नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसन घुमघामका क्रममा मुस्ताङ पुगेका छन्।
सांस्कृतिक सम्पदाको अवलोकन गर्ने क्रममा उनी मुस्ताड्ड पुगेका हुन्।
नेपाल र अमेरिकाबीचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पुर्याउने उद्देश्यले राजदूत थम्पसनले मुस्ताङ भ्रमणमा गर्न पुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) को सहयोगमा जीर्णोद्धार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण पनि गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। साथै उनले स्थानीय समुदाय तथा परियोजना टोलीहरूसँग छलफल तथा अन्तर्क्रिया गर्नेछन्।
एएफसीपीमार्फत जीर्णोद्धार गरिएका सम्पदाको स्थलगत अवलोकनका क्रममा राजदूत थम्पसनले उपल्लो मुस्ताङमा शनिबार सुरु हुने तिजी पर्वको अवलोकन गर्नेछन्।
आज बिहीबार उनले वारागुङ मुक्तिक्षेत्र–२, झोङस्थित गुम्बाको अवलोकन गरे। एएफसीपीबाट जीर्णोद्धार सम्पन्न भएको झोङ गुम्बाको अवलोकनका क्रममा राजदूत थम्पसनले यहाँको समुदायको पहिचान एउटा जीवन्त हिस्सा भएको धारणा व्यक्त गरे। जीर्णोद्धारसम्बन्धी कार्यबाट यहाँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जर्गेना गर्न टेवा पुग्ने उनको भनाइ थियो।
मुस्ताङमा एएफसीपीमार्फत तीन परियोजनामा सहयोग प्राप्त भएको छ। राजदूत थम्पसनले आज भ्रमण गरेको झोङ गुम्बाका साथै गोन्पा गाङ गुम्बा, लोघेकर गुम्बा (घर गुम्बा) तथा लोमान्थाङस्थित जम्पा ल्हाखाङ गुम्बा, थुप्चेन गुम्बा र छोडे गुम्बाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।रासस
Shares

प्रतिक्रिया