जीवनशैली


मधुमेह भएका बिरामीलाई यसकारण चाहिन्छ इन्सुलिन (भिडिओ)


प्रज्ञा तिम्सिना
माघ १० , काठमाडौँ

पेटको तलको भागमा एउटा ग्रन्थी हुन्छ, प्याङ्क्रियाज। प्याङ्क्रियाजले ‘इन्सुलिन हर्मोन’ उत्पादन गर्छ।

इन्सुलिन हर्मोनले रगतमा चिनीको मात्रा सामान्य राख्न मदत गर्छ। हामीले खाएको जुनसुकै खानेकुरा पाचन भएपछि अन्तिममा ग्लुकोजमा परिणत हुन्छ। उक्त ग्लुकोजलाई रगतबाट शरीरको विभिन्न कोषमा इन्सुलिनले लैजान्छ। 

तर कहिलेकाहीँ प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन त कहिलेकाहीँ कम उत्पादन गर्छ। यसरी इन्सुलिन उत्पादन नहुँदा वा कम उत्पादन हुँदा रगतमा चिनीको मात्रा बढ्न थाल्छ। रगतमा चिनीको मात्रा बढेपछि त्यसले विभिन्न अंगमा हानि गर्न थाल्छ। 

शरीरमा आवश्यकभन्दा बढी ग्लुकोजको मात्रा बढेर विभिन्न अंगलाई हानि गर्न थाल्नु नै मधुमेह रोग हो। मधुमेहलाई बोलीचालीको भाषामा चिनी रोग पनि भनिन्छ। 

जब शरीरमा इन्सुलिनको मात्रा कमी हुन थाल्छ, अथवा इन्सुलिनले चाहेको जस्तो काम गर्न नसक्ने अवस्था आउँछ, तब ग्लुकोज रगतमै रहिरहन्छ। विस्तारै त्यसको मात्रा बढ्छ र मधुमेह देखिन्छ। 

ग्लुकोजको मात्रा खाली पेटमा ८० देखि ११० मिलिग्राम पर डेसिलिटरसम्म र खाना खाइसकेपछि ८० देखि १४० मिलिग्राम पर डेसिलिटरसम्म रहनु सामान्य मानिन्छ। चिकित्सकका अनुसार यो भन्दा बढी हुँदै गयो भने मधुमेह रोग देखिन्छ। 

चिकित्सकका अनुसार मधुमेह रोग यो दुई किसिमको हुन्छ, टाइप–१ र टाइप–२।

टाइप–१ मधुमेह प्याङ्क्रियाज ग्रन्थीले इन्सुलिन हर्मोन उत्पादन गर्न नसक्ने अवस्था हो। यसमा प्याङ्क्रियाज ग्रन्थी पूर्ण रुपमा निष्क्रिय हुन्छ। 

टाइप–१ मधुमेह जन्मजात देखिने समस्या हो। 

यो शरीरको प्रतिरक्षा प्रणालीको समस्या अर्थात् ‘अटोइम्युन डिजिज’का कारण देखिन्छ। त्यसैले प्याङ्क्रियाज ग्रन्थी निष्क्रिय हुन्छ र इन्सुलिन उत्पादन गर्न सक्दैन। 

टाइप–१ मधुमेह प्याङ्क्रियाज ग्रन्थीले काम नगर्ने अवस्था हो। कोही बच्चा जन्मजात यो समस्या लिएर आउँछन्। तिनलाई जीवनभर इन्सुलिन दिनुपर्छ। 

यस्ता व्यक्तिलाई दिनको चार पटकसम्म दिनुपर्ने हुन्छ। उनीहरुमा हरेक खाना खानुभन्दा अगाडि इन्सुलिन चाहिन्छ। टाइप–१ मधुमेह भएका बिरामीलाई अन्य कुनै पनि औषधिले काम गर्दैन।

टाइप–२ मधुमेह भनेको प्याङ्क्रियाज ग्रन्थीले इन्सुलिन उत्पादन गर्ने तर शरीरलाई पुग्दो मात्रामा उत्पादन नगर्ने समस्या हो। यसमा शरीरलाई आवश्यक इन्सुलिनको अभावले गर्दा रगतमा बिस्तारै चिनीको मात्रा बढ्छ। 

चिकित्सकका अनुसार टाइप २ मधुमेह जीवनशैली र खानपानका कारण हुने रोग हो। यस किसिमको मधुमेहमा इन्सुलिन आवश्यक पर्दैन। सामान्यतया मुखबाट खाने औषधिले नियन्त्रण गरिन्छ। तर, लामो समयसम्म पनि रगतमा चिनीको मात्रा नियन्त्रण भएन भने इन्सुलिन दिनुपर्ने अवस्था आउन सक्छ। 

चिकित्सकका अनुसार नियमित कसरत गर्ने शारीरिक क्रियाकलापहरू गर्ने र मोटोपनको समस्या नभएका व्यक्तिमा इन्सुलिन सक्रिय भएर काम गर्छ। सबै मधुमेह रोगीलाई इन्सुलिन चाहिँदैन, तर केही मधुमेह रोगीहरूलाई यसको धेरै आवश्यक पर्दछ।

दैनिक शरीरिक व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, मोटोपनको समस्या हुन नदिने र स्वस्थ जीवनयापनले मधुमेहको समस्याबाट बच्न सकिन्छ।

इन्सुलिन भनेको के हो, मधुमेहका बिरामीलाई इन्सुलिन किन आवश्यक छ भन्ने विषयमा मधुमेह रोग विशेषज्ञ डा कामाक्षा शाहको भिडिओ ब्रिफिङ :

 

माघ १०, २०८२ शनिबार ८:७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad