ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४, लिङतेपस्थित मतदान केन्द्रमा ‘बुथ कब्जा’ गरिएको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।
रास्वपा उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले उक्त मतदान केन्द्रमा अस्वाभाविक मत खसेको जिकिर गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन्।
रास्वपाले दिएको उजुरीमा देशभर औसत ५१ प्रतिशत मात्र मतदान भएको अवस्थामा लिङतेपमा भने ८८ प्रतिशत मत खस्नुले धाँधली भएको पुष्टि हुने दाबी गरिएको छ।
रास्वपाको निवेदनमा भनिएको छ, ‘मृत्यु भइसकेका, वैदेशिक रोजगारीमा गएका र हाल सो स्थानमा बसोबास नगर्ने व्यक्तिहरूको नाममा समेत गैरकानुनी तबरले मतदान गरिएको छ।’
उम्मेदवार श्रेष्ठले उजुरीमा ३७ प्रतिशतभन्दा बढी फर्जी मत खसेको जिकिर गरेका छन्। फर्जी मत छानबिन नभएसम्म ताप्लेजुङको मतगणनामा आफ्नो पार्टी सहभागी नहुने अडान लिएका छन्।
त्यस्तै उनले चुनावमा फर्जी मत देखाउने दोषीलाई कारबाही गर्न पनि माग गरेका छन्।
उम्मेदवार श्रेष्ठले निर्वाचनअघि भएको सर्वदलीय बैठकमा समेत सो क्षेत्रमा बुथ कब्जा हुन सक्ने सम्भावनाबारे प्रमुख निर्वाचन आयुक्तलाई जानकारी गराएको उल्लेख गरेका छन्।
यसैबिच ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले भने रास्वपाको निवेदन दर्ता हुने खालको नभएको बताएका छन्।
मतदान प्रक्रियामा नै त्यहाँ धाँधली भएको भए त्यहीँबाट उजुरी दिएर मतदान प्रक्रिया नै रोक्नुपर्नेमा कुनै पनि निवेदन नदिएको र कानुनी प्रक्रियाअनुसार नै मतपेटिका प्राप्त भएकाले त्यसबारे कुनै छलफल नहुने जिकिर गरेका छन्।
निर्वाचन अधिकृत श्रेष्ठले भने, ‘मतदान प्रक्रियामा नै धाँधली भयो भनेर निवेदन दिनुभएको भए तत्कालै कारबाही गर्न सकिन्थ्यो। त्यो बेला उहाँ चुप लागेर बस्नुभयो, अहिले हामीले यहाँ त्यो खालको निवेदन दर्ता गर्ने अवस्था छैन।’
रास्वपा उम्मेदवार श्रेष्ठले आज बिहान १० बजे बसेको सर्वदलीय बैठकमा मात्रै त्यो विषय जानकारी गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उजुरीका दुई कपि निवेदन बोकेर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका श्रेष्ठले निवेदन दर्ता नगरिएपछि एक कपि त्यहीँ छाडेर गएका छन्।
हेर्नुहोस् उजुरी

Shares

प्रतिक्रिया