कारोबार


पोखरामा दोस्रो ‘इन्डिया-नेपाल टुरिजम मिट’ सम्पन्न

पोखरामा दोस्रो ‘इन्डिया-नेपाल टुरिजम मिट’ सम्पन्न

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १४:५३, काठमाडौँ

नेपाल र भारतबीच पर्यटन साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आयोजित दोस्रो ‘इन्डिया-नेपाल टुरिजम मिट’ सफलतापूर्वक सम्पन्न भएको छ।

काठमाडौंस्थित भारतीय राजदताूवास, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा भएको यो कार्यक्रम विशेष गरी उत्तर प्रदेश र गण्डकी प्रदेशबीचको पर्यटन सहकार्य विस्तारमा केन्द्रित थियो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य कदम भएको बताए। उनले यो सहकार्यले दुवै देशका पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत मुलुक रहेको उल्लेख गर्दै धार्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमुखी पर्यटनमार्फत दुवै देश लाभान्वित हुने बताए।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा राकेश पाण्डेले कनेक्टिभिटी सुधारले अन्तरदेशीय पर्यटनमा नयाँ गति दिएको भन्दै धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किटको संयुक्त प्रवद्र्धनमा सहकार्य आवश्यक रहेको जोड दिए। उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन परिपथहरू र आगामी माघ मेलाको विशेष आकर्षणबारे प्रस्तुति दिए।

कार्यक्रमको मुख्य आकर्षण बीटुबी सत्रमा भारतबाट १० जना र नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टुर अपरेटरहरूको सहभागिता थियो। छलफलमा स्थल मार्गबाट हुने पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु, साहसिक र आध्यात्मिक पर्यटनमा सम्भावित सहकार्यका विषयमा गहन संवाद भएको बताइएको छ।

यसअघि मंसिर २९ देखि पुस २ गतेसम्म उत्तर प्रदेश प्रतिनिधिमण्डलका लागि पोखरा र आसपासका गन्तव्यहरूको परिचयात्मक भ्रमण (फ्याम ट्रिप) आयोजना गरिएको थियो। यो भ्रमणले पर्यटन सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। नेपाल पर्यटन बोर्डले यस्ता क्षेत्रीय कार्यक्रमहरूले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad