युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कोसी प्रदेश खेलकुदमा कमजोर देखिएको बताएका छन्।
उनले २०३४ सालपछि पूर्वाञ्चल विकास क्षेत्र (हाल कोसी प्रदेश) खेलकुदमा पछि परेको बताए।
`सुदूर, गण्डकी र बागमती प्रदेशहरू खेलकुदमा अब्बल बन्दै गएका छन्´, उनले भने, `हामी पनि सक्रिय रूपमा अघि बढ्नुपर्छ।´
यसैबीच उनले खेलकुद क्षेत्रमा प्रदान गरिने पुरस्कार राशि ४ करोडबाट बढाएर यस वर्ष १५ करोड रुपैयाँ पुर्याइएको जानकारी दिए।
यस्तै सरकारले युवा तथा खेलकुदकाे बजेट पनि ३ अर्बबाट बढाएर आगामी आर्थिक वर्षका लागि करिब ६ अर्ब पुर्याएको उनले बताए।
शनिबार काेसी प्रदेश खेलकुद विकास बाेर्डले आयाेजना गरेकाे कार्यक्रममा सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले केन्द्रीय सरकारले पठाउनुपर्ने बजेटसमेत अड्काएको र प्रतियोगिता सञ्चालनको तालिका नहुँदा काम गर्न कठिनाइ भएको गुनासो गरे।
उनले भने, `संघीय सरकारको बेवास्ता हुँदा प्रदेशस्तरीय कार्यक्रम र आयोजना प्रभावित भएका छन्। खेलकुद विकासका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यकता छ।´
त्यसैगरी बोर्ड सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले गाेठ गाउँमा खेलकुद ग्राम स्थापना गर्न काम सुरु गरिएको जानकारी दिए।
उनले अबको लक्ष्य ‘खेलेर बाँच्न सक्ने’ वातावरण तयार पार्नु भएको बताए।
सोहीअनुसार खेलाडीहरूलाई मासिक प्रोत्साहन भत्ता दिने कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।
खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएका १०१ जनालाई सम्मान गरिएको थियो।
Shares

प्रतिक्रिया