरले लेखिका आल्फा शाक्यसँग ‘कस्तो भाषान्तर, कस्तो भावान्तर’ विषयमा छलफल गर्नेछन्। यस सत्रमा ‘सेतो धरती’ र ‘सल्लीपिर’का अंग्रेजी अनुवादको सार्वजनिकरण गरिँदै छ।
चौथो सत्रमा नेपाली-अमेरिकी लेखक सम्राट उपाध्यायको नयाँ ‘डिस्टोपियन’ उपन्यास ‘डार्कमदरल्यान्ड’बारे उद्यमी तथा फोटोग्राफर रिभा थापाले कुराकानी गर्नेछिन्। यस सत्रमा अमेरिकाको सोहो प्रेसबाट प्रकाशित उपन्यासको नेपाली संस्करणको विमोचनसमेत हुनेछ।
फाइनप्रिन्टका लेखक र पुस्तकलाई ‘सेलिब्रेट’ गर्न तथा पुस्तक बजारलाई चलायमान बनाउने उद्देश्यले फाइनप्रिन्ट फिभर आयोजना गरिँदै आएको परिकल्पनाकार नीरज भारी बताउँछन्। २०८२ सालको फाइनप्रिन्ट फिभर काठमाडौँपछि इटहरी र बिर्तामोड हुँदै पश्चिमतर्फ धनगढी पुगेर समापन हुनेछ।
शनिबार दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने फाइनप्रिन्ट फिभरको काठमाडौँ संस्करणमा चार पुस्तकको विमोचन, लेखकहरूसँग पुस्तक हस्ताक्षर कार्यक्रम तथा विशेष छुटसहितको पुस्तक प्रदर्शनी हुने आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया