साहित्य


कविता : नानीहरू देखेर म तर्सिरहेको छु

कविता : नानीहरू देखेर म तर्सिरहेको छु

प्रकाशचन्द्र खतिवडा
साउन १८, २०८२ आइतबार १५:३९, दुलारी, मोरङ

हातमा पुस्तक बोकाएर 
पाठशाला पठाउन तयार गरिएका छन् नानीहरू 
म सधैँ तिनीहरूको अनुहार पढ्ने गर्छु 
तिनीहरूको अनुहार टिठलाग्दो हुन्छ 
तिनीहरूको आँखा उदास देखिन्छ 
तिनीहरूलाई भविष्यको कुनै चिन्ता छैन 
निस्फिक्री खेल्न पाए पुग्छ 
खेलमा हारेर लखतरान छन् नानीहरू 

नानीहरूको उत्साहहीन अनुहार हेरेर 
म पीडाले छट्पटिन्छु। 

तिनीहरूको ओठमुख सुख्खा भएको छ 
बिहानको चिसो सिरेटोले दपेट्दा 
तिनीहरूको कपाल फुस्रिएको छ 
कच्ची सडकको धुलो उड्दा 
तिनीहरूको कपडा मैलिएको छ 
धुलोमा लडिबुडी गर्दा।

नानीहरू 
जसलाई जीवन संघर्ष थाहै हुँदैन 
नानीहरू 
जसलाई जिन्दगीको अर्थै लाग्दैन 
तिनीहरूलाई त खेल्न पाए हुन्छ 
तिनीहरूलाई त खान पाए हुन्छ 
तिनीहरूलाई त लगाउन पाए हुन्छ। 

मलाई नानीहरूको औधी माया लाग्छ 
तिनीहरूको आँखामा सुन्दर संसार हाँसेको देख्छु 
तिनीहरूको मस्तिष्कमा विवेकशील तर्कहरू देख्छु 
तिनीहरूको हातमा सिर्जनाका फूलबारी देख्छु 
तिनीहरूको पाइतालामा विश्व डुलिरहेको देख्छु
नढाँटी भनूँ!
तिनीहरूलाई म मन्डेला देख्छु 
तिनीहरूलाई म प्याट्रिस लुमुम्बा देख्छु 
तिनीहरूलाई म फ्लोरेन्स नाइटेङ्गिल देख्छु
तेन्जिङ देख्छु 
पासाङ ल्हामु देख्छु 
र रोजा लक्जमबर्ग देख्छु। 

नानीहरू 
जसलाई नाना चाहिएको छ 
जसलाई पापा चाहिएको छ 
तिनीहरूलाई त झगडा गर्नु मजा हुन्छ 
तिनीहरूलाई त रिसाइ दिनु मजा हुन्छ 
आमा बा हैरान छन्
नानीहरूका असीमित चाहना पोको पारी 
आफ्नै पाइतालाले कुल्चनु पर्दा।

म नानीहरूको नाना शब्दले पिरोलिरहेको छु
म नानीहरूको पापा शब्दले झस्किरहेको छु 
म नानीहरूको भविष्य सम्झेर तर्सिरहेको छु 
कोही हात थापिरहेछन्
कोही पकेट मारिरहेछन्
मेरो देशका अबोध नानीहरू।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad