विवाह गरेको ९ वर्षसम्म पनि गर्भवती नभएपछि मकवानपुरकी सरू कपाली थिङले सन्तानको आशा मारिसकेकी थिइन्। चिकित्सकले उनको पाठेघरमा मासु पलाउने समस्या (सिस्ट) देखिएको बताएका थिए। तर, सन्तानको चाहनामा उनले अस्पताल धाउन भने छाडिनन्।
यसै क्रममा उनी कृत्रिम गर्भाधारण (आईभीएफ) गराउन निजी अस्पताल र आईभीएफ सेन्टर पुगिन्। तर, सिस्टको उपचार राम्रो हुन सकेन।
पछिल्लो समय पाठेघरमा देखिएको सिस्टको उपचार गराउन उनी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल गइन्।चिकित्सकले सिस्ट निकाले पनि पछि पुनः आउन भनेका थिए। सिस्टको उपचार गर्दा पाठेघरको नली (ट्युब) पनि बन्द भएको थियो। त्यसले अण्डाशय (ओभरी) लाई पनि असर गरेको थियो।
चिकित्सकहरूले अण्डाशय नै काटेर फाल्नुपरेको थियो। सरूको एउटा अण्डाशयले मात्र अण्डा उत्पादन गर्ने भयो, जसका कारण उनको अण्डा धेरै नबन्ने र गर्भ बस्न समस्या हुने चिकित्सकहरूले बताए।
चिकित्सकले उनलाई आईभीएफबाट सन्तान जन्माउन सुझाए। तर, उनको गर्भ बस्न सक्ने ५ प्रतिशत मात्र सम्भावना भएको जनाएका थिए। ५ प्रतिशत सम्भावना भन्नेबित्तिकै उनमा झण्डै हराइसकेको सन्तानको फेरि पलाउन थाल्यो। उनी कृत्रिम गर्भधारणका निम्ति तयार भइन्।
२०८० असारदेखि उपचारमा गएकी सरू त्यही वर्षको असोजमा गर्भवती भइन्, त्यो पनि पहिलो प्रयासमै।
विवाह गरेको ९ वर्षपछि उनको परिवारमा खुसी छायो। २०८१ जेठ ६ गते छोरालाई जन्म दिइन्। आफ्नो जीवनमा अद्भूत चमत्कार भएको ठान्ने सरूले छोराको पहिलो जन्मोत्सव गत मंगलबार अस्पतालमै गएर मनाइन्।
‘सबै आशा मारेर बसेको समयमा चिकित्सकहरूले गरेको सहयोगले पाएको खुसी म उहाँहरूसँगै बाँड्न चाहन्थेँ। त्यही भएर छोराको जन्मदिन अस्पतालमै गएर मनाएँ,’ सरूले नेपालखबरसँग भनिन्, ‘संसारको सबैभन्दा ठूलो खुसी मेरो झोलीमा राखिदिनुभयो, पहिलोपटक छोराको अनुहार देख्दा त संसार नै जितेको महसुस भयो।’
पाठेघरमा समस्या भएकी २८ वर्षकी सम्झना (नाम परिवर्तन) आईभीएफ विधिबाट गर्भवती भएकी छन्। निजी आईभीएफ सेन्टरमा धाउँदाधाउँदा बच्चा नभएपछि उनी थापाथलीस्थि सरकारी प्रसूति अस्पताल पुगेकी थिइन्। विवाह गरेको २ वर्षपछि बच्चा जन्माउने तयारी गर्दा गर्भ बसेन। गर्भ नबसेपछि सम्झना श्रीमानसँग उपचार गराउन जान थालिन्।
ललितपुरकी बासिन्दा सम्झनाको पाठेघरको नली (ट्युब) मा अवरोध थियो। आईभीएफ नै गर्ने भनेर सम्झना र उनका श्रीमान् २ वटा निजी आईभीएफ सेन्टर धाएर थाकेका थिए। त्यस अवधिमा उनीहरूको ७ लाख रूपैयाँ रकम खर्च भइसकेको थियो।
रकम धेरै खर्च भएपछि केही चिकित्सकले उनलाई थापाथलीको प्रसूति अस्पताल जान सुझाएका थिए। सुरुमा त उनलाई सरकारी अस्पतालमा पनि आईभीएफ के होला भन्ने लागेको थियो। तर, उपचार गराउँदै गएपछि दोस्रो प्रयासमा सम्झनाको गर्भमा बच्चा बस्यो। अहिले तीन महिनाको बच्चा हुर्किरहेको छ, उनको भेटमा।
२०७९ सालदेखि व्यवस्थित रूपमा सेवा दिन थालेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आईभीएफ सेवाबाट ४ जना महिलाले सन्तान जन्माइसकेका छन्। अस्पतालमा हाल ४ जना निःसन्तान विशेषज्ञ र १ जना भ्रूण विशेषज्ञ गरी ५ जनाको टिमले आईभीएफ सेवा सञ्चालन गरिरहेको छ।
भिडिओ:
के हो आईभीएफ?
आईभीएफ भनेको कृत्रिम तरिकाले गर्भाधान गर्ने तरिका हो। बाहिर भ्रूण तयार गरेर त्यसलाई महिलाको पाठेघरमा लगेर राखिन्छ।
‘विवाह गरेको १ वर्षसम्म श्रीमान्–श्रीमतीले परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरे पनि बच्चा भएन भने त्यसलाई सब–फर्टिलिटी भनिन्छ। यो एक प्रकारको बाँझोपनको समस्या हो,’ निसन्तान रोग विशेषज्ञ डा ज्वाला थापा भन्छिन्।
उनका अनुसार सामान्यतया महिलामा महिनावारीको बीचको समयमा एउटा अण्डा बन्छ। त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट वीर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको भू्रण पछि आएर पाठेघरमा बस्छ। बच्चा बन्ने यो सामान्य प्रक्रिया हो। तर, कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर वीर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आईभीएफ विधि प्रयोग गरिन्छ।
बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आईभीएफ विधि भनिन्छ। अझ आम भाषामा टेस्टट्युब बेबी भन्ने गरिन्छ।

नेपालमा आईभीएफ सेवा दिने एक मात्र सरकारी अस्पताल
नेपालमा सरकारी अस्पतालमध्ये परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट मात्र आईभीएफ सेन्टर सञ्चालन भइरहेको छ। यहाँ २०६८ सालमै आईभीएफ सुरु भएको हो। सो समय आईभीएफ पढेको जनशक्ति धेरै थिएन। अस्पतालले विदेशबाट चिकित्सक ल्याएर सेवा सुरु गरेको थियो।
तर, सोही अनुसारको प्रयोगशाला र प्रविधि नहुँदा आईभीएफ सफल भएको थिएन। २०७२ साल आएको भूकम्पले अस्पतालको भवनमा क्षति पुर्यायो। आईभीएफ बन्द भयो।
अस्पतालले ७ वर्षपछि पुनः आईभीएफ सेवा सुरु गराउन थाल्यो। सरकारबाट १ करोड सहयोग पाएपछि छुट्टै भवन बनाएर सेवा सुरु गर्न थाल्यो। तर व्यवस्थित सेवा भने ल्याबमा भ्रूणको विकास गराउनेदेखि हेर्ने भ्रूण विशेषज्ञ (एम्ब्रियोलोजिस्ट) चिकित्सक पाएपछि २०७९ देखि थालेको हो।
ल्याबमा भू्रण बनाउने प्रक्रियामा अण्डा, भ्रूणको गुणस्तर कस्तो भनेर जाँच्न भू्रण विशेषज्ञ आवश्यक पर्छ। त्यसको लागि एम्ब्रियोस्कोप मेसिन पनि चाहिन्छ। तर, रकम अभावमा अस्पताललले सो मेसिन किन्न नसकेको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी बताउँछन्।
‘३ करोड पर्ने सो मेसिन छैन। अहिले इन्क्युबेटरमा राख्ने र २४ घण्टापछि हेर्ने गरिन्छ। त्यसले प्रत्येक क्षणको अवस्था थाहा हुँदैन। एम्ब्रियोस्कोप मेसिन भए भ्रूण विकास भए/नभएको चिकित्सकले आफै देख्न सक्छन्,’ उनले भने।
बाहिरको हावा प्रवेश गर्न नदिन एअर फिल्टर, थप जनशक्ति र ल्याब नहुँदा गुणस्तरीय सेवा प्रदान गर्न समस्या रहेको अस्पतालका निर्देशक अधिकारी बताउँछन्।
‘अस्पताल आउने २० प्रतिशत मात्र महिलामा आईभीएफ सफल भएको छ। आईभीएफ सफल हुन महिलाको स्वास्थ्यदेखि अण्डाको गुणस्तर, ल्याब र जनशक्तिसम्म भर पर्ने हुन्छ। अस्पतालमा सो अनुसारको फिल्टर ल्याब नहुँदा सफलता दर बढाउन सकिएको छैन,’ उनी भन्छन्, ‘आईभीएफमा सफलता दर विश्वमै ३० देखि ३५ प्रतिशत मात्र छ। सोही अनुपातमा बढाउन खोजिरहेका छौँ।’
अस्पतालले गत वर्ष २२ जना महिलामा आईभीएफ प्रयोग गरेको अस्पतालकी निसन्तान विशेषज्ञ डा ज्वाला थापा बताउँछिन्।
‘गत वर्ष मात्र ३९ जना महिला आईभीएफ गराउन आउनुभएको थियो, २२ जनामा प्रयोग गरेका छौँ। जसमध्ये ५ जना महिला अहिले गर्भवती भएका छन् भने १७ जना महिलाको पाठेघरमा भू्रण राख्न बाँकी छ,’ डा थापा भन्छिन्।
निर्देशक अधिकारीले आईभीएफ गर्न आउनेसँग सुरुमा ३५ हजार सेवा शुल्क लिने गरेको बताए।
‘परीक्षणदेखि सबै खर्च सो रकमबाट हुन्छ। तर औषधि भने बिरामीले किन्नु पर्छ। सबै गर्दा ३ लाखसम्म खर्च लाग्ने गरेको छ,’ उनले भने, ‘धेरै व्यक्ति बाहिरबाट उपचार गरेर पैसा सकिएपछि प्रसूति गृहमा पुग्ने गरेको पाइएको छ। सबै रकम सकिएपछि आउनु हुन्छ, हामी पनि निशुल्क त गर्न सक्दैनौँ। धेरै व्यक्ति रकम छैन भनेर फर्किने पनि गर्नु भएको छ।’
निसन्तान क्लिनिकमा आउने ९० प्रतिशत व्यक्तिहरूको सामान्य उपचारबाट गर्भ बस्ने गरेको डा थापाले बताइन्।
‘थाइराइड, सुगर, मुटुरोग, शुक्रकीट गुणस्तरीय नहुनु, उमेर बढ्दै जाँदा अण्डा राम्रो नहुने, वंशाणुगत रोग, हर्मोनका कारण आईभीएफ गर्दा पनि बच्चा नबस्ने हुन्छ। आईभीएफ गर्दैमा बच्चा भइहाल्छ भन्ने धेरैको बुझाइ छ, तर उमेर भइसकेपछि आउने हुँदा सफल हुन सक्दैन,’ निसन्तान विशेषज्ञ डा थापाले भनिन्।

न्याम्सले मात्र पढाउँछ आईभीएफ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले मात्र २ जनालाई छात्रवृत्ति (फेलोसिप) दिन थालेको छ। न्याम्सबाट फेलोसिप पाएर आईभीएफ सुरु गर्नेमा प्रसूति अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी पनि हुन्। १ वर्षे फेलोसिप वार्षिक २ जनाले पाउँछन्। प्रसूति अस्पताल न्याम्स अन्तर्गतको भएकाले चिकित्सकहरूले प्रसूति गृहमा नै पढ्छन्।
निर्देशक डा अधिकारी २ जनालाई दिइने फेलोसिपले देशको भार नथेग्ने भन्दै अध्ययन अध्यापनलाई पनि बढाउनु पर्ने बताउँछन्।
‘प्रादेशिक अस्पतालमा पनि सुरु गराउन सकियो भने कम शुल्कमा धेरैले सेवा पाउन सक्छन्,’ उनी भन्छन्, ‘जनशक्ति उत्पादनमा नेपाल सरकारले लगानी गरेको छैन। चिकित्सक आफै विदेश पढेर आउनु पर्ने अनि सरकारीमा पारिश्रमिक पनि कम भएकाले नेपालमा भएको जनशक्ति पनि सरकारी अस्पतालमा जान मान्दैनन्। लामो समयमा पनि अध्ययनको खर्च नउठ्ने देखेपछि पढेर आएकाहरू बरु आफ्नै निजी आईभीएफ क्लिनिक खोलेर बस्ने गरेका छन्।’
आईभीएफ सेवा बढाउने हो भने सरकारले जनशक्तिमा लगानी गर्नुपर्ने र न्याम्सबाहेकका अन्य विश्वविद्यालयबाट पनि फेलोसिप कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
‘आईभीएफ सेन्टरले नियमविपरीत प्रचार गरे’
निर्देशक अधिकारीले आईभीएफ सेन्टरहरूले नियमविपरीत विज्ञापन गरिरहेको बताए।
‘सवारी साधनको पछाडि विज्ञापन राख्ने गर्छन्। जुन नियमविपरीत हो। कुनै पनि चिकित्सकले कुनै क्लिनिकमा बिरामी हेर्दा उसको बोर्ड साइज कति हुनु पर्ने, बोर्डमा केके लेखिनु पर्ने भन्ने नियम छ,’ उनले भने, ‘नेपालको पहिलो नम्बरको आईभीएफ सेन्टर, ८० प्रतिशत सफलतादर भनेर लेख्न मिल्दैन। अन्तर्राष्ट्रिय सफलतादर ३० देखि ३५ प्रतिशत छ। तर नेपालमा ८० प्रतिशतसम्म सफलता दर भनेर प्रचार गरिन्छ। गलत सूचना दिएर भ्रम छर्न खोजिएको छ। आईभीएफ सेन्टर सञ्चालन गर्ने स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको लागत उल्लेख गर्नु पर्ने बताउँछन्। कुन परीक्षणको कति शुल्क लाग्ने हो उल्लेख गरेर बाहिर राख्दिनुपर्छ।’
देशभर सञ्चालित आईभीएफ सेवामा अनुगमन नहुँदा आईभीएफ सेन्टरहरूले शुल्कमा मनोमानी गर्ने गरेको पाइएको छ। आईभीएफ शुल्कको नाममा ५ देखि ८ लाखसम्म रकम लिने गरेको पाइएको छ। सरकारी अस्पतालमा भने यसको झण्डै आधा रकममा कृत्रिम गर्भाधान सेवा पाउन सकिन्छ।
प्रसूति अस्पतालको आईभीएफ सेन्टरबाट गर्भवती भएकी सम्झनाले उपचार गर्न गएदेखि नै विभिन्न परीक्षण गराउने बताउँछिन्।
‘निजीमा आईभीएफ महँगो पायौँ। जेमा पनि परीक्षण गराउँछन्। औषधि पनि निकै महँगो। १ वर्षमा ७ लाखसम्म खर्च हुने गरेको छ,’ उनले भनिन्।
Shares

प्रतिक्रिया