जीवनशैली


मंकीपक्सको जोखिममा नेपाल, कसरी जोगिने?

मंकीपक्सको जोखिममा नेपाल, कसरी जोगिने?

प्रज्ञा तिम्सिना
असार ६, २०८२ शुक्रबार २०:३५, काठमाडौँ

नेपालमा हालसम्म ४ जनामा मंकीपक्स (एमपंक्स) पुष्टि भएको छ। हाल एक ३७ वर्षीय पुरुष टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मंकीपक्सको उपचार गराइरहेका छन्।

ती व्यक्ति साउदी अरबबाट आएका हुन्। एक साताअघि आएका उनलाई ज्वरो र शरीरमा डाबरहरू आएपछि मंकीपक्स आशंका गरेर टेकु पठाइएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा एमपक्स पुष्टि भएको थियो। 

अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। 

नेपालमा पहिलोपटक  २०८० असार १ गते ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो। एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि उनको काठमाडौँको एक अस्पतालमा परीक्षण भएको थियो। नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा एमपक्स पुष्टि भएको थियो।

त्यसयता तीन जनामा एमपक्स पुष्टि भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले १ जना विदेशी महिला र ३ जना नेपालीमा यो संक्रमण देखिएको बताए। 

‘तीनै जना नेपाली साउदी अरबबाट आउनुभएको हो। त्यो पनि यही वर्ष,’ बुढाथोकीले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मेडिकल रेकर्डर अधिकारीले यस वर्ष मंकीपक्स देखिएका तीनै जनाको टेकु अस्पतालमै उपचार भएको बताए। २ जनामा गत पुसमा पुष्टि भएको र १ जनाको उपचार भइरहेको उनले बताए। 

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, पुस १५ गते पनि साउदी अरबबाटै आएका ४४ वर्षीय पुरुषमा मंकीपक्स संक्रमण पुष्टि थियो। 

के हो मंकीपक्स?
मंकीपक्स संक्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ। यो रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउखटिरा, बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थजस्तै थुक, र्‍याल, भाइरसबाट दूषित सतह र सामग्री, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ।

मंकीपक्स भाइरस संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ।

एमपक्स पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रान्डेड डीएनए भाइरस हो। मंकीपक्सका लक्षण सन् १९८० मा उन्मूलन भएको बिफरसँग मिल्दोजुल्दो देखिएको छ। विज्ञहरूका अनुसार बिफरको तुलनामा मंकीपक्स कम गम्भीर र घातक हुन्छ।

बिफर अन्तिमपटक १९७७ अक्टोबरमा देखिएको थियो। त्यसको तीन वर्षपछि विश्व स्वास्थ्य संगठनले १९८० मा बिफरको विश्वव्यापी रूपमा उन्मूलन भएको बताएको थियो।

विश्वव्यापी बिफर अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ। मंकीपक्सले सन् २०२२–२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको थियो। तर, यो भाइरसको प्राकृतिक भण्डार भने अज्ञात छ। विभिन्न साना स्तनधारी जनावर (लोखर्के, बाँदर) बाट भाइरस सर्ने जनाइन्छ।

बाँदरमा पत्ता लागेको कारणले यसलाई मंकीपक्स नाम राखिएको हो। सन् १९५८ मा डेनमार्कको प्रयोगशालामा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा छालासम्बन्धी रोग देखा परेको थियो। त्यसैबेला वैज्ञानिकहरूले यो रोगको नाम मंकीपक्स राखेका थिए। तर, बाँदर यो रोगको प्रमुख स्रोत भने होइन।

पहिलोपटक मानिसमा मंकीपक्स सन् १९७० मा देखा परेको थियो। अफ्रिकाको कङ्गोमा ९ वर्षका बालकमा पहिलोपटक पुष्टि भएको थियो। 

त्यसपछि मंकीपक्स अफ्रिकाको केन्द्रीय र पश्चिमी भागमा देखिन थालेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार एमपक्स १ सय ११ देशमा देखिएको छ।

साउदी अरबबाट फर्किने व्यक्तिमा देखिएका कारण नेपालमा फैलिने जोखिम बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन छिमेकी देश भारतमा समेत देखिइसकेको र नेपालमा बेलाबेलामा बिरामी भेटिने गरेका कारण नेपाल मंकीपक्सको उच्च जोखिममा रहेको बताउँछन्।

‘विदेशबाट आउनेहरूमा मंकीपक्स छ कि छैन भनेर पत्ता लगाउन सकिँदैन। सामान्यतया ३ सातापछि मात्र लक्षणहरू देखिने हुँदा नेपालमा आउँदा छ कि छैन भनेर पहिचान गर्न सकिँदैन,’ उनी थप्छन्, ‘विदेशबाट आउनेहरूले आफनो लक्षण हेरेर सचेत भएर परीक्षण गराउनुपर्छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी सुरुमै पत्ता लगाउन नसकिने हुँदा विदेशबाट फर्किएकाहरूमा एमपक्स छ कि छैन भनेर पत्ता लगाउन नसकिने बताउँछन्। 

सर्ने माध्यम
लामो समय आमनेसामने कुराकानी गर्दा, मुखको छिटाबा, यौनसम्पर्क, संक्रमितले प्रयोग गरेका समानहरू, कपडा, सिरिन्जबाट सर्छ। संक्रमितको घाउ र फोकाको तरल पदार्थबाट पनि सर्छ। 

चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा मंकीपक्सको लक्षण देखिने गर्छ। ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो हुनु, लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हुन्। यस्तो लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरू देखिन देखिने र चिलाउने हुन्छ। पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छ। 

मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छ। तर बालबालिकामा भने गम्भीर समस्या देखा पर्न सक्छ। र, प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिमा पनि गम्भीर समस्या निम्त्याउन सक्छ।

मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफ्लाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुन सक्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार मंकीपक्स संक्रमितमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ। 

एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ। सामान्यतया एमसक्स आफैँ ठीक हुने भाइरल रोग भएकाले यसको कुनै विशेष उपचार छैन। बिरामीहरूलाई पर्याप्त पोषणयुक्त खाना तरल पदार्थ र पौष्टिक खाना खुवाउने र लक्षण अनुसार उपचार गर्नुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad