प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताएका छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत: नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका बैठकहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै यस्तो बताएका हुन्।
ओलीले संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे।
'लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ। यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ,' उनले भने, 'हाम्रो ध्येय सुशासन र समृद्धि ह। कोही पनि अराजक भएनन् भने सरकारले कानुन लगाइरहन पर्दैन। अराजकता देखिएमा त्यसलाई कानुनले आफ्नो बाटो लिनुपर्ने हुन्छ।’
प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरुले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरुले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुभवमा त्यस्तो नभएको स्पष्ट पारे।
उनले आफू विगतमा गृहमन्त्री र प्रधानमन्त्री हुँदा पनि स्वच्छ निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगलगायत निकायलाई कुनै हस्तक्षेप नगरेको पनि बताए।
Shares

प्रतिक्रिया