मोरङको विराटनगर–१६ स्थित रानी–जोगबनी सडकखण्डमा आफूलाई प्रहरी भनी सर्वसाधारणसँग रकम असुली गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर–१२ निवासी २५ वर्षीय धन कुमार थारु रहेको प्रहरीले जनाएको छ। उनलाई शुक्रबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ।
थारुले शारीरिक रूपमा अपाङ्ग रहेका व्यक्ति लगायत अन्य सर्वसाधारणसँग भारतको जोगवनीबाट नेपालतर्फ घरेलु प्रयोजनकालागि सामान बोकी आउने ब्यक्तिहरूसँग ‘प्रहरी हुँ’ भनी डर त्रास देखाई रकम असुली गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।
पक्राउ परेका थारूलाई मोरङ जिल्ला अदालत विराटनगरबाट अभद्र व्यवहार कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी चुडालले बताइन् ।
Shares

प्रतिक्रिया